पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै शुरु भएन


पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएको भन्दै शनिबार दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको र हस्ताक्षरमा पनि फरक देखिएको भन्दै त्यसको छानबिनको माग गर्दै नेपाली कांग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको हो ।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखे पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । आज बिहानै बैठक बस्ने भनिए पनि बस्न सकिरहेको छैन ।

यसैबीच, कालिकोट र दोलखाका दुइवटा केन्द्रमा आज मतदान भइरहेको छ । गत बैशाख ३१ गते झडपका कारण स्थगित भएको कालिकोटको माल्कोट सेरापाटास्थित नन्दादेवी मावी मतदान केन्द्र र दोलखाको मेलुङ गाउँपालिकामा आज चुनाव भएको हो ।

,