के प्रवासी काँग्रेसीहरूले मनन गर्लान् ?



सुभाष घिमिरे

वीस वर्षपछि पहिलोपटक नेपाली जनताले स्थानीय स्तरमा मतदानद्वारा आफ्ना प्रतिनिधिहरू चुन्ने अवसर पाउँदैछन्। आवधिक निर्वाचन लोकतन्त्रको मूल आधार हो भने स्थानीय निकाय यसका आधार स्तम्भ हुन्। आफ्नो स्थापनाकालदेखि नै जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि लोकतन्त्रप्रति अविचलित निष्ठाका साथ उभिएको नेपाली काँग्रेसको लागि स्थानीय तहमा निर्वाचन भएर लोकतन्त्रको जरा मुलुकको कुनाकुनामा फैलनु अत्यन्त महत्वपूर्ण विषय हो।

यो विषय नेपाली काँग्रेस र लोकतन्त्रसँग जति सम्बन्धित छ, विभिन्न कारणले मुलुक बाहिर विदेशमा रहेका नेपाली काँग्रेस सम्बद्ध कार्यकर्ताहरुसँग पनि त्यति नै सम्बन्धित छ। पंचायत फाल्नेदेखि राजतन्त्र हटाउनेसम्मका आन्दोलनमा सक्रिय लाखौं काँग्रेसी नेता तथा कार्यकर्ताहरु आज अमेरिका, अष्ट्रेलिया, क्यानडाका साथै यूरोप, अफ्रिका र खाडीका विभिन्न  देशमा पुगेका छन्। जहाँ भएपनि देशमा सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा सबैको रुची र चासो उत्ति नै छ। यस्तो अवस्थामा आस्थाको धरोहर आफ्नो पार्टीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने प्रश्न अहं र पेचिलो बनेर सबैका सामुन्ने खडा छ।

वर्तमानमा नेपाली काँग्रेसको वास्तविक शक्ति न त नेतृत्वको तेज वा प्रभावबाट उत्पन्न शक्ति हो न त पार्टीले सत्तारोहण गरेर सिंहदरबारबाट प्राप्त गर्ने ताकत र हैसियतबाट प्राप्त हुने शक्ति नै हो। नेपाली काँग्रेसको वास्तविक शक्ति त दुरदराजका आम जनताको पार्टीप्रतिको निशर्त समर्पणको शक्ति हो, जो आफ्ना लागि कहिल्यै केही अपेक्षा नै नराखी नेपाली काँग्रेसका लागि खाई नखाई निस्वार्थ मरिमेट्छन्। काँग्रेसलाई गाली गर्दा तिनको चित्त कुँडिन्छ; काँग्रेस ओरालो लाग्दा उनीहरू मुर्झाउँछन्। तिनै आम जनताको स्थानीय सरकार निर्माणको लागि संपन्न हुन लागिरहेको कारण पनि नेपाली काँग्रेसका लागि आगामी स्थानीय तहको निर्वाचनको महत्व बेग्लै छ।

दशकौँ अघि जननायक वीपी कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग र टेवा पुगोस् भन्ने उद्देश्यले भारतमा गठन गर्नुभएको नेपाली जनसम्पर्क समिति अहिले संसारको कुनाकुनामा फैलिएको छ। नेपाली काँग्रेसलाई विदेशमा प्रतिनिधित्व गर्ने यो संस्था साधनश्रोत सम्पन्न र संख्यात्मक हिसाबले सशक्त हुँदाहुँदै पनि विविध कारणले यसले अपेक्षाकृत आफ्नो उपस्थिति देखाउन सकेको छैन। आफ्नो शक्तिसँग बेखबर यो संस्थाको अवस्था आफ्नै नाभीमा भएको बिन खोज्न वन वन भौतारिएको कस्तूरीको जस्तो भएको छ। मानवीय प्रवृतिले निम्त्याउने आपसी द्वन्दबाट अछुतो नभएको मात्र होइन, यो यदाकदा विवादको गंभीर भुमरीमा समेत फस्ने गरेको छ। एक जीवन्त र लोकतान्त्रिक संस्थामा मतमतान्तर र वादविवाद हुनु अनौठो कुरा नभएपनि यस्ता विवादले संस्थाको छविमा आघात नपरोस् भन्ने कुरामा सबैजना सचेत भने हुनैपर्दछ। आफ्ना हरेक विवाद र मतमतान्तरलाई थाती राखेर आसन्न निर्वाचनमा प्रत्येकले आ-आफ्नो ठाउँबाट सहयोग गर्नु सबैको दायित्व र कर्तव्य हो।

विभिन्न कारणले विदेशिएका नेपाली जनसम्पर्क समितिका कार्यकर्ताहरू  नेपालमा नै भएको भए अहिले स्थानीय तहका विभिन्न महत्वपूर्ण पदका दाबेदार हुने थिए। आपसी गफगाफमा आफ्नो गुमेको अवसर र अजमाउन नपाएको भाग्यको बारेमा ती खुलेरै चर्चा गर्छन्। तर समयको माग बेग्लै छ। जीवन मरणको संघर्षमा सँगै लडाइँ लडेका सहयोद्दाहरू स्थानीय तहमा लोकतन्त्र र विकासको जग बसाल्ने अभियानको नेतृत्व गर्न मैदानमा जाँदैछन्। तिनको जीत सुनिश्चित गर्न आफूले सकेको योगदान गर्नु नेपाली जनसम्पर्क समितिसँग आबद्द सबैको कर्तव्य हो। आ-आफ्ना टोलटोलको निर्वाचनमा सहयोग गरेर पार्टीको पहुँच आम जनतासम्म पुर्याउने अभियानमा हातेमालो गर्ने बेला हो यो।

इतिहासको यो संगीन मोडमा संपूर्ण देशमा रहेका जनसम्पर्क समितिले स्थानीय निर्वाचनलाई कांग्रेसको पोल्टामा पार्न मन, वचन र कर्मले अभियान संचालन गर्नुपर्ने  बेला भइसकेको छ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ भने उक्त समितिले पार्टीका सबै तहमा समितिहरू गठन गर्ने घोषणा गरिसकेको छ। यसरी सिंगो पार्टी निर्वाचनको मैदानमा उत्रेको बेला प्रवासमा रहेका सबै काँग्रेसीजनले आफू सम्बद्ध स्थानीय क्षेत्रको निर्वाचन अभियानलाई यथासक्य सहयोग गर्नुको विकल्प छैन। समय घर्केपछि गरिने पीडाबोध वा आत्मालोचनाको कुनै अर्थ छैन। यो आफूले छाडेर आएको माटोमा काँग्रेसको झण्डा फहराउन केही गर्नैपर्ने बेला हो भने चुनावी रणनीति तय गर्न र त्यसलाई भरथेग गर्न आवश्यक पर्ने अर्थ जुटाउन सहयोग गर्ने समय पनि हो।

यस अत्यावश्यक कार्यमा हरेक देशका जनसम्पर्क समितिले आफ्ना संगठित सदस्य र सुशुप्त बसेका पुराना काँग्रेसी कार्यकर्ताबाट सोचेभन्दा बढी सहयोग संकलन गर्न सक्दछन्। यो एकले अर्काको मुख ताक्ने भन्दापनि हरेकले हरेकलाई जगाउने बेला हो, तताउने बेला हो।

के प्रवासी काँग्रेसीहरूले जिम्मेवारीबोधका साथ यो कुरा मनन गर्लान्?


(लेखक नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्याण्ड च्याप्टरका निवर्तमान सभापति हुन् |)

, , , ,