मतदान केन्द्रमा १० मिनेटभित्र थप सुरक्षाकर्मी



काठमाडौं । मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् ।

केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा आवश्यक परे तत्काल थप सुरक्षाकर्मी पुग्नेछन् ।

गृह मन्त्रालयका प्रवक्ता तथा मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुख बालकृष्ण पन्थीले जस्तोसुकै अवस्था आए पनि हतियार नचलाई व्यवस्थापन गर्न सकिने गरी सुरक्षा योजना बनाइएको बताए ।

‘सामान्य अवस्थामा जति सुरक्षाकर्मी परिचालन गरिनेछन् त्यति नै पर्याप्त हुनेछ । त्यसबाहेक कुनै असामान्य अवस्था आइपरे तत्कालै त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिनेछ’, पन्थीले भने ।

मतदान केन्द्रआसपास छरिएका स्ट्राइकिङ फोर्स, मोबाइल टोली र नेपाली सेनाबाट तत्काल आवश्यक थप सुरक्षाकर्मी परिचालन गरिनेछ ।

सरकारले सेनालाई अन्तिम अवस्थामा मात्र मतदान केन्द्रमा पस्ने गरी सुरक्षा योजना बनाएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)

,