‘पहिला सोच परिवर्तन गरौँ’-धुर्मुस


प्रेम गाैतम, काठमाडौँ


सोच परिवर्तन गरौँ

मानिसको सोचाइ नै कमजोर छ । नेपाली समाज बहकिने खालको छ । कुनै घरमा चोर छि¥यो, चोर आयो भनेर चिच्याउँछन् । चोर लखेट्न सबै कुद्छन् । समाउँछन् र कुट्छन् पनि । तर, चोरले अनेक पीडा दर्शाएपछि तत्कालै कन्भिन्स हुन्छौँ– बिचरा उसको गाह्रो रहेछ, त्यही भएर चोर्न आएछ । आखिर चोर त चोर नै हो नि । त्यसकारण सबैभन्दा पहिला सोच नै परिवर्तन हुन जरुरी छ । सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने असम्भव केही पनि छैन । हामी पनि त्यही समाजका मानिस हौँ । त्यही समाजमा गएर बस्ती बनाएका हौँ । हामीले सोच परिवर्तन गर्न खोज्यौँ ।

समाजसेवा युवावस्थामै

देशभित्रै काम गर्नुपर्छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश नेपालमै सबै चिज सम्भव छ । राजनीतिक अस्थिरता भएको कारणले मात्र हाम्रोमा बिग्रेको हो । यदि राजनीतिक स्थिरता हुने हो भने यही नै अमेरिका हो, युरोप हो, अरब हो । सबथोक यहीँ छ । सबथोक भएको देशमै भविष्य खोज्नुपर्छ । सुरुवात युवावस्थाबाटै गर्नुपर्छ । विडम्बना ! हाम्रो समाजमा केस पाकिसकेपछि, जागिरबाट अवकाशप्राप्त भइसकेपछि समाजसेवी बन्ने वा राजनीतिमा आउने चलन छ । केस पाकिन्जेल कुर्ने हो भने त्यसवेलासम्म एउटा न एउटा रोगले च्यापिसकेको हुन्छ । त्यस्तो व्यक्तिले समाज, राष्ट्रका लागि काम गर्छ कि आफ्नै लागि ? त्यो लेवलमा पुगिसकेपछि फेरि स्वदेशको उपचारले पनि छुँदैन । बाहिरै जानुप¥यो । संस्कारै त्यस्तो बसेको छ । त्यस्तो संस्कारलाई हामी युवाले परिवर्तन गर्नुपर्छ । समाजसेवा गर्न किन केसै पकाउनुप¥यो ? राजनीति गर्न किन पेन्सनै पकाउनुप¥यो ? युवावस्थामै विचार, भिजन हुन्छ, प्रविधि बुझेको हुन्छ । काम गर्ने इच्छाशक्ति पनि हुन्छ । रोगले पनि भेटेको हुँदैन । ऊर्जाशील अवस्थामा काम गर्दा असम्भव भन्ने केही पनि हुँदैन ।

विदेश जानु बाध्यता

विदेश जानु नेपाली युवाको बाध्यता हो । राजनीतिक अस्थिरताको कारण देशभित्र भविष्य नदेखेर उनीहरू विदेश गएका हुन् । तर, युवामा कतिखेर नेपाल फर्कौँ र देशमा सेवा गरौँ भन्ने भावना छ । म जतिवटा देशमा पुगेँ । त्यहाँ बुझ्दा नेपालीको देशप्रेम ज्यादा पाएँ । विदेशी भूमिका बसौँ भन्ने कसैको पनि सोचाइ छैन । विदेशमा रहेका युवा स्वदेशमा फर्केर आफ्नो सीप र क्षमता प्रयोग गर्न चाहन्छन् । सबै मातृभूमिप्रति चिन्तित छन् ।

समाज एकीकरण गर्न सकियो भने त्यो सबैभन्दा ठूलो विकास हो । सबैतिर विभिन्न राजनीतिक दलहरू छन् । मानिस कतै न कतै आस्था भएकै हुन्छ । व्यक्ति त्यही सेरोफेरोमा हुर्केको, बढेको हुन्छ । विकासको कुरा आयो भने त्यसलाई कसरी भागबन्डा लगाउने, फाइदा–बेफाइदाभन्दा पनि स्वार्थ नै भागबन्डामा जोडिएको हुन्थ्यो ।
आमयुवालाई सुझाब

