एमाले अध्यक्ष ओलीलाई युवा नेता प्रदीप पौडेलको खुला पत्र




जेष्ठ १८, २०७४- आदरणीय केपी ओलीजी,

स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि नेपाली कांग्रेसप्रति तपाईका पछिल्ला अभिव्यक्तिले यो खुलापत्र लेख्न प्रेरित गर्‍यो । ‘कांग्रेस जस्तो पार्टीले यत्रो मत कसरी ल्यायो ?’ र ‘कांग्रेस जस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ जस्ता तपाईको कटाक्ष तपाईको सुनियोजित प्रचार युद्धका हिस्सा हुन् भन्ने प्रस्ट छ । निर्वाचनमा राजनीतिक अभियान चलाइन्छन् र प्रचार–युद्ध पनि हुन्छ । तर तपाई त्यो अभियान कांग्रेसविरुद्ध लगभग युद्धकै रूपमा अत्यन्त अशिष्ट, अभद्र रूपमा चलाइरहनुभएको छ । लोकतन्त्र संस्थागत गर्नुपर्ने आजको परिवेशमा कांग्रेस र एमाले एक हिसाबले सहयात्री हुन् । तर तपाई शत्रु सावित गर्न खोजिरहनुभएको छ । रचनात्मक प्रतिस्पर्धालाई तपाई युद्घ बनाउन खोजिरहनुभएको छ । जित–हारको लोकतान्त्रिक प्रक्रियालाई तपाई घृणाको खेल बनाउन प्रयत्नशील हुनुहुन्छ । यसले कसलाई के फाइदा हुन्छ ?

ओलीजी, जुन चुनावी ‘जित’को तपाईले प्रचार–युद्घ चलाइरहनुभएको छ र जुन कांग्रेसको ‘हार’को तपाई उत्सव मनाइरहनुभएको छ, त्यसका लागि पनि तपाई कांग्रेसकै ऋणी हुनुहुन्छ । सम्झनोस् त, प्रधानमन्त्रीका रूपमा यो चुनाव तपाईको कार्यसूचीमै थिएन । संविधान जारी भएपछि कार्यान्वयनमा लाने पहिलो मौका तपाईले नै पाउनुभएको थियो । तर तपाईले नेतृत्व गरेको सरकार आफैं राष्ट्रिय एकता र सद्भावको बाधक प्रमाणित भइसकेको थियो । राष्ट्रका समस्या सल्टाउन तपाईको सरकारसँग न नीति थियो, न त दृष्टिकोण, न इच्छाशक्ति । प्रधानमन्त्रीको प्रथम दायित्व राष्ट्रिय एकताको सुदृढीकरण हो । तर तपाई प्रधानमन्त्रीकै कुर्सीमा बसेर साम्प्रदायिक ध्रुवीकरणका सबैभन्दा ठूला प्रतीक बन्नुभएको थियो ।

मधेसको तरंगित मनोविज्ञानमा तपाईका अपमानजनक अभिव्यक्तिले आगोमा घिउ थपिरहेका थिए । धारिला वचनले एउटा समुदायको निरन्तर अपमान गर्नु नै तपाईको कार्यसूची थियो । प्रधानमन्त्री आफंै अविश्वासको प्रतीक भएपछि विश्वासको वातावरण कसरी बन्थ्यो र चुनाव हुन्थ्यो ? माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसले यो सरकार गठन नगरेको भए चुनाव नै हुने थिएन । पहिलो पार्टीले तेस्रो पार्टीलाई सरकारको नेतृत्व दिएर भए पनि चुनावको वातावरण बनायो । के यो कांग्रेसको कमजोरी हो ?

अब एकपटक स्थानीय तहकै परिणाममा जाऔं । के यो परिणाममा एमाले दिग्विजयी र कांग्रेस पत्तासाफ भएको हो ? हो, कांग्रेस र एमालेबीच करिब २५ सिटको अन्तर छ । तर यो २५ सिटका पछाडि एमालेको उभार होइन, जताततै र जोसुकैसँग एमालेको तालमेलको नीतिले काम गरेको छ । यो निर्वाचनमा एमालेले तालमेल नगरेको कुनै पार्टी छैन । नेमकिपादेखि नयाँ शक्तिसम्म, राप्रपादेखि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासम्म हरेक पार्टीसँग एमालेले तालमेलको नीति लियो । सल्यान जिल्लाका दुई पालिकामा त एमालेले कांग्रेससँगै पनि चुनावी तालमेल गर्‍यो । यसरी विभिन्न पार्टीसँग एमालेले तालमेल गरेका स्थानीय तह ५० भन्दा बढी थिए । अहिलेको परिणामले भन्छ, कांग्रेसले पनि यत्ति नै संख्यामा तालमेल गरेको भए पहिलो चरणको निर्वाचनमै कांग्रेस पहिलो पार्टी हुने निश्चित थियो । त्यसैले यो चुनावमा कांग्रेस जनमतमा होइन, चुनावी रणनीतिमा पछि परेको हो ।

