काठमाडौंको उपमेयरमा ९ हजारले अगाडि रहेको कांग्रेस मेयरमा किन पछि पर्यो ?



काठमाडौं, ७ वैशाख –२० वर्षपछि सम्पन्न यसपटकको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिका नेपाली कांग्रेसका लागि अफापसिद्व सावित हुने लक्षण देखिएको छ ।

पहिलो चरण अन्तर्गत ३१ वैशाखमा सम्पन्न निर्वाचनको मतगणना जारी नै नहँदा काठमाडौं महानगरपालिका जस्तो ‘कोर एरिया’ मा नै कागंग्रेसले आफ्नो पकड गुमाएको छ । राजधानी सहर काठमाडौं मेयर दलकालागि प्रतिष्ठाको बिषय बन्ने गर्दछ ।

स्थानीय निर्वाचनमा तुलनात्मक रुपमा अधिक चर्चामा रहेको र राजधानी सहर रहेको काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेस फराकिलो मतले पछि परेको छ । आइतवार साझ सम्मको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेस झण्डै साढे ७ हजार मतले पछाडि परेको छ । महानगरपालिकाको मेयरका लागि नेकपा एमालेले २५ हजार १ सय ५२ मत ल्याउँदा नेपाली कांग्रेसले १७ हजार ७ सय १० मतमात्र ल्याएको छ ।

मेयरमा प्रतिस्पर्धी मूख्य यी दुई दलबीचको मतान्तर ७ हजार ४ सय ४२ पुगिसकेको छ । महानगरको मेयरका लागि कांग्रेसबाट राजुराज जोशी र एमालेबाट विद्यासुन्दर शाक्य मूख्य प्रतिस्पर्धाको मैदानमा छन् ।
काठमाडौं महानगरपालिकामा कुल खसेको मतको करीव ३८ प्रतिशतको हाराहारीको मतगणना परिणाम हो यो । करीव २ लाख ४ हजार मत खसेकामा हालसम्म ७७ हजार ६ सय ३२ मतगणना भएको छ ।

कुल खसेको मतको करीव ३८ प्रतिशत मतगणना गर्दा देखिएको यो हिसाव अन्तिमसम्मै कायम रहने ठोकुवा त गर्न नसकिएला तर, हालसम्म देखिएको यो नतिजालाई उछिन्नु कांग्रेसका लागि ‘फलामको च्यूरा’ चपाएसरह हुने देखिन्छ ।

एमालेको मतपरिणाम स्थिर रहेको खण्डमा मतगणना जारी राख्दा नेपाली कांग्रेसले झण्डै साढे ७ हजार मत ‘अतिरिक्त परिमाण’मा ल्याउनुपर्ने देखिन्छ, हालसम्म देखिएको नतिजाअनुसार । तर, त्यसो हुने लक्षण पटक्कै देखिएको छैन, तिहाईभन्दा बढी मत गनिसक्दा । अहिलेसम्मको मतपरिणाम एमालेको पक्षमा अतिरिक्त अनुपातमा बढेको गएको छ भने कांग्रेसको घट्दो क्रममा छ ।

उपमेयरको ‘ठ्याक्कै उल्टो’ खेल

मेयरमा ‘रिक्स जोन’मा देखिएको नेपाली कांग्रेसका लागि उपमेयरको ‘पोजिसन’ भने ‘कम्फर्ट’ देखिन्छ । आइतवार बेलुकाको मतपरिणाम अनुसार कांग्रेसबाट उपमेयरका लागि हरिप्रभा खड्गीले २३ हजार १ सय ७२ मत ल्याइसकेकी छिन् भने उनको निकटतम् प्रतिद्वन्द्वी एमाले –राप्रपाका संयुक्त उम्मेदवार राजाराम श्रेष्ठले १३ हजार ९ सय १८ मत ल्याएका छन् । उपमेयरमा यी दुई मूख्य प्रतिस्पर्धीको मतान्तर ९ हजार २ सय ५४ छ ।

कहाँ चुक्यो कांग्रेस ?