विदेशी भूमिका रहेका युवाले आफ्नै भूमिमा भविष्य खोजौँ । विदेशको सिस्टम, विकास देख्नुभएको छ । त्यो विकासलाई नेपालमा लागू गर्ने हिसाबले सम्भव भएसम्म आफ्नै मातृभूमिमा आऔँ । स्वदेशमा रहेका युवा एकीकृत हुन आवश्यक छ । नेपालमा धुर्मुस–सुन्तली मात्रै युवा छैनन् । हामीमा भन्दा ठूलो विचार भएका लाखौँ युवा छन् । मात्रै प्रोत्साहनको अभाव छ । प्रेरणा र हौसला दिने मानिसको खाँचो छ । अब युवाहरू एकजुट आएर आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । योगदानको अर्थ खल्तीबाट पैसा झिकेर सहायता दिनु मात्र होइन । क्षमता देखाएर, उत्प्रेरित पारेर पनि देश–विकासमा योगदान गर्न सकिन्छ । विकासको लहर ल्याउने अभियानमा सबै युवा होमिनुपर्छ ।

राज्यको दायित्व

हाम्रो देशमा सत्ता प्राप्तिका लागि मात्रै सरकारको खेल भइराखेको छ । इच्छाशक्ति भएका, भिजन भएका, समाजका लागि योगदान पुराएका, को–को मानिससँगको सहकार्य वा कुन–कुन संस्थासँगको सहकार्यले देशलाई विकासको गतिमा अगाडि बढाउन सकिन्छ भन्ने खालको मनस्थिति आएन । हरेक व्यक्तिले एउटा सरकार भएर काम गर्ने वातावरण बनाउनुपर्छ । राम्रो ढंगले काम गर्ने हो भने स्थानीय सरकार बनेपछि धेरै सहज हुन्छ ।

नमुना नेपालको परिकल्पना

नमुना नेपालको विषयमा धेरै खालका चर्चा–परिचर्चा भइराखेका छन् । ‘तीनवटा बस्ती बनेकै थिए, धेरै महत्वाकांक्षी भएर असम्भव काम नथालेको भए हुन्थ्यो’ भन्ने सुझाब दिने पनि हुनुहुन्छ । सबै चिज देशभित्र सम्भव देखिरहँदा नमुना नेपाल पनि सम्भव देखेरै अगाडि बढेका हौँ । विश्वको विकास हेर्ने हो भने समुद्र पुरेर विमानस्थल बनेका छन् । मरुभूमिमा सहर बसेको छ । विश्वमा चमत्कार नै चमत्कारको विषय छन् । नमुना नेपाल बनाउने परिकल्पना त सामान्य हो । एकै ठाउँबाट नेपाल हेर्न सकिने संरचना बनाउने हो । सर्वसाधारणको हिसाबले सोच्ने हो भने यसमा लाग्ने रकम निकै ठूलो हो । मेरो स्तरबाट हेर्ने हो भने मलाई कुनै वेला बेहोसै हुन्छु कि जस्तो पनि लाग्छ । तर, सबैले साझा परियोजना हेर्ने र एकपटक विश्वमा नेपाललाई चिनाउन नमुना नेपाल सम्भव देखेर हामीले आँटेका हौँ । श्रीमती कुन्जनाको सपनालाई मैले फूलबुट्टा भरेको हुँ । एकै ठाउँबाट सिंगो नेपाल हेर्न सकिने, अध्ययन गर्न सकिने र सम्पूर्ण जातजातिको सांस्कृतिक प्रतिनिधित्व हुने गरी पीडित परिवारको साझा फूलबारी हो । नमुना नेपालभित्र छिरिसकेपछि सिंगो देश हेर्न सकिन्छ । हिमाल पनि त्यहीँ देखिन्छ । पहाड पनि त्यहीँ देखिन्छ । तराई पनि त्यहीँ देखिन्छ । हिमालबाट पहाड, तराई हुँदै फेरि हिमाल पुग्छ रेल । मानवनिर्मित हो, तर हुबहु देखिन्छ ।