चार महानगरपालिकाकै हकमा पनि भरतपुरमा तालमेल नभएको भए कांग्रेस र एमालेले आधा–आधा ठाउँमा विजय हासिल गर्ने परिणामले देखायो । काठमाडौंमा एमालेले मेयर जित्दा कांग्रेसले उपमेयर जित्यो । त्यसैले सहरहरू पुरै एमालेमय भएको प्रचार सही होइन । निश्चय नै सहरी मध्यम वर्गले यसपटक कांग्रेससँग चित्त दु:खाएको देखियो । आईजीपी, राजदूत प्रकरणदेखि प्रधानन्यायाधीशमाथि महाअभियोगसम्मका घटनाक्रमले कांग्रेसको परम्परागत मतदातालाई उत्तेजित नबनाएको भए राजधानीको परिणाम अर्कै हुने थियो । लोकतन्त्रवादी मत साझा र विवेकशील पार्टीमा विभाजित नभएको भए काठमाडांै महानगरपालिका कांग्रेसको हातबाट जाने थिएन । राजधानीमा एमालेको लहरले होइन, लोकतन्त्रवादीको मत विभाजनले नै यो परिणाम आएको हो ।

ओलीजी, तपाई सुरुदेखि नै नेपाली समाजलाई घृणा र ध्रुवीकरणतिर लगेर चुनावी परिणाम हासिल गर्न चाहनुहुन्थ्यो । मधेस विरोधी उत्तेजक अभियान चलाएर पहाडमा एकलौटी विजय प्राप्त गर्ने तपाईको योजना थियो । मधेस आन्दोलनका मृतकहरू तपाईका लागि झरेका आँप थिए । मधेसको समथर भूमि र विहारको समथर भूमि तपाईका लागि एउटै थिए । तर कांग्रेस त्यसो गर्न सक्दैनथ्यो । जन्मदेखि नै हिमाल, पहाड र तराई जोड्ने राजनीति गरिरहेको कांग्रेसले पहाडी जनताको मत तान्न मधेसको अपमान र मधेसी जनताको मत तान्न पहाडी जनताको अपमान गर्न सक्दैनथ्यो । बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजलाई जोड्न खोज्नु कांग्रेसको कमजोरी होइन, जिम्मेवारी हो । ओलीजी, तपाईले जुन तहको ध्रुवीकरणका लागि अथक प्रयत्न गर्नुभयो र जुन तहको घृणाको राजनीति फैलाउनुभयो, परिणाम त्यस्तो पनि आएन । तपाईले देशमा जुन तहको विभाजन खोज्नुभएको थियो, त्यसमा तपाई असफल हुनुभयो । पहाडको निर्वाचन सकिएपछि अहिले फेरि मधेससँग सहमतिका कुरा गर्न थाल्नुभएको छ, यो चुनावी रणनीति मात्र हो ।

ओलीजी, ‘अझै कहाँ छ, कांग्रेस ?’ भन्ने प्रश्न पनि हास्यास्पद छ । ३० वर्ष लामो पञ्चायतीकालमा कुनै एकदिन पनि विचलित नभई लोकतन्त्रको धुनी जगाएका घरहरू यो देशको हरेक टोलमा छन् । आज केपी ओलीले उपभोग गरेको लोकतन्त्र त्यही धुनीले ल्याएको हो । २००७ सालको जनक्रान्ति, पञ्चायत विरुद्घ ३० वर्ष लामो अथक प्रतिरोध र ०४६ सालको जनआन्दोलन अनि ०६२/६३ सालको अन्तिम आन्दोलनमा नेतृत्व कांग्रेसको थियो, ओलीजीहरू केवल सहयोगी भूमिकामा हुनुहुन्थ्यो । राणाहरूले निमोठ्न नसकेको उल्टै राणाशाही नै पल्टाइदिएको, राजाहरूले हराउन नसकेको उल्टै राजतन्त्रनै ढालिदिएको नेपाली कांग्रेसका लागि केपी ओलीको प्रमाणपत्र जरुरी छैन । २०३६ सालको जनमत संग्रहमा यही लोकतन्त्रलाई बुर्जुवा बहुदल घोषणा गरेर पञ्चायतलाई सघाएका तपाईहरू, अझ तपाई त बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्र ल्याउन असम्भव देख्नुहुन्थ्यो, आज नेपाली कांग्रेसकै त्यागको कारण लोकतन्त्रको उपयोग गरिरहनुभएको छ । हामी त्यसमा रिस गर्दैनौं, बरु गौरव गर्छौं । ओलीजी, के यो कांग्रेस कमजोर भएको लक्षण हो ? यो स्थानीय तहको निर्वाचन के तपाईहरूको लेनिनवादको विजय हो ?

