स्थानीय तहमा काँग्रेस र एमालेको शतक नाघ्यो



जेठ ६ शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रमुख दुई दल नेपाली काँग्रेस र एमालेले सय भन्दा बढी स्थानीय तहमा विजय हाँसिल गरेका छन् । पहिलो चरणमा भएको ३४ जिल्लाका कूल २ सय ८३ स्थानीय तहमध्ये २५९  स्थानीय तहमा निर्वाचन मत परिणाम आईसक्दा नेपाली काँग्रेसले एक सय स्थानमा विजय हाँसिल गरिसक्दा एमालेले कूल १ सय ६ ठाउँमा विजय हाँसिल गरेको छ । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने ४६ स्थानमा विजय हाँसिल गरिसकेको छ ।

हामीलाई प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेले अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तहमा विजय हाँसिल गरेको छ । जसमध्ये उसले प्रदेश नं ६ मा ९ नगरपालिका र १२ गाउँपालिका सहित कूल २१ स्थानीय तहमा विजय हाँसिल गरेको छ भने उसको पछि पछि रहेको नेपाली काँग्रेसले ७ नगरपालिका र १३ गाउँपालिका सहित कूल २० स्थानीय तहमा विजय हाँसिल गरेको छ । ६ नं प्रदेशमा माओवादीको १६ ठाउँमा विजय हाँसिल भएको छ । यहाँ दुई जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

त्यस्तै, प्रदेश नं ४मा  एमाले ९ नगरपालिका र २२ गाउँपालिका सहित ३१ स्थानीय तहमा, काँग्रेस १३ नगरपालिका र २५ गाउँपालिका सहित ३८ स्थानमा माओवादी ५ गाउँपालिका, स्वतन्त्र १ गाउँपालिका र राष्ट्यि जनमोर्चाका उम्मेदवार एउटा गाउँपालिकामा विजयी भएका छन् ।

त्यस्तै, प्रदेश नं ३ मा आईपुग्दा एमालेले अहिलेसम्म ४८ स्थानीय तहमा विजय हाँसिल गरेको छ । त्यस्तै, नेपाली काँग्रेसले कूल ३२ र नेकपा माओवादी केन्द्रले जम्मा १६ स्थानमा विजय हाँसिल गरेको छ ।

एमालेको मेयरमा अहिलेसम्म १६ जना गाउँपालिका अध्यक्षमा ३२ जना गरी कूल ४८ जना प्रदेश नं ३ बाट विजयी भएका छन् भने कांग्रेसका मेयरमा ७ जना, अध्यक्षमा २५ जना गरी ३ नं प्रदेशमा कूल ३२ जनाले विजय हाँसिल गरेका छन् । त्यस्तै, माओवादी केन्द्रबाट मेयरमा ३ जना, गाउँपालिकाको अध्यक्षमा १३ गरी कूल १५ जनाले विजय हाँसिल गरेका छन् । राप्रपा र नयाँशक्तिले एकएक वटा गाउँपालिकामा आफ्नो प्रतिनिधित्व देखाएको छ ।

यसरी कूल स्थानीय तहको हिसाव गर्दा २५९ स्थानीय तहको मत परिणाम आउँदासम्म एमालेले १०६, काँग्रेस १००, माओवादी ४६ स्थानमा विजयी भएका छन् ।

, ,