बिसबर्षपछिको चुनाबले जनताको भावना कदर होस्


सतिश चापागाईं
दोस्रो चरणको चुनाबले देश फेरी जुरुक्क उठेको छ | जताततै चुनाबी बहस र छलफल चलेका छन् | चुनाब हुने क्षेत्रका गाउँ टोल र घरघरमा चुनाबी गरमागरमी छ |
कतै एउटा पार्टीको समर्थन र अर्को पार्टीको बिरोध छ | कतै एउटा नेताको समर्थन र अर्को नेताको बिरोध | कतै एउटा उमेद्वारको समर्थन र अर्को उमेद्वारको बिरोध छ | गाउँघरका ससाना कुराहरु पनि सामाजिक संजाल (बिशेषगरी फेसबुक) मा आईरहेका छन् | जसले गर्दा चुनाबी रौनक अझै बढेको छ |

मौन समय शुरु हुनुभन्दा एक दिन अगाडी आफ्नै गाउँमा चुनाबी झडप भएको खबर मिलेको छ | खासै केहि लेख्न मन थिएन तर ठाउं ठाउंका लडाई झगडाका समाचार देख्दा केहि लेख्न मन लाग्यो | यो लेख मेरो गाउँका लागी मात्र होइन चुनाब हुने सबै गाउँका लागि हो | बिदेशमा भएपनी गाउँको चुनाबी माहोलले सबैलाई जस्तै मलाई पनि छोपेको छ |  गाउँमा चुनाब लाग्यो भन्दा खुशी लाग्दछ तर अनावाश्यक लडाई र झगडाको कुराले मन खिन्न बनाउदछ | यो अत्यन्त जोखिमपूर्ण समय हो | सबैमा उत्साह र उन्माद अनि जोश र आक्रोश हुन्छ | हार्छु जस्तो कसैलाई लाग्दैन | जताततै आफ्नै पार्टीका मान्छे देखिन्छ र जीतिसकियो जस्तो लाग्दछ | नेता, पार्टी कार्यकर्ता र उमेद्वार मात्र होइन एउटा सामान्य मतदाता पनि जोशमा छ | सबैलाई आफ्नै पार्टी एक नम्बरको राम्रो लाग्दछ | यो स्वाभाविक कुरा हो | मलाई मैले रोजेको पार्टी राम्रो लाग्छ भने अर्कोलाई अर्कोले रोजेको पार्टी राम्रो लाग्दछ | त्यसैले आफ्नो विचार र पार्टीको सुरक्षा गरौँ अर्काको विचार र पार्टीको सम्मान गरौँ | अरुका कुरा सुनौं आफ्ना कुरा सुनाऔं |

चुनाब हुने हरेक क्षेत्रका गाउँ गाउँमा अबका दिनमा सबैको जिम्मेवारी झन् थपिएको छ | यो बेलामा पाका नेता र उमेद्वारहरुले युवा भाईबहिनिहरुलाई लड्ने र भिड्ने काममा नलगाउनु होला | विचार र आदर्श भनेको के हो भन्ने कुराको ज्वलन्त उदाहरण आफै बन्नुहोला | बिसवर्ष पछिको यो निर्वाचनलाइ उत्सव र महोत्सवका रुपमा लिनुहोला | आफ्नो गाउँको निर्वाचन सम्पन्न गर्न बाहिरबाट आएका कर्मचारी र पुलिसले लाईन मिलाउनु पर्ने अवस्था नल्याउनु होला |

गाउँमा भएका नेता, उमेद्वार तथा युवा साथीभाईहरुलाई मेरो एउटा मात्र अनुरोध छ की हामी सबै संयमी बनौं | चुनावमा सबैले मत हाल्ने बाताबरण बनाउनु होला | हिड्न नसक्नेलाई बोकेर लैजानु होला | भोट हाल्न गएकालाई तर्साएर भगाउने काम नगर्नु होला | यो बेला रगत पनि तात्छ तर भोलि पसिना पनि सुक्छ | त्यो बेलामा अहिले गरेको गल्तीले पोल्ने काम नगर्नु होला | सकेसम्म त चर्को पनि नबोल्नु | हतियार लिएर हिड्ने र कसैमाथि हात हाल्ने काम त सोच्दापनि नसोच्नु होला | चुनाब सकिएपछि पनि गाउँ मै बस्नु पर्छ | तपाईले समर्थन गरेको पार्टीले हारेपनि गाउँ छोडेर हिड्नु पर्ने होइन | यही बसेर चुनाब अगाडिका दैनिकीलाई नै निरन्तरता दिने हो | चुनाब जितेपनि भोलिपल्ट देखि नै गाउँ परिबर्तन हुने होइन | यिनै हारेका पार्टीको समर्थनमा नै गाउँको विकास गर्ने हो | उनिहरुको समर्थन पाउन सकिएन भने बिकासका कुरा हावादारी सपना मात्र हुनेछन | त्यसैले भोलि उनिहरुसंग मिलेर काम गर्न सक्ने सम्मको दुरी कायम गर्नु होला |

