‘नेपाली कार्लमार्क्सको हत्या’ : कहिले खुल्ला रहस्य ?


राजकुमार गजुरेल

६५ वर्षअघि आजैका दिन शुक्रवार रातको १२ बजे ताप्लेजुङको ढुङ्गेसाँघु गाविसको ठोट्नेमा जन्मेका मदन भण्डारी २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परेर बिते । दुर्घटनामा सँगै परेका थिए जीवराज आश्रित । चर्चाको शिखरमा रहेका एक नेता र देशको दोस्रो ठूलो पार्टीको प्रमुखको दुर्घटनामा मृत्यु र लाशै समेत बेपत्ता ? मोबाइल र इन्टरनेट नभएको बेला दासढुंगा दुर्घटनाबारे राष्ट्रिय रेडियोबाट आएको समाचार देशैभरि एकाएक डढेलोझैँ फैलियो । धेरै नेपालीलाई यो खबरले स्तब्ध बनायो ।

खबर पत्याउनै गा-हो
मदनको भाषणबाट प्रभावित र उनको चर्चा सुनेरै उनका अनुयायी बनेकाहरूले त यो खबर पत्याउनै चाहेनन् । वैचारिक रूपमा मदन र उनको पार्टी इतरकाहरुले समेत विश्वास गर्न सकेनन् यो खबर । धेरैलाई आशा थियो र चर्चा पनि त्यस्तै चल्यो, ‘मदनजस्ता ओजस्वी राजनीतिकर्मीको जिप दुर्घटनामा ज्यान जानै सक्दैन ।’ कतिले त यसो समेत भने, ‘मदन पौडीबाज हुन् । उनलाई पौडीमा कसैले सक्दैन । उनी नदीमा परेपछि पनि खोलामा पौडी खेलेर पारी पुगे होलान् ।’ यतिखेरसम्म जिप तल नदीमै थियो ।


लेखक गजुरेल

जिपबाट मदन जीवितै भेटिन्छन् र केही चमत्कार हुन्छ भन्ने आशा लिने ठूलो जमात देशभर थियो । साँझ ५ः३० बजे त्रिशुलीमा खसेको जिपको ड्राइभर अमर लामा दासढुंगाबाट नारायणगढतर्फ लागेका थिए । यसैमा पनि कतिलाई ठूलो संशय थियो । पार्टी कार्यकर्ता, सेना, प्रहरी र स्थानीय जनता रातभर खोजी कार्यमा लागे । राति १० बजे जिप पत्ता त लाग्यो तर खोलाबाट निकाल्न सकिएन । भोलिपल्ट बिहान ८ बजे अपार जनसमुदाय ओर्लिसकेको थियो दासढुंगामा । क्रेनको सहायताबाट त्रिशुलीमा डुबेको जिपलाई पानीबाट बाहिर निकालियो । जिपमा जीवराज आश्रित मृत अवस्थामा भेटिनुभयो । तर मदन भण्डारीको भने शव भेटिएन । यसले घटना झनै रहस्यमय र नियोजित भएको अनुमान जनताले गरे ।



'षड्यन्त्र'
दुर्घटना भएको जिपचालकको ढोका खुल्ला र अन्य तीन ढोकाहरू भने बन्द अवस्थामा पाइनुलाई पनि धेरैले षड्यन्त्र नै माने । ड्राइभर सकुशल रहनु तर आश्रित जिपभित्र मृत भेटिनु र मदन शव नभेटिनुलाई रहस्यपूर्ण रूपमा हेरिनु स्वभाविकै पनि थियो । फुटेका सिसाका टुक्राहरू, मदन भण्डारीको भिजिटिङ कार्ड, एकाध थोपा रगत चप्पल र ब्रिफकेस भेटियो दुर्घटनास्थल वरपर । ‘दुर्घटना भएको जिपको ढोका बन्द तर मदनको शरीर कसरी बाहिरियो ?’ मान्छेले शंकामाथि शंका नै गरिरहे ।

जेठ ४ गते दिनभर मदनको खोजी भयो । भारतको गंगा नदी पौडेर वारपार गर्न सक्ने मदन कतै जीवितै पो भेटिन्छन् कि भन्ने झिनो आशा आम शुभेच्छुकमा रहिनैरह्यो । तर घटनाको पर्सिपल्ट ५ गते बिहान ८ः१५ बजे दुर्घटनास्थलदेखि ३२ किमि तल चितवन गुञ्जनहरमा एमालेका स्थानीय नेता हरि सापकोटाले मदन भण्डारीको शव सनाखत गर्नु भएपछि मदनकोे जीवन सम्बन्धी आशा समाप्त भए । जनता र देशले रुचाएको एउटा आशलाग्दो कम्युनिस्ट नेता अल्पआयुमै बिते ।

भेटियो शव, रचियो गीत
शव भेटिएको समाचार देशभरि हावासरी फैलियो । मदनकै मृत्युको प्रभावमा प्रगतिशील साहित्यकार रामचन्द्र भट्टराईले एउटा गीत लेखे । रामेशले यसमा संगीत भरे अनि जेबी टुहुरेले मदनप्रति शब्द श्रद्धाञ्जली दिए :

मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ देशभक्त छोरो मर्दा देशै रुँदो रैछ
आँखाबाट आँसु हैन माया बग्दो रैछ शोकसँगै वेदनाको हुरी चल्दो रैछ
आफ्नो प्रिय नेतालाई काँधमाथि बोकी मानिसको लाम आफैं घाट जाँदो रैछ
बाँकी सारा सपनालाई पूरा गर्छौं भन्दै मुठी कसी मलामीले कसम खाँदो रैछ
मृत्युसँग नडराउने वीर मान्छे हुन्छ सगरमाथा चढ्नेले नै चुचुरोलाई छुन्छ
एकै वचन जिन्दगीको मूलमन्त्र हुन्छ हराएको मानिसको याद आइरहन्छ
नेपाली 'कार्लमाक्र्स'
‘सिद्धान्त सिद्धान्तको निम्ति होइन, यो जिवनको निम्ति हो’ र ‘बन्दुकको शक्तिबाट मात्र हैन जनमतद्वारा कम्युनिस्टहरू राज्यसत्तामा पुग्न सक्छन्’ भन्ने भण्डारी तत्कालीन अवस्थामा विश्वमै प्रतिरक्षारत कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए । सन् १९९१ मे २७ मा विश्व प्रतिष्ठित न्युजविक पत्रिकाले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ भन्ने शीर्षकमा मदन भण्डारीको अन्तर्वार्ता समेत छापेको थियो । न्युजविकका मिचेल लिट् भिनले अन्तर्वार्तामा १२ प्रश्न गरेका थिए ।
सो अन्तर्वार्तामा भण्डारीले हामी मान्छेको धर्मसंस्कृतिको सम्मान गर्छौं समेत भनेका थिए । कम्युनिस्टहरु धर्म र संस्कृतिको खिलाफ हुन्छन् भन्ने आम धारणा प्रचार भइरहेका बेला मदनको यो उत्तर धर्मसंस्कृति विरोधीमाथिको गतिलो प्रहार थियो । कसले के भने ?
मदनको मृत्युपछि सर्वमान्य नेता गणेशमान सिंहले शोकपुस्तिकामा लेखे—‘भण्डारीको निधनले देशको मुख्य प्रतिपक्षी दल एमालेलाई मात्र होइन, राष्ट्रले दिशाबोध गरेको प्रजातान्त्रिक राजनीतिको प्रगतिमाथि नै ठूलो धक्का पु-याएको छ । राष्ट्रले एक सशक्त नेता र मैले एक ठूला सहयोगी मित्र गुमाएको छु । म प्रखर मित्रको सहयोगबाट वञ्चित भएको छु ।’
नेपालका लागि तत्कालीन भारतीय राजदूत डा. विमलप्रसादले स्मारिकामा लेखे—‘मैले भण्डारीज्यूसित धेरै अवसरमा भेट्ने मौका पाएँ र परिणामतः म उहाँप्रति आशक्त बनें । उहाँले मलाई अत्यन्तै समर्पित, निष्कपट र विचारशील व्यक्तिको रूपमा प्रभाव पार्नुभयो । उहाँको निधन मेरा लागि वैयक्तिक क्षति पनि हो । उहाँको साहस र इमान्दारिताप्रति मेरो अगाध सम्मान छ ।’
नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्ण प्रसाद भट्टराईले लेख्नुभयो—“मदन भण्डारी एक महान् मान्छे हुनुहुन्थ्यो । राजनीतिक नेतामा हुनुपर्ने सबै गुण उहाँमा थियो । भर्खरै कलकत्तामा भएको कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय भेलामा उहाँले कम्युनिस्टहरुले अपनाउनुपर्ने उदार नीतिका बारेमा र विश्व समाजमा ‘कम्युनिज्म’ कसरी फस्टाउन सक्छ भन्नेबारे दिनुभएको विचारोत्तेजक भाषणलाई विश्वकै माक्र्सवादीहरूले ध्यान दिएर सुनेका थिए । यस्तो व्यक्तित्वलाई गुमाउनुपर्दा मलाई धेरै दुःख लागेको छ । भण्डारीको मृत्यु यो राष्ट्रकै निम्ति ठूलो र अपूरणीय क्षति हो ।
वीरेन्द्रको दुःखमनाउ
राजा वीरेन्द्रले मदन भण्डारीको मृत्युप्रति शोकवक्तव्य जारी गर्दै भने, ‘उहाँको निधनमा देशले एक समर्पित राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञलाई गुमाएको छ ।’ मदन बितेको नौ वर्षपछि २०५८ जेठ १९ गते राजा वीरेन्द्रको पनि मदन जस्तै गरी रहस्यमय दरबार हत्याकाण्डमा मृत्यु भयो । संयोगले यी दुवै घटना भएको बेला देशको प्रधानमन्त्री भने गिरिजाप्रसाद कोइराला थिए । दरबार हत्याकाण्डलाई ‘ग्र्याण्ड डिजाइन’ भन्ने कोइरालाले दरबार हत्याकाण्डको विषयलाई बाहिर ल्याउने बताए । स्मरणीय छ, दासढुंगा काण्डका ड्राइभर अमर लामालाई गिरिजाप्रसादले नेपाली कांग्रेसमा प्रवेश गराएको बताइन्छ ।
नेपालको राजनीतिक इतिहास हेर्दा सत्ता प्राप्तिका लागि जोसुकैको हत्या सामान्य हुनेगरेको पाइन्छ । राजकुमार बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान, जनरल भीमसेन थापाको आत्मघात वा मुख्तियार माथवर सिंह थापाप्रति जंगबहादुर राणाको विश्वासघात नेपाली इतिहासका दुर्भाग्यपूर्ण हत्याकाण्ड हुन् ।

