उमेरमा एमालेलाई माया गरे बुढेशकालमा एमालेले माया गर्छः केपी ओली


झापा /
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समग्र झापाको विकासका लागि एमालेको विकल्प नभएको बताएका छन्।

झापाको अर्जुनधारा नगरपालिकाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको चुनाव चिन्ह नै संसारभर जतिवेला पनि भेटिने भएकाले पनि यसको विजय निश्चित भएको बताए । ‘हाम्रो विचार, आदर्श र संस्कृतिसँग मेल खाने चुनाव चिन्ह सूर्य भएका कारण पनि सबैले मतदान गर्न सजिलो हुन्छ’, अध्यक्ष ओलीले भने, ‘एमाले सबैले चिनेको पार्टी हो ।’

‘०४७ सालतिर कम्युनिष्टले बूढाबूढीलाई मार्छ भन्ने आरोप थियो । तर, एमाले सत्तामा गएपछि बूढाबूढीलाई भत्ता दिन थालेर यो भ्रम चिरेको छ’, अध्यक्ष ओलीले भने, ‘उमेरमा एमालेलाई माया गरे बुढेशकाल एमालेले माया गर्छ ।’

अध्यक्ष ओलीले लोकतन्त्रका लागि अरु पार्टीभन्दा एमाले अब्बल रहेको उल्लेख गर्दै भने– ‘एमालेभित्र लोकतन्त्रका लागि जेल बस्ने दर्जनौँ नेताहरु छन् । तर, काग्रेसले लोकतन्त्रका लागि लड्ने पार्टी आफू मात्र भएको भ्रम दिएको छ ।’

जनतालाई साथ लिएर विकास गर्ने पार्टी एमाले भएका कारण यो पार्टी जनमैत्री भएको अध्यक्ष ओलीले बताए। सामाजिक सद