सरकारले हजार १५ सय रोपनीजति जग्गा उपलब्ध गराउने र बाटो, पानी, बत्तीलगायत आधारभूत पूर्वाधार सरकारले बनाइदिएको अवस्थामा, भौतिक संरचना गराएको खण्डमा करिब पाँच अर्ब अनुमानित रकम जुटाउँछौँ भनेका छौँ । जुन दिन जग्गाको टुंगो लाग्छ । त्यसको पर्सिपल्टसम्ममा शिलान्यास गर्छौँ । र होर्डिङ बोर्डमा लेख्नेछौँ– परियोजना शिलान्यास मिति आज र हस्तान्तरण मिति यति सालको, यति महिना, यति गते, यो बार, यति बजे भनेर ग्यारेन्टी गर्नेछौँ । तोकिएको समयमै नमुना नेपाल हस्तान्तरण हुन्छ ।

अनुशासन मुख्य कडी

मुख्य कुरा समाज एकीकरण हो । समाज एकीकरण गर्न सकियो भने त्यो सबैभन्दा ठूलो विकास हो । सबैतिर विभिन्न राजनीतिक दलहरू छन् । मानिस कतै न कतै आस्था भएकै हुन्छ । व्यक्ति त्यही सेरोफेरोमा हुर्केको, बढेको हुन्छ । विकासको कुरा आयो भने त्यसलाई कसरी भागबन्डा लगाउने, फाइदा–बेफाइदाभन्दा पनि स्वार्थ नै भागबन्डामा जोडिएको हुन्थ्यो । छियाछिया भएको समाजलाई हामीले राजनीतिभन्दा पर सा¥यौँ । हाम्रो अभियानको कुरामा कसैले पनि राजनीतिको कुरा गरेन । कामको मात्र कुरा भयो । कामबाहेक अरू कुरा गर्न नपाउने नियमभित्र अनुशासित भएर काम गरे । त्यही कारण हामीले सोचेकै समयका काम सम्पन्न गर्न सक्यौँ । यदि अनुशासन थिएन भने समयमै काम सकिने थिएन । सबैलाई देशभक्त, स्वतन्त्र नागरिक बनाएर बस्ती निर्माणको काममा लगाएका हौँ । मेरो घर मैले नै बनाउनुपर्छ, मेरो बस्ती मैले नै बनाउनुपर्छ । र, हामीले बनाउनुपर्छ भन्ने सोचको विकास गरायौँ ।

विरोध पनि

हाम्रो समाजसेवा अलि फरक भयो । मानवीय सेवाअन्तर्गतको बस्ती निर्माणमा हामी लाग्यौँ । एकीकृत बस्ती निर्माणको काम गर्नु आफैँमा चुनौतीको विषय थियो । भूकम्पबाट भत्केकै ठाउँमा भन्दा सम्पूर्ण पीडितको जग्गा एकीकृत गर्दै ‘एकीकृत बस्ती विकास’को मोडालिटीमा जाँदा समाजका मानिसलाई कन्भिन्स गर्नुप¥यो । एउटै बस्तीमा बस्दाका फाइदा, बेफाइदा सिकाउनुप¥यो । एकीकृत बस्तीको कुरा उठे पनि व्यवहारमा लागू भएको थिएन । त्यो हिसाबले पनि चुनौती थियो । एकीकृत बस्ती आवश्यक छैन । हाम्रो समाजमा घरभित्रै गोठ हुन्छ । घरभित्रै बाख्रा, पाठा हुन्छन् । खाना खाँदै घाँस हाल्दै गर्नुपर्छ । बस्ती एकातिर, गोठ अर्कोतिर सम्भव छैन भनेर विरोध पनि भयो । एकीकृत बस्ती बनाउन नदिन विभिन्नखाले चलखेल पनि भएका थिए ।

(प्रेम गौतमसँगको संवादमा आधारित र नयाँपत्रिकामा प्रकाशित )

, , , ,