नेजाको ११ औं साधारण सभाको तयारी पुरा




बाल्टिमोर अमेरिका /  नेपाल अमेरिका पत्रकार संघ (नेजा)को ११ औं साधारण सभाको तयारी पुरा भएको  छ ।

अमेरिकाको राजधानी नजिकै भर्जिनियास्थित मनाससमा हुन लागेको साधारण सभाको तयारी पुरा भईसकेको अध्यक्ष भोला आचार्यले जानकारी दिए ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर हुन लागेको साधारण सभामा सहभागी हुन नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर अमेरिका आइसकेका छन् । साधारण सभाको उद्घाटन सत्रमा अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्की लगायत नेपाली संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहने साधारण सभा मुल आयोजक समितीका संयोजक तथा नेजाका उपाध्यक्ष गुणराज लुइटेलले जानकारी दिए ।

यसैबीच नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले यो वर्षदेखी शुरु गरेको सामुदायीक पत्रकारिता पुरस्कार तीन जनाले पाउने भएका छन् । पत्रकार राजेश मिश्रको संयोजकत्वको छनौट समितीले शिवप्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई पुरस्कारको लागी छनौट गरेको हो । १ हजार १ सय १ डलर पुरस्कार राशीको सो पुरस्कार साधारण सभा उद्घाटनका दिन प्रदान गरिने नेजाले जनाएको छ ।

यस्तै  साधारण सभाको उद्घाटन सत्रमा गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका आकांक्षीहरुसंगको बहस पनि संचालन गरिने भएको छ । नेजा सदस्य बाल जोशीको संयोजकत्वमा बहस गरिने बताइएको छ ।



, ,