किन पछि पर्छन रामचन्द्र पौडेलहरु नेपाली राजनीतिमा -सुभाष घिमिरे




समसामयिक नेपाली राजनीतिमा एउटा उदेकलाग्दो परिदृश्य दोहोरिरहन्छ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राज्य सत्ता र पार्टी नेतृत्वको संभावनाको अत्यन्त नजीक पुगेर पनि त्यो अवसरबाट सधैँ वन्चित हुन्छन्। नेपालको राजनीतिको अग्रपंक्तिमा देखिने सबै पार्टीका शीर्षस्थ नेताहरूभन्दा आफूलाई सिनियर दावी गर्ने उनी एकपटक पनि प्रधानमन्त्री बन्न नसक्दा अन्य सबै नेताहरू प्रधानमन्त्री बनिसकेका छन्।

एक पटक आफैले पार्टीको संसदीय दलको नेतामा पराजित गरेका देउवा चार पटक मुलुकको प्रधानमन्त्री बनिसक्दा रामचन्द्र पौडेलको एक पटक पनि प्रधानमन्त्री बन्ने साइत जुर्न सकेको छैन। आश्चर्यको कुरा त के छ भने प्रधानमन्त्री निर्वाचित गर्ने एउटै प्रक्रियामा १७ औँ पटकसम्म र कैयौँपटक त एक्लै उम्मेदवार बन्दा पनि विजयी भएको परिणाम नआउने त्रुटिपूर्ण निर्वाचन प्रक्रियामा पार्टीको तर्फबाट सर्वसम्मत उम्मेदवार बनाइएका उनलाई पार्टीले सहजै सरकारको नेतृत्व गर्न पाउने बेलामा कहिल्यै अघि सारिदैन। तत्कालीन पार्टी सभापति स्व. सुशील कोइरालाको देहावसान पछि १३ औँ महाधिवेशन ताका छोटो अवधि कार्यवाहक सभापति बन्नुबाहेक पार्टीको नेतृत्वमा पनि उनी पुग्न सकेका छैनन्। आखिर किन यस्तो हुन्छ र भइरहन्छ? किन पछि पर्छन् रामचन्द्र पौडेलहरू नेपाली राजनीतिमा?

रामचन्द्र पौडेल भन्नासाथ नेपाली राजनीति बुझ्ने सबै सामु एउटा छवि आउँछ, त्यो हो -एउटा ग्रामीण परिवेशमा हुर्केको, एकनिष्ठ, संघर्षशील, अध्ययनशील, सदाचारीको छवि। उनलाई गाली गर्नेहरुसँग पनि उनका बारेमा ख़ास नकारात्मक विषय छैनन्। पौडेललाई कमाउन नसकेको, कार्यकर्तालाई स्रोत र साधन बाँड्न नसक्ने नेताका रुपमा टिप्पणी गरिन्छ। राज्यको ढुकुटी लुटेर आफू खाने र आफ्नालाई बाँड्ने क्षमता नै नेता हुनुको पहिलो योग्यता बनेको नेपालमा पौडेल सधै सिद्दान्त, आदर्श र नीति नियमका कुरा गर्छन्।

प्रश्न उठ्छ के अझै नेपाली राजनीति रामचन्द्र पौडेलहरूबाट निर्देशित हुन  तयार नभइसकेको हो? होइन भने बौद्धिकता, चिन्तन र मननको खडेरी परेको नेपाली राजनीतिमा वीपी कोइरालाको लोकतान्त्रिक समाजवादका व्याख्याता, बौद्धिक व्यक्तित्व भनेर चिनिने "प्रजातान्त्रिक समाजवाद: एक अध्ययन," "नेपाली काँग्रेस के भन्छ?," "नयाँ सन्दर्भमा समाजवाद" जस्ता गहन पुस्तकका रचनाकार र आफ्नो जीवनको युवावयका सर्वाधिक महत्वपूर्ण पन्ध्र वर्षभन्दा बढी आस्थाको बन्दी भई जेलमा बिताएर त्यागको प्रतिमूर्ति बनेका रामचन्द्र पौडेल राजनीतिमा किन सधैँ पछाडि पर्छन्?  यो प्रश्नको जवाफमा नै राजनीतिप्रति आम नेपाली जनतामा देखिएको वितृष्णा र अनास्थाको मूल कारण लुकेको छ।

