देश कै ठुलो महानगरमा एमाले जीत, ‘किङ मेकर’ को ?


काठमाडौं, १२ जेठ— पहिलो चरणको स्थानीय निर्वाचनको उम्मेदवार छनौट गर्न दलहरूलाई हम्मे परिरहेको समयमा देशकै ठूलो पोखरा–लेखनाथ महानगरको मेयरको सम्भावित उम्मेदवारको रूपमा सबभन्दा बढी चर्चा भयो रवीन्द्र अधिकारीको ।

संविधानसभाको दुईवटै निर्वाचनमा कास्कीबाट प्रत्यक्ष निर्वाचित बहालवाला सांसद रवीन्द्र पोखराको मेयरको उम्मेदवार त बनेनन्, तर पोखरामा एमालेलाई जिताउने मुख्य योजनाकार बने ।

शुक्रवार सम्पन्न मतगणनामा मेयरका उम्मेदवार मानबहादुर जिसीले कांग्रेस उम्मेदवारलाई फराकिलो मतअन्तरले पराजित गरे । कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्दा जिसीले ६० हजार ११८ मत प्राप्त गरे । उनले यति धेरै भोट ल्याउनुमा रवीन्द्र लगायतको टिमको भूमिका थियो ।



एमालेका नेता भन्दा पनि जनप्रतिनिधिका हैसियतले रवीन्द्रले कांग्रेस, माओवादी कार्यकर्ता र स्वतन्त्र मतदातासँग स्थानीय तवरमा राम्रो छवि बनाएका छन् ।

माओवादी केन्द्रको समेत समर्थन रहेका कांग्रेस उम्मेदवारलाई फराकिलो मतअन्तरले पराजित गर्नुमा उम्मेदवारको मात्र भूमिका पर्याप्त थिएन । स्थानीय निर्वाचनमा एमालेको पक्षमा पहिलो महानगरको खाता पनि कास्कीबाटै खोल्न रवीन्द्रको भूमिका रहेको कास्कीका एमाले कार्यकर्ताहरू बताउँछन् । २०६४ सालको चुनावमा एमालेका लागि रवीन्द्र अधिकारीले पहिलो खाता खोलेका थिए ।

लेखनाथ नगरपालिकालाई जोडेर पोखरालाई महानगरपालिका बनाउन रवीन्द्रले पहिलेदेखि नै लबिङ गरेका थिए । स्थानीय तह पुनःसंरचना आयोगले पोखरालाई महानगर बनाउन सिफारिश गरेपछि रवीन्द्रले पोखराको विकास र भविष्यको पोखराको बारेमा पैरवी गर्दै आएका थिए । रवीन्द्रको निर्वाचन क्षेत्रमा पोखरा महानगरका केही वडाहरू पनि पर्छन् ।

निर्वाचन क्षेत्र र कास्की जिल्लाको विकासका लागि सांसद अधिकारीले निरन्तर काम गरिरहेका छन् । त्यसैको प्रतिबिम्ब स्थानीय निर्वाचनमा पनि परेको एमाले कार्यकर्ता स्वीकार्छन् । सांसद विकास कोषको नामले चिनिने निर्वाचन क्षेत्र विशेष पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम छनौटमा उनले पारदर्शी रेकर्ड बनाएका थिए ।

निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै भ्रमण गर्ने थोरै सांसद ध्येमा रवीन्द्र पनि पर्छन । संसद्को विकास समितिको सभापति समेत रहेका अधिकारी कम्तीमा पनि हप्तामा एकपटक गृहजिल्ला पुगेका हुन्छन् । पोखरालाई ‘स्मार्ट सिटी’ बनाउने रवीन्द्रको योजनामा अन्य दलहरू पनि सहमत छन् ।

‘पार्टीका उम्मेदवारलाई जिताउन खेलेको भूमिकाको त पार्टीले समीक्षा गर्ला तर पोखरामा योग्य मेयर छान्यौं,’ अधिकारीले लोकान्तरसँग भने, ‘चुनाव अवधिभर पोखरामै व्यस्त रहें ।’

चुनावी अभियानका दौरान रवीन्द्र अधिकारीले कास्कीका सबै गाउँपालिका र नगरका प्रायः वडाहरूमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

देशभर एमालेको पक्षमा माहौल बढ्नुमा पार्टीले लिएको नीति प्रमुख कारण रहेको अधिकारी बताउँछन् ।



६ महिनामै देखिनेगरी सुधार

पोखराबाटै प्रतिनिधित्व गर्ने सांसद अधिकारीले पोखरा महानगरमा ६ महिनामै देखिनेगरी सुधार गर्ने योजना रहेको बताउँछन् । ‘६ महिनामा महानगरको सेवालाई गुणस्तरीय बनाउने र पोखरा लेखनाथको दिगो विकासको गुरुयोजना बनाउछौं,’ अधिकारीले भने, ‘पर्यटकीय नगरी पोखरालाई ग्रीन सिटी र स्मार्ट सिटी बनाउन लागिपर्छौं ।’

पर्यटकीय नगरी पोखरामा भौतिक पूर्वाधार, खानेपानीको व्यवस्थित वितरण, तालहरूको संरक्षण र सरसफाइलाई महत्त्व दिइने एमालेको प्रतिबद्धता छ ।

को हुन् जिसी ?

पोखरा महानगरका नवनिर्वाचित मेयर मानबहादुर जिसी एमाले कास्कीका इन्चार्ज एवं वैकल्पिक केन्द्रीय सदस्य हुन् । गत संविधानसभा निर्वाचनमा उनी कास्की १ बाट कांग्रेसका यज्ञबहादुर थापासँग झिनो मतअन्तरले पराजित भएका थिए ।

इमान्दार भएपनि उनी पार्टीभित्रको गुट उपगुटको राजनीतिका कारण छायाँमा पर्दै आएका थिए । यसअघि कालिका गाविस रहेको महानगरपालिका २८ वडाका स्थानीय हुन् । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा जिसी कालिका गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

पोखरालाई स्वच्छ र सफा पर्यटकीय नगरी बनाउने उनको चुनावी एजेन्डा थियो ।
लोकान्तरबाट

, , ,