देउवाले आफै लिए दिनेशको उम्मेदवारी फिर्ता


काठमाडौं । माओवादी केन्द्रसँग तालमेल गर्ने सहमतिपछि नेपाली काँग्रेसले चितवनको भरतपुर नगरपालिकामा मेयरको उम्मेदवारी फिर्ता लिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले नै केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएर उम्मेदवारी फिर्ता लिएका हुन् । देउवाले निर्वाचन आयोगलाई वोधार्थ दिँदै जिल्ला निर्वाचन अधिकृतको कार्यालय चिवनलाई पत्र पठाएका हुन् ।

देउवाले पत्रमा भनेका छन्, ‘स्थानीय तह निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुख उपप्रमुख पदमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच समझदारी भए अनुसार प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गर्ने गरी निर्वाचनमा तालमेल गर्ने निर्णय भएको हुँदा पार्टीको तर्फबाट भरतपुर महानगरको प्रमुखका प्रत्यासी दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिने निर्णय कार्यान्वयन गराउन हुन अनरोध गरिन्छ’ भनिएको छ ।

सभापति देउवाले उपप्रमुख पदमा नेपाली काँग्रेसको तर्फकी प्रत्यासी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने निर्णय भएको समेत उल्लेख गरेका छन् । कृष्ण सिटौला निकट मानिएका कोइराला भने असन्तुष्ट छन् ।

सिटौला पक्षधरको विरोधकाबीच पार्टी सभापति देउवाले कोइरालाको उम्मेदवारी फिर्ता लिएका  बताइएको छ । सत्ताधारी माओवादीसँग तालमेल गर्ने सहमति गरेपछि काँग्रेस कार्यकर्ताहरुले  पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् ।

,