अहिले पार्टी र नेताका बिरुद्ध नराम्रा कुरा आउछन | धेरै जसो पार्टी र नेताहरु बर्षौंदेखि यहि समाजको पछौटेपनको बिरुद्ध र अधिकार र चेतनाका पक्षमा लडेका हुन् र लडिरहेका छन् | त्यसैले कुनै एउटा पार्टीको नाम लिएर मनपरी गाली गर्नु जिम्मेवार नागरिकको कर्तब्य होइन | कुनै पार्टीका नेताका बिरुद्ध बोलेर हिड्नु पनि ठिक होइन | यिनै नेताहरुका कारण आज हामी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भन्दै हिड्न र बोल्न पाएका छौं | राजनीतिमा १५ महिना नबिताएका मान्छेले पन्ध्र पन्ध्र बर्ष जेलको कालो कोठरीमा यातना खाएको नेताको बारेमा तथानाम बोल्नु सुहाउने कुरा होइन |

 मुख्य कुरा हामी स्थानीय निर्वाचनको महत्व बुझ्ने काम गरौँ | बेकारमा एकआपसमा झगडा ल्याउने काम नगरौं | यो स्थानीय चुनाब हो | त्यसैले पार्टी र ठुला नेताका भन्दा आफ्नै गाउँका उमेदवारका बारेमा बढी सोचौं | हाम्रा अगाडी कुन कुन उमेद्वार छन् | सबै जना चिनेकै मान्छे हुन् | उनीहरुको बिगत हेर्नुस | उसको समाजप्रतिको योगदान हेर्नुस | काम गरेको मान्छे हो की कुरा गर्ने मान्छे हो, मुल्यांकन गर्नुस | पार्टीमा पनि संघर्ष गरेको हो की नेताको गोजीबाट आएको हो हेर्नुस | तपाईले आफ्नो एक भोट दिएर राम्रो मान्छेलाइ जिताउन सक्नुहुन्छ र नराम्रो मान्छेलाई हराउन सक्नु हुन्छ |

काम नगर्ने गफ मात्र गर्नेलाई हराईदिनुस | अरुबेला आफ्नो मात्र दुनो सोझ्याउने र अहिले पदको लागी मात्र उमेद्वार बनेको जस्तो लाग्छ भने हराईदिनुस | कुनै नेताको नजिक भएकै कारण टिकट पाएको उमेद्वार हो भने उसले भोलि काम गर्दैन हराईदिनुस | गाउँमा बस्दैन शहरतिर बस्छ भने हराईदिनुस | पहिले पनि अवसर पाएको हो तर नगरेको हो भने हराईदिनुस अर्कोलाई अवसर दिनुस | पैसाका भरमा राजनीति गर्ने मान्छे हो भने चिन्नुस भोलि जितेपछि फेरी पैसा कमाउने काम मात्र गर्छ यस्तोलाई हराईदिनुस | मनमा समाजसेवाको भावना नभएको नेताले अरुको समस्या बुझ्न सक्दैन यस्तालाई भोट नदिनुस् हराईदिनुस | उसको बिगत हेर्नुस, आफ्नै समय र पैसामा पनि सामान्य काम गरेको मान्छे उमेद्वार छ र उ दुब्लो, नराम्रो, गरिब छ भने पनि भोट दिनुस र जिताउनुस | यो स्थानीय चुनाब हो | गाउँका सामान्य काम गर्न सामान्य जीवनशैली भएको र अर्काको दुखमा पग्लन सक्ने मान्छेको आवश्यकता छ | उसैलाई भोट दिनुस | आफ्नो पार्टीको हो के रे भनेर ढुंगामुढालाई भोट नदिनुस् |

भोट हाल्ने बेलामा सम्झनुस की मेरो एक भोट पार्टीका नाममा र नेताका नाममा होइन बिकासका नाममा हुनेछ भनेर |

र अन्त्यमा,
यो पटकको स्थानिय चुनाबमा धेरै मत बदर भएका छन् | गाउँका युवाहरुले आफ्ना उमेदवारका प्रचार गर्दैगर्दा मतदाताहरुलाई भोट हाल्न पनि सिकाउनु होला | तपाईको गाउँका युवा कती जिम्मेवार र सक्षम छन् भन्ने कुरा कति बढी सदर मत खस्छ त्यसैमा पनि निर्भर हुनेछ |
सबैको मत सदर होस् विकासको चाहना सदर होस्,
बिसबर्षपछिको चुनाबले जनताको भावना कदर होस् |
चुनाबको शुभकामना |

बाल्टिमोर, अमेरिका |

, , , , ,