श्रीमती उमेद्वार भएपछी डिएसपी सरुवा गरिएको प्रधानमन्त्रीको भनाई



बुधवार, बैशाख २७

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरीका डिसपी राजेन्द्र श्रेष्ठले हतियारसहितको समूह खैरेनीबाट प्रवेश गरेको सूचना पाउँदा पनि चेकजाँच नगर्न निर्देशन दिएका कारण गोरखाबाट सरुवा गर्नु परेको स्पष्टिकरण दिनु भएको छ । निर्वाचन आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो स्पष्टीकरण दिनु भएको हो ।

नयाँ शक्ति नेपालका संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा इमान्दारीपूर्वक सुरक्षा सेवामा काम गरिरहनु भएका श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले सरुवा गरेकोमा आपत्ति जनाउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले डिएसपी श्रेष्ठकी श्रीमती चेतकुमारी श्रेष्ठ गोरखाको पालुङटार नगरपालिकामा काँग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार रहनु भएको पनि जानकारी गराउनुभएको छ ।

श्रीमती श्रेष्ठ उम्मेदवार रहेको र हातहतियारसहित आएको समूहको चेकजाँच नगरेका कारण डिएसपी श्रेष्ठलाई सरुवा गरिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । डिएसपी श्रेष्ठलाई सोमबार पोखरा सरुवा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले दोलखामा एमालेका कार्यकर्ताको हत्या हुने गरी एमाले र माओवादी केन्द्रका कार्यकर्ता वीच भएको झडपलाई दुखदायी घटनाको संज्ञा दिनुभयो । सो घटनाको सत्यतथ्य छानवीन गर्ने आश्वसन पनि प्रधानमन्त्री प्रचण्डले दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुरक्षा सक्रियताका कारण निर्वाचनका क्रममा घटना कम भएको बताउनुभयो । कतिपय राजनीतिक दलले तोडफोड गर्ने घोषणा गरेको अवस्थामा पनि सुरक्षा निकायले सक्रियता देखाएको कारण त्यस्ता घटना कम भएको उहाँले बताउनुभयो । ‘निर्वाचनको प्रतिरोध गर्ने भन्ने दलबाट नै धेरै तोडफोड र आगजनी भएको छ’नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रति लक्षितगर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘घटना घट्नु अगाडी नै सुरक्षानिकायले नियन्त्रणमा लिएर तदारुकता देखाएकोले घटना कम भएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको सक्रियताका कारणले चुनावको उत्साहपूर्ण वातावरण बनेको भन्दै आयोगको प्रशंसा गर्नुभयो । ‘निर्वाचन आयोगले निरन्तर मेहनत नगरेको भए वातावरण अहिले जसरी उत्साहपूर्ण हुने थिएन, आमजनतामा जसरी विश्वास पैदा भएको छ त्यो संभव थिएन’उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनको क्रममा घटेका घटना गम्भिर रुपमा हेर्ने विश्वास पनि दिलाउनुभयो । ‘घटना जति भएका छन् सरकारले गम्भिर रुपमा लिएको छ’ उहाँले भन्नुभयो – ‘यी सबै विषय गम्भिर रुपले हेर्ने विश्वास दिलाउन चाहन्छु ।’ कार्यक्रममा विभिन्न राजनीतिक दलका तर्फबाट गरिएका ध्यानाकर्षण प्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

,