बाल्यकालमै जेल परेका थिए, रमणबहादुर थापा



जीवन भण्डारी
मुलुकमा सत्याग्रह चल्दै थियो २०४२ सालमा, नेपाली काँग्रेस र लौहपूरुष गणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्र ल्याउन पंचायत विरुद्ध देशव्यापी आन्दोलन भईरहेको थियो । त्यही बेला स्याङजाको एउटा विद्यालयमा एक बालकले सत्यग्रहको पक्षमा विद्रोह गर्दा जेल कोचिनु परेको थियो । तीनै बालक हुन् अहिलेको रामपुर नगरपालिकाको मेयरका उम्मेदबार — रमण थापा । विक्रम संवत् २०२७ सालमा जन्मेका रमणको सानै देखि अन्याय अत्याचार विरुद्ध स्पष्ट वक्ताको परिचय बनेको थियो । गाँउघरमा होस् वा विद्यालयमा उनी आफुलाई लागेको कुरा निर्धक्क राख्ने गर्दथे । स्वतन्त्रता रुचाउने र सहयोगी भावनाका रमणको बालमस्तीष्कमा पंचायती शासकहरुले जनता माथी गरेको शोषण र दमनको अमिट छाप परेको रहेछ, कसैको अह्राई सिकाई विना त्यसका विरुद्धमा उत्रिए उनी ।

स्याङजाको चिन्नेबास स्थीत जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत स्कुले बालक रमणले पंचायती शासन व्यवस्था ठिक छैन, प्रजातन्त्र ल्याउन आन्दोलनमा लागौं भनेर आफ्ना सहपाठी र अग्रज दाजुहरुलाई संगठित गर्दै थिए । एक कान दुइ कान गर्दा गर्दै उनको भूमीगत सक्रियताका बारेमा प्रहरीले थाहा पाउना साथ स्याङजाको जिल्ला कारागारमा एक जना बालविद्रोही थपिए — रमण थापा ।

१५ बर्षे बालविद्रोही रमणलाई कारागारको चिसो सिढीमा केहीदिन थुनेपछि प्रहरीको मनमा सायद आफ्नो छोराको याद आएर हुनसक्छ वा राजनीतिक दवाव परेर हुनसक्छ कुनै शर्त विना प्रहरीले रमणलाई कारागारमुक्त गरिदियो ।

जन्मजात लोकतान्त्रीक विचार धाराका रमण बैचारिक र राजनीतिक रुपमा सानै देखि जति सुस्पष्ट थिए, पढाईमा पनि उत्तिकै प्रखर थिए । विद्यालय तहमा उनी कहिल्यै दोस्रो हुनु परेन । वक्तृत्वकला प्रतियोगिता, बादविवाद प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता लगायतका बौद्धिक अतिरिक्त कृयाकलापहरुमा सधै पुरस्कृत हुने रमण खेलकुँदमा झनै खरो खेलाडी थिए ।
शिक्षक सेवा आयोगको परिक्षामा स्याङजा जिल्लामै सवै भन्दा धेरै अंक ल्याएर एक नम्बरमा नाम निकाल्न सफल रमणले शिक्षण पेशा भने धेरै समय अँगाल्न सकेनन् । उनले झण्डै चार बर्ष सरकारी शिक्षकको रुपमा विद्या बाँडेपनि पेशाबाट सन्तुष्ट हुन भने सकेनन्।

सरकारी शिक्षक हुँदा खुल्ला सामाजिक तथा राजनीतिक गतिविधि गर्न नपाएपछि पिंजडाको सुगा जस्तो अनुभूती गरेका रमण हुँदा खाँदाको आकर्षक सरकारी जागिर छाडेर सामाजिक सेवा तर्फ होमिए । त्यति बेला देखिको लगातारको सामाजिक सेवा र क्रियाशिलताकै प्रतिफलमा आज सवैको सहयोगी, सेवक र विकास अभियान्ता रमण भन्ने परिचय बनेको छ उनको ।
उनी सामान्यतया जति सरल, दयालु र नरम देखिन्छन्, परेको बेलामा उत्तिकै कठोर र सहासी पनि छन् । उनको सहासको रामपुरमा बेलाबेलामा चर्चा भईरहन्छ । रामपुरको सृजनसिल युवा क्लवको अध्यक्ष भएको बेला २०५९ सालमा सामाजिक कामका लागि देउसीभैलो खेलेर संकलन गरेको रकम माओबादीले लुटेर लगेपछि उनले उनीहरुबाट त्यो रकम फिर्ता गराउन सफल भएका थिए । “बरु मेरो छातीमा गोली हान, तर म त्यो क्लवको रकम फिर्ता गराई छाड्छु” भन्ने अठोटका साथ उनले माओवादीले लुटेर लगेको रकम खोसेका थिए । माओवादीले जे गरेपनि डराई डराई सहनु पर्ने बेलामा पनि उनले माओवादीबाट भिडेर रकम खोसेर फिर्ता गराउन अकल्पनीय सहासीक काम गरेका थिए ।

हामीले गाँउघरमा देखेका नेताहरु सामान्यतया दुई थरीका हुन्छन् । ती मध्ये एक थरी जहिले पनि पद खोज्छन्, पद पाएपछि मात्रै काम गर्छु भन्छन् । तर पद पाएपछि पनि काम गर्न सक्दैनन वा गर्दैनन् । अर्थात पदलाई प्राथमिकता दिन्छन ।
तर अर्काथरी अगुवाहरु यस्ता हुन्छन् जस्लाई कहिल्यै पनि पद प्राथमिकतामा पर्दैन । उनीहरु आफ्नो अत्मसन्तुष्टी र मन शान्तिका लागि घर दैलोमै पुगेर सकेको जानेको सहयोग र सेवा गरिरहेका हुन्छन, त्यस्तै मध्येका हुन रमण ।

आफ्ना गाँउलेहरुलाई सहयोग गर्न उनले कहिलै पद खोजेनन्, कहिल्यै झन्झट र अल्छी मानेनन् । पुर्वी पाल्पाका अधिकांश सामाजिक संघसंस्था र बाटोघाटोमा उनको श्रम र पसिना परेको छ । हरेकका घरदैलोमा पुगेका छन्, हजुरवा हजुरआमा देखि नातीनातिना सम्मको सन्चोविसन्चो सोधीखोजी गर्छन् रमण थापा ।

बाटो घाटो, पुलपुलेसा, मठमन्दीर, खेलकुद, कलासंस्कृति, शिक्षा जुनसुकै क्षेत्रमा काम गर्न खोज्ने जुनसुकै उपभोक्ता समुह, आमा समुह, युवा क्लव, विद्यालय लगायतका जुनसुकै सामाजिक संस्थालाई उनको साथ रहन्छ । आफुसँग जे छ त्यही दिएर सहयोग गर्छन् । युवालाई भलिबल, विद्यार्थीलाई छात्रबृत्ति देखि बाटो बनाउन डोजर सम्म पठाईदिन्छन् उनीहरुलाई । उनले दलित तथा जनजातीका छोराछोरीलाई गाँउ गाँउमा गएर कितावकापी र छात्रबृत्ति मात्रै दिएका छैनन् केहीलाई त काठमाडौमा समेत पढ्ने व्यवस्था गरिदिएका छन् । कैयौ गरिव विरामीहरुलाई औषधी र अस्पतालको खर्च तिरिदिएका छन् । अपांगता भएकाहरुकाहरुलाई सहयोग गरेका छन् ।

यसरी तन र मनले सहयोग र साथ दिएर उनीसँग प्रतिश्पर्धा गर्न सक्ने संभवत ः पुर्वी पाल्पामा कोही छैन् । परेको ठाँउमा धनले समेत सहयोग गर्न पछि परेका छैनन् उनी । त्यसैले त रमण भनेर नचिन्ने सायदै छैनन् होला पुर्वी पाल्पामा । सामाजिक क्षेत्रबाट जनताको सहयोग र सेवा गरिरहेका रमणको राजनीतिक सक्रियता झनै कम छैन् । अन्य दलका उम्मेदबारहरु यीनका अगाडी धेरै पछाडी देखिन्छन्, अपरिचित र भर्खरै मात्रै उदायका जस्ता लाग्छन् ।

अन्य पार्टीका नेताहरुको दाँजोमा मात्रै नभई काँग्रेस भित्र पनि उनी निकै लोकप्रिय राजनीतिक अगुवा हुन् । काँग्रेसको पछिल्लो ७२ अधिवेशनमा उनी सवै भन्दा धेरै मत ल्याएर महासमिति सदस्यमा निर्वाचित भएका छन् । काँग्रेस भित्र महासमिति सदस्यको निकै ठुलो भूमीका हुने भएकाले अधिकांश नेताहरु महासमिति सदस्य बन्न चाहन्छन् र प्रतिश्पर्धामा उत्रिन्छन्, त्यही प्रतिश्पर्धामा उनी सवैको रोजाईमा परेका नेता हुन् ।

 यसरी राजनीतिक तथा सामाजिक क्षेत्रमा रुचाईएका, गाँउलेहरुको सहयोग र सेवाका लागि निरन्तर क्रियाशिल, निःस्वार्थ भावनाका, कुनै धनसम्पत्तीको लोभ नभएका, तपाई हाम्रा सेवक, विकास अभियान्ता रमन थापालाई जिम्मेबारी दिईयो भने मात्रै रामपुर नगरले तत्काल मुहार फेर्न सक्ने देखिन्छ । नत्र पछुताउनु शिवाय केही हुने छैन । अर्को पाँच बर्ष कुर्नु पर्दा हामी धेरै पछाडी परिसकेका हुन्छौं । त्यसैले पार्टी भन्दा माथी उठेर विगतमा कुन उम्मेदबारले के कति काम गरेको छ, के कती सहयोग गरेको छ भन्ने तुलना गरेर उम्मेदबार रोजौं र त्यसैलाई आफ्नो मत दिऔं । त्यसमैमा रामपुर नगरको भलाई हुनेछ ।

, , ,