चुनावले ततायो बजार


काठमाडौं, वैशाख २९

साँझ पर्ने वित्तिकै होटेल रेस्टुरेन्टमा चहलपहल सुरु भइहाल्छ। दिनभरि घरघरमा भोट माग्दै हिँड्ने कार्यकर्ता साँझ परेपछि होटेल/भट्टी छिर्छन्। खाना र खाजासँगै मासुका परिकारको स्न्याक्स मगाउँछन्, अनि दारुको चुस्की लिन्छन्। होटेल सञ्चालकलाई पनि ग्राहकको सेवा गर्न भ्याइनभ्याइ देखिन्छ। स्थानीय तहको निर्वाचनले सामान्य अवस्थामा चलिरहेको होटेल तथा रेस्टुरेन्ट व्यवसाय गुल्जार बनाइदिएको छ। यो खबर आजको अन्नपूर्णमा उत्तम काप्री र नवीन अर्यालले लेखेका छन्।

मुलुकमा १९ वर्षपछिस्थानीय तहको निर्वाचन हुँदैछ। दुई चरणमा हुन लागेको निर्वाचले उम्मेदवारदेखि मतदातासम्म उत्साहित छन्। स्थानीय निर्वाचनले राजधानीदेखि ग्रामीण क्षेत्रका होटेल/रेस्टुरेन्टसम्म गुल्जार देखिन्छन्। पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुन लागेका ३, ४ र ६ नम्बर प्रदेशमा होटेलमात्र भरिभराउ छैनन्, सहर तथा गाउँ चुनावी प्रचार सामग्रीले रंगिएका छन्। दलका झन्डा, निर्वाचन चिन्ह र उम्मेदवारका प्रचार समग्री छरपष्ट देखिन्छन्।

सामान्य समयको तुलनामा वैशाखयता तीन/चार गुनासम्म कारोबार बढेको स्थानीय होटेल व्यवसायी बताउँछन्। चुनावी सरगर्मी बढेपछि मासु र मदिराको बिक्री ह्वात्तै बढेको छ। सहर र गाउँका मदिरा पसल, रेस्टुरेन्ट र भट्टी पसलमा मदिराका ग्राहक भेटिन्छन्। साथै, होटेल रेस्टुरेन्टमा खाना/नास्ता पनि उत्तिकै बिक्री भइरहेको छ। ठूला होटेलका रेस्टुराँदेखि साना भट्टी पसलसम्म नेता र कार्यकर्ताको भीड देखिन्छ। चुनावको समयमा सबैभन्दा बढी बिक्री हुने मासु र मदिरा हो। उम्मेदवारले मतदाता रिझाउन खसी/बोका काटेर भोज भतेरसम्म गरिरहेको भेटिन्छ। खासगरी सहरी उम्मेदवारले रेस्टुरेन्टमा खर्च गर्छन्, ग्रामीण क्षेत्रका उम्मेदवारले खसी काटेर भोज नै खुवाउँछन्।

निर्वाचले रेस्टुरेन्टको बिक्री त बढाएकै छ, सँगसँगै तैयारी खाद्यवस्तु, प्रिन्टिङ व्यवसाय, टिसर्ट, प्रिन्ट कपडा, इन्धनलगायतको कारोबार पनि उत्तिकै बढाएको छ। उम्मेदवारले अत्यधिक झन्डा बनाएपछि बुटवलमा चुनाव चिन्ह र झन्डा छाप्ने कपाडाकै अभाव देखियो। बुटवलमा दोस्रो चरणमा निर्वाचन हुने भए पनि प्रचार सामग्री छाप्ने काम अहिलेदेखि नै जारी छ। पहिलो चरणमा निर्वाचन हुन लागेका ३, ४ र ६ नम्बर प्रदेशमा झण्डा र निर्वाचन चिन्ह छाप्ने कपडा ‘ब्ल्याक' मै बिक्री भइरहेको बताइन्छ।

स्थानीय निर्वाचनले शहरदेखि गाउँसम्मको आर्थिक गतिविधि बढाएको छ। ‘सहरमा ‘फ्रिज' भएर बसेको पैसा गाउँसम्म पुगेको छ' पूर्वअर्थसचिव रामेश्वर खनाल भन्नुहुन्छ, ‘एक्कासी काठमाडौंमा रहेको पैसा देशभर वितरण हुँदा अर्थतन्त्र चलायमान भएको छ।' स्थानीय तहको निर्वाचन भएकोले सहरमा भन्दा धेरै चुनावकेन्द्रित आर्थिक गतिविधि गाउँमा बढी देखिएको छ। सहरका रेस्टुराँभन्दा बढी गाउँका साना होटेल र भट्टी पसल चम्किएका छन्। सेतोपाटी

,