उपेन्द्र भन्छन्, ‘म जन्मिएको माटोले नै चुनावमा जा भन्यो’

फाइल तस्बिर



वैशाख २९, २०७४- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका हुन् । उनले भने, ‘निर्वाचनमा नजाँदा किन गइनस् ? भन्छन्, अनि निर्वाचनमा भाग लिँदा किन सहभागिता जनाइस् भन्छन् ? यो कस्तो प्रश्न होला, बडा विचित्र छ ।’

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि अपर्झट यस्तो निर्णय लिएको दाबी गरे । ‘मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ,’ उनले भने, ‘निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ ।’

यादवले निर्वाचनमा भाग लिए पनि आफ्नो पार्टीले कुनै मुद्दा नछोडेको समेत दाबी गरे । यादवले चुनावलाई पनि आफूहरुले संघर्षको रुपमा लिएको स्पष्ट पारे । उनले आफूहरुले उठाएका मुद्दाहरु संविधान संशोधनमार्फत सम्बोधन गर्ने भनेर नै सरकारले परिमार्जितसहितको संविधान संशोधन विद्येयक सदनमा अघि बढाएकोले पारित हुने विश्वासका साथ आफ्नो पार्टी चुनावमा होमिएको जिकिर गरे ।

यादवले सरकारले सहमति अनुसार नै १७ गते नै संशोधन प्रस्ताव पारित गराउने प्रयास गरेको भएपनि त्यही दिन १० जना सांसद गायब भएकोले पारित हुन नसकेको समेत स्पष्ट पारे ।

महन्थले घृणित काम गरे
त्यस्तै यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिए । उनले भने, ‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगढन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रुपमा फुल, माला र अविर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो।’

यादवले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग पार्टी एकता हुने तर अहिले हतारमा प्रक्रिया अघि नबढाइहाल्ने तर्क गरे। उनले भने, ‘पार्टी एकीकरण भनेको गिट्टी, बालुवा मिसाएजस्तो होइन नि, विचार मिल्नुपर्‍यो, भावना मिल्नुपर्‍यो, आवश्यकत्ता हुनुपर्‍यो नि।’ कान्तिपुरमा खबर छ |

, , ,