देउवाले भने,‘प्रधानन्यायाधीशले राजनीति गर्न थालेकाले महाअभियोग लगाउनुपरेको हो’


रमेश सापकोटा , काठमाडौं  

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्न थालेपछि महाअभियोग लगाउनुपरेको बताएका छन् । स्थानीय तहको उम्मेदवार छनोट गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकमा एक्कासी प्रस्ताव भएको महाअभियोगबारे कुरा उठ्दा सभापतिले यस्तो बताएका हुन् ।

‘प्रधानन्यायाधीशभन्दा माथि उठेर राजनीतिक निर्णय गर्ने र गर्न खोज्ने भएपछि महाअभियोग लगानउनुपरेको हो’ देउवाको भनाई उद्यृत गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासित भने, ‘मुद्दा चलिरहेका व्यक्तिमाथि छानविन नै नगर्नु, किर्ते काम गर्नेलाई छानविन नगर्नु भन्ने आदेश दिने र शक्ति पृथकीकरणको गरिमालाई नबुझेपछि हामी यो निर्णय लिन बाध्य भएका हौं ।’ न्यायाधीश नियुक्तिमा आफूखुशी गरेको आरोपसमेत कार्कीमाथि लागेको छ । राजनीतिक मान्छे नियुक्ति गरेको आरोपसमेत कार्कीमाथि लागेको विषय देउवाले उठाएका थिए ।

उम्मेदवार टुंग्याउन दिउँसो चारबजेपछि बसेको बैठकमा केही केन्द्रीय सदस्यहरूले पार्टीमा महाअभियोगबारे छलफल नै नभई अचानक कसरी आयोग भन्ने प्रश्नमा देउवाले यस्तो बताएका हुन् । कांग्रेसका केही केन्द्रीय सदस्यहरूले पहिले नै हस्ताक्षर गरे पनि अहिले सोध्दै नसोधी महाअभियोगका लागि प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

तर, देउवाले सबैलाई थाहा दिदा अनावश्यक हल्ला हुने भएकोले थाहा दिन नसकेको बताएका थिए ।

उम्मेदवार टुंग्याउँदै कांग्रेस

कांग्रेसले प्रदेश नम्बर ४ र ६ का स्थानीय तहमा उम्मेदवारको टुंगो अन्तिम चरणमा पुर्‍याएकाे छ । सोही बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतका अनुसार प्रदेश ४ र ६ का अधिकांश उम्मेदवार टुंगिने चरणमा पुगेको तर, अन्तिम टुंगो लागिसेको छैन । अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महागनरपालिकाको मेयर र उपमेयर सोमबार टुंग्याउने जानकारी दिए ।

निधिलाई सभापतिले सम्झाउनुहुन्छ

नेता सिटौलाका अनुसार गृहमन्त्रीबाट राजीनामा दिएका निधिलाई सभापति देउवाले राजीनामा पुनर्विचार गर्न आग्रह गर्ने भएका छन् । ‘निर्वाचनका लागि अब धेरै दिन छैन त्यसैले निधिलाई गृहमन्त्रीमा कायम रहन सभापतिले सम्झाउनुहुन्छ’ सिटौलाले भने ।

३१ वैशाखको चुनाव हुन्छ

कांग्रेस ३१ वैशाखको निर्वाचन हुनेमा विश्वस्त रहेको पनि सिटौलाले बताए । ‘हाम्रो मात्र संख्याले संविधान संसोधन हुने होयन आफैंले विधेयक प्रस्तुत गर्ने फेल गराउने गरी जानका लागि अघि बढाउने अवस्था पनि हुन्न’ सिटौलाले भने, ‘त्यसैले जहले दुई तिहाई पुग्छ त्यहीबेला संविधान संसोधन हुन्छ । तर, दुई तिहाईकै चक्करमा लागेर मधेसी मोर्चाले पनि निर्वाचनलाई बेवास्ता गर्दैन भन्ने लाग्छ ।’ बैठकमा सभापति देउवाले पनि संसोधन गर्न र निर्वाचन समयमै गर्नका लागि आफ्नो पूर्ण सहयोग हुने बताएका थिए ।नयाँपत्रिकाबाट

,