एमालेमा पछिल्ला समयमा एकलौटी वर्चस्वले ओलीको मनोबल बढाउनु स्वाभाविक हो । हावादारी सपनाले केही बेर जनतालाई अलमल्याउनु पनि अस्वाभाविक होइन । तर देश उखान–टुक्काले अघि बढ्दैन । नेपाली राजनीतिमा ओलीले असहिष्णुता र गालीगलौजको नयाँ अध्याय सुरु गर्नुभएको छ । लोकतन्त्र संस्थागत गर्न राजनीतिक दलहरूबीच आपसी विश्वास र सहकार्य बढाउनुपर्ने बेला उत्तेजना र धु्रवीकरण रोज्नुभएको छ । संविधानको भावना सहमतिका आधारमा बढ्नुपर्ने देखिन्छ । तर तपाई दूरी बढाउन कम्मर कसेर लाग्नुभएको छ । उहाँका लागि देशभन्दा ठूलो चुनावी परिणाम भएको छ । तर कांग्रेस त्यसो गर्न सक्दैन । के यो कांग्रेसको लाचारी हो ?

ओलीजी, चुनावको मुखैमा तपाईले मदन भण्डारीसम्मको प्रयोग गर्नुभयो । यी लोकप्रिय राजनेताको रहस्यमय मृत्यु सम्बन्धमा छानबिन पक्कै हुनुपर्छ । तर झन्डै २५ वर्षपछि यस्तो प्रयोगको के तुक छ ? तपाई ०५१ सालको अल्पमत सरकारमै गृहमन्त्री हुनुहुन्थ्यो, त्यतिखेर के गर्नुभयो ? तपाईकै पार्टीका माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भए र तपाई आफैले नौ महिना सरकार चलाउनुभयो । त्यो बेला छानबिनका लागि कुन शक्तिले कहाँ रोक्यो ? राजनीतिक फाइदाका लागि जति पनि गिर्न तयार हुने यो संस्कृतिले देशलाई कहाँ पुर्‍याउँछ ?

ओलीजी, तपाईलाई नेपाली कांग्रेस कसरी प्रतिस्पर्धी भयो ? भन्ने आश्चर्य लागेछ । तर कांग्रेस कहिल्यै तपाईसँग प्रतिस्पर्धा गरिरहेको छैन, बरु तपाईको पार्टी कांग्रेससँग प्रतिस्पर्धाको प्रयासमा छ । गणेशमान सिंह स्वयम्ले विद्रोहको झण्डा उठाएपछि ०५१ सालको मध्यावधि निर्वाचनमा बाहेक कुनै संसदीय चुनावमा एमालेले कांग्रेसलाई उछिनेको छैन । तथ्यभन्दा परको कल्पनाले केही समय आत्मसन्तोष त मिल्छ, तर त्यस्तो आत्मसन्तोष क्षणिक हुन्छ ।

निश्चय नै कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने थुप्रै विषय छन् । कांग्रेस केवल पार्टी होइन, आन्दोलन हो । यो आन्दोलनसँग लोकतन्त्रका मूल्य र मान्यता गाँसिएका छन् । आईजीपीदेखि महाअभियोग प्रकरणसम्म पुग्दा कांग्रेसले देखाएको विचलनले सहरी मध्यम वर्गलाई विचलित तुल्यायो । कठिन परिस्थितिमा पनि लोकतन्त्रका निम्ति लडेको पार्टी निर्वाचनमा विजय संख्या वृद्विका लागि तालमेल गर्न पुग्यो । त्यसमा पनि समर्थकहरूले चित बुझाएनन् । उम्मेदवार चयनका सन्दर्भमा पनि त्रुटि भएको हुनसक्छ, हामीले समीक्षा गर्न आवश्यक छ ।

ओलीजी, तपाईलाई कांग्रेसको मरणको कथा लेख्न धेरै हतारो भए जस्तो लाग्छ । तर कांग्रेस मरिहाल्ने पार्टी होइन । यो केपी ओलीको होइन, बीपी कोइरालाको पार्टी हो । यो देशमा लोकतन्त्रको दशकौं लामो संघर्षमा हरेक गाउँमा कांग्रेस कार्यकर्ताको रगत पोखिएको छ । कांग्रेस केवल पार्टी होइन, अथक अभियान र आन्दोलन हो । राणा र राजाका बन्दुकहरूले मार्न नसकेको यो पार्टी तपाईका उखान–टुक्काले कसरी मर्ला ? तपाईले नेपाली राजनीतिमा जुन भाषा, जुन शैली र जुन अपमानको संस्कार विकास गर्न खोज्दै हुनुहुन्छ, त्यो विषवृक्ष भएर भोलि तपाईकै पार्टीमा फैलिनेछ । कान्तिपुरबाट

, , , ,