धेरैको अनुमानमा महानगरपालिकाको मेयर नेपाली कांग्रेसको पोल्टामा जान्छ भन्ने थियो । यसअघिका निर्वाचनमा पनि एमालेभन्दा तुलनात्मक रुपमा राम्रो उपस्थिति कायम गरेको कांग्रेसले मेयर जित्ने धेरैको आँकलन थियो । तर, मतगणनाका पछिल्ला परिणाममा अनुमान गरिएभन्दा ठिक उल्टो नेकपा एमालेले आफ्नो मतको दायरा निकै फराकिलो बनाउँदै लगेको छ ।

नेपाली कांग्रेसले जित्ने अनुमान गरिएका विभिन्न वडामा पनि एमालेले नै अग्रता कायम गरेको छ । उम्मेदवार छनौटमा समेत कांग्रेस चुकेको सोही पार्टीका नेताहरु स्वीकार्छन् ।

कांग्रेसले मेयरको उम्मेदवारको टुंगो ढिला मात्र लगाएन, उसले चर्चामा नरहेका पात्रलाई महानगरको मेयरमा प्रस्तुत ग¥यो । उद्योग मन्त्री रहेका नविन्द्र राज जोशीको दाई भएका नाताले नेपाली कांग्रेसले राजुराज जोशीलाई उम्मेदवार बनायो तर उनी कोर कांग्रेस बृत्तमा बाहेक चर्चामा रहेका पात्रमा होइनन् । उता नेकपा एमालेले मेयरमा उम्मेदवार बनाएको विद्यासुन्दर शाक्य भने एमाले जिल्ला सचिव समेत हुन् । त्यस्तै एमालेले यस अघि मेयर भइसकेका चर्चित पात्र केशव स्थापितलाई शाक्यको सहयोगीका रुपमा अघि सा-यो र मिडिया म्यानेज पनि ध्यान दियो । तर, नेपाली कांग्रेसकाहरुले चुनावी प्रचारमा खास ध्यान दिएनन् । मतदातासँग घर दैलोमा जाँदा समेत सडकबाटै ‘जय नेपाल’ भन्दै फर्कने कांग्रेसी शैलीलाई कांग्रेसकै कार्यकर्ताले मन पराएनन् ।

पछिल्लो चरण कांग्रेको मूल नेतृत्वले चालेका महाअभियोग, प्रहरी प्रकरण, राजदूत लगायतमा चालेको कदमलाई पनि राजधानीका मतदाताले मन पराएनन्, उनीहरुले मतदानपछि सामाजिक सञ्जाल मार्फत देउवाको आलोचना नै गरे ।

कांग्रेसले आफ्नो भोट वैंक सोचेका स्थानमा नै एमालेले बाजी मार्यो जसका कारण कांग्रेसको अंकगणितमा समस्या प-यो ।

वैकल्पिक शक्ति मूख्य चुनौती

यसपटकको स्थानीय चुनावमा नयाँ शक्तिका रुपमा उदाएका विवेकशिल नेपाली पार्टी र साझा पार्टी नेपाली कांग्रेसका लागि मूख्य चुनौतीका रुपमा खडा देखिए । मत परिणाममा यो कुरा स्पष्ट देखिन्छ । पछिल्लो मत परिणाम अनुसार विवेकशिल नेपालीबाट मेयरकी उम्मेदवार रञ्जु दर्शनाले १० हजार १ सय ४७ मत पाएकी छिन् भने उनीसँगै साझा पार्टीबाट मेयरका दावेदार किशोर थापाको मत ७ हजार ६ सय ७१ छ । विवेकशिल र साझाको मत परिणाम जोड्दा कांग्रेसको भन्दा बढी देखिन्छ । कांग्रेसले १७ हजार ७ सय १० ल्याउँदा यी दुई दलको संयुक्त भोट १७ हजार ८ सय १७ छ ।

यसले प्रष्ट पार्छ कि यी दुई नयाँ दलले कांग्रेसको भोट आफ्नोतर्फ आकर्षित गर्न सफल भए । निर्वाचन अघि धेरैले निकै कम आँकेका यी शक्तिले ल्याएको मत परिणाम मूलतः कांग्रेस र माओवादीबाट काटिएर आएको देखिन्छ । महानगरको मतपरिणाम सरकारको नेतृत्व गरिरहेको माओवादीका लागि ‘लज्जाजनक’ छ ।

अधिकांश महानगरमा पनि कमजोर कांग्रेस

काठमाडौंमात्र होइन अन्य महानगरमा पनि नेपाली कांग्रेस कमजोर देखिएको छ । मुलुकका ४ महानगरपालिकामध्ये पोखरामा कांग्रेस कमजोर देखिएको छ भने नेकपा माओवादी केन्द्रसँग भरतपुर महानगरमा तालमेल गर्दा कांग्रेसले त्यहाँ पनि चुनाव आफ्नो पक्षमा देखिन सकेको छैन, अहिलेसम्मको मत परिणाम अनुसार । ललितपुर महानगरमा भने कांग्रेस अगाडि देखिएको छ,लोकान्तरमा समाचार टिप्पणी छ  ।

,