शंकैशंका

मदनको मृत्यु हो या हत्या भन्ने विषयमा अनेक मत भएपछि धेरै मान्छेले यसलाई आजसम्म पनि हत्याकै रूपमा बुझेका छन् । ड्राइभर अमर लामाका बयान फेरिनु, आश्रितको शव जिपमै पाइनु र भण्डारीको शव गाजीपुर छेउ नारायणी नदी किनारमा भेटिनु, शवको प्रकृति हेर्दा दुवै खुट्टामा मोजा लगाएको, सर्ट लगाएको तर छालाको पेटीले कसिएको पाइन्ट नहुनु, आँखा, हात, कुहिना र दुईटै घुँडामा चोट हुनु र डाक्टरको रिपोर्टमा समेत उनको निधन पानीमा पर्नुअगावै भएको ठहर हुनुले गर्दा घटनालाई रहस्यमय मानियो । हत्याकाण्डमा आरोपित अमर लामा समेत पछि माओवादी द्वन्द्वकालमा अज्ञात गोलीको शिकार भए । उनलाई कसले मा¥यो भन्ने कुरो समेत अहिलेसम्म रहस्यमै छ ।

मे—जुलाई १९९३मा ‘तीसरी दुनिया’मा आनन्द स्वरूप वर्मा लेख्छन्, जुन परिस्थितिमा नेपालमा दुई वरिष्ठ कम्युनिस्ट नेताको मृत्यु भयो र आजसम्म जेजस्ता तथ्य सामुन्नेमा आए त्यसबाट सिद्ध हुन्छ दासढुंगा दुर्घटना एक सामान्य दुर्घटना थिएन, योजनाबद्ध षड्यन्त्र थियो । यो हत्याको एकमात्र उद्देश्य नेपाली वामपन्थी राजनीतिको निरन्तर तथा प्रचण्ड हँुदै गइरहेको वेग रोक्नुथियो ।

वर्मा लेख्छन्, ‘मदन भन्डारीले केही वर्षअघि भएको एउटा कुराकानीमा बताउनुभएको थियो कि अमेरिकी साम्राज्यवाद तथा राष्ट्रभित्रकै प्रतिक्रियावादी शक्तिहरू यहाँ सक्रिय छन् । विश्वमा सारा देशमा साम्यवाद सखाप पारेको सफलतामा खुशी मनाइरहेको अमेरिकालाई कुनै पनि देशको राष्ट्रिय राजनीतिमा साम्यवादी शक्ति मुख्यधारको रूपमा विकसित हुनु चिन्ताको विषय बन्छ । दक्षिण अफ्रिकी कम्युनिस्ट नेता क्रिस हानीको हत्यामा यो सन्देश मिलेको छ कि साम्राज्यवादी शक्तिले आफ्नो निशाना त्यस्तो ठाउँमा लगाएको छ, जहाँ कम्युनिस्ट आन्दोलन प्रभावकारी र तेजिलो छ ।”

दन्त्यकथा
नेकपा एमालेले आफ्नो सरकार आएपछि यो घटनाको छानबिन गर्ने उद्घोष ग¥यो तर अहिलेसम्म एमाले चारपटक सरकारको नेतृत्वमा पुग्दा पनि सिन्को भाँचेन । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दासढुंगा हत्याकाण्डको छानबिन गरेरै छाड्ने बताए तर छानबिनको प्रक्रिया कहाँबाट शुरु भएको छ कसैलाई ज्ञात छैन । स्वयं मदनकी धर्मपत्नी अहिले राष्ट्रप्रमुख हुनुहुन्छ तर यो घटनाको सत्यतथ्य बाहिर आउने छाँट छैन । मदनको नाममा अध्ययन केन्द्र, फाउन्डेसन, कलेज लगायत बिभिन्न संस्था खुलेका छन् तर छानबिन हुन नसकेको यो दुर्घटना अब एकादेशको दन्त्यकथामा परिणत हुन लागेको छ ।लोकान्तर डटकमबाट