तनहुँ जिल्लाको विकट सतिस्वरा गाउँमा वि. सं २००१ सालमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका ७३ वर्षीय पौडेलले जेलमा बन्दी रहेकै अवस्थामा त्रिभुवन विश्व विद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए भने त्यस अघि नै संस्कृत साहित्यमा शास्त्री गरिसकेका थिए। स्वतन्त्रता र लोकतन्त्रलाई जनताका सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक जीवनको अभिन्न शर्त मान्ने पौडेल अधिकांश जनता न्यूनतम आधारभूत आवश्यकताबाट समेत वन्चित रहेको हाम्रो जस्तो मुलुकमा राज्यले उचित प्रविधिको प्रयोगद्वारा साना औधोगिक अवसरहरू सिर्जना गरी गाउँ गाउँमा रोजगारीका अवसर उपलब्ध गराउन सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ भन्ने ठान्दछन्। लोकतान्त्रिक सरकारले मात्र सबै धर्म, जात, भाषा र आस्थाका जनतालाई विना भेदभाव त्यस्ता अवसरहरू उपलब्ध गराउन सक्छ भन्ने पौडेलको मान्यता छ। आर्थिक उन्नतिद्वारा मात्र जनताले लोकतन्त्रको फल साँचो अर्थमा चाख्न पाउँछन् भन्ने विचारका उनी मुलुकको आर्थिक विकासमा नीजि क्षेत्रलाई प्रोत्साहन दिंदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र भौतिक पूर्वाधारको क्षेत्रमा सरकारले महत्वपूर्ण भूमिका निभाउनुपर्छ भन्ने धारणा राख्दछन्।साँचो अर्थको विकेन्द्रीकरणको माध्यमबाट मात्र जनताको शक्ति अभिवृद्दि गर्न सकिन्छ भन्ने पौडेलको विचारमा सरकार भनेको नै वास्तवमा स्थानीय स्वायत्त सरकार हो जसको माध्यमद्वारा एउटा आम व्यक्ति सक्रियतापूर्वक आफ्नो ठाउँको विकास निर्माणमा सहभागी हुन सकोस्। यसका लागि स्थानीय स्तरमा सोही अनुरुपको राजनैतिक, आर्थिक र प्रशासनिक संरचना निर्माणको आवश्यकतामा उनी जोड दिन्छन्।

मुलुकका चुनौतीपूर्ण गंभीर समस्याहरू समाधान गर्न गरिने अन्तरपार्टी वार्तालापमा वार्ता गर्न नेपाली काँग्रेसको तर्फबाट रामचन्द्र पौडेललाई आधिकारिक जिम्मेवारी दिने अभ्यास स्व. गिरिजाप्रसाद कोइरालाले नै शुरू गरेका थिए। मधेसी, आदिवासी, जनजाति लगायत अन्य विभिन्न समुदायहरूसँगको सम्झौतामा सरकार र पार्टीको तर्फबाट उनैले हस्ताक्षर गरेका छन्। काँग्रेस आफ्नो कमजोरी बताउने उनको पार्टीभित्र सदैव समन्वयकारी भूमिका हुने गरेको छ। आफू जोखिममा परेरपनि पार्टी र लोकतन्त्रलाई कहिल्यै जोखिममा पर्न नदिने स्वभावका उनले सांसद, गृह लगायत विभिन्न मन्त्रालयको मन्त्री, उप प्रधानमन्त्री र सभामुख हुँदा समेत भ्रष्टाचारबाट पूर्ण रुपले मुक्त, निष्कलंक छवि बनाएका छन्। पौडेलले देशी, विदेशी सबै शक्ति केन्द्रसँग मर्यादापूर्ण र सम्मानजनक दुरी कायम राखेर आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न उनी कसैसँग पनि नाजायज सम्झौता गर्दैनन् भन्ने पनि सिद्द गरेका छन्। रामचन्द्र पौडेलको जीवनशैली, प्रवृति र आचरणले नेपाली समाजको एउटा युगको सच्चरित्रको प्रतिनिधित्व गर्दछ जसको संरक्षण नेपाली समाजको चारित्रिक सुरक्षा र सुधारको एक मात्र विकल्प हो।

जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई अपदस्थ गरी लोकतन्त्रको मुना निमोठ्ने राजा महेन्द्रको तानाशाही कदमबाट क्षुब्ध भई विद्रोहको ज्वाला हृदयमा बोकेर राजनीतिमा प्रवेश गरेका पौडेलले त्यसपछि कहिल्यै विश्राम लिएनन्। हरेक नेपालीको एउटा घर होस्, घरमा एउटा दुहुनो गाई र एक हल गोरु होऊन् र सबैले औषधोपचार गर्न र छोराछोरीलाई शिक्षा दिन सकून् भनेर आफू राजनीतिमा लागेको भन्ने वीपी कोइरालाका अनुयायी पौडेल गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै सेवा र सुविधा पुर्याएर बसौँ बसौँ बनाउन आफू राजनीतिमा लागेको बताउँछन्। राजनीतिमा स्खलित हुँदै गइरहेको मर्यादा, मूल्य र मान्यताले उनी सबैभन्दा बढी चिन्तित देखिन्छन्। पैसा र शक्तिले विकृत बन्दै गइरहेको राजनीतिलाई शुद्ध बनाएर त्यसमा कसरी असल व्यक्तिहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने चिन्ता छ उनको। आफू राजनीतिलाई सम्मानित क्षेत्र बनाउने अभियानमा केन्द्रित रहेको र काँग्रेसलाई सामान्य उपचारले निको नहुने र शल्यक्रिया नै गर्नुपर्ने रोग लागेको बताउने पौडेलले हालसालै सचेत जनताले काँग्रेसको विकल्प खोज्न थालेको प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। आफूलाई पार्टीभित्रको डेमोक्रेटिक अल्टरनेटिभ नेतृत्व भन्न रुचाउने उनी काँग्रेसको विकल्प काँग्रेसभित्रै खोजिनुपर्छ भन्छन्। नेपाली काँग्रेसलाई लोकतान्त्रिक आचरण र पद्धतिमा हिंडाएर पार्टी संगठनमा गतिशीलता पैदा गरी कसरी कार्यकर्तामा उत्साह संचार गर्ने र कसरी जनतामा पार्टीप्रति आशा र भरोसा जगाउने भन्ने चिन्ताले पछिल्लो समय उनी बढी चिन्तित देखिन्छन्। त्यस्तै पार्टीभित्रको कार्य संचालन, सरकार संचालन, पार्टीका विभिन्न निकाय गठनका आधार, मापदण्ड र मान्यताका साथै पार्टी हिंड्ने विधि, पद्धति र आचरणका संबन्धमा स्पष्ट र सही मार्ग अवलम्वन गर्नुपर्ने आवश्यकतामा उनी जोड दिन्छन्।

उनीसँग समसामयिक राजनीतिमा अपनाइने छलकपट र चातुर्य नहुनु र आन्तरिक पार्टी संघर्षमा गुटबन्दीलाई प्रश्रय नदिनु उनी कमजोर हुनुका प्रमुख कारण मानिन्छ। के छिट्टै राजनैतिक विसंगतिबाट मुक्त नेपाल र यसको नेतृत्व चरित्रवान, इमान्दार र योग्य पौडेल जस्तै नेताबाट हुने आशा गर्न सकिएला ?

चितवन
हाल अमेरिका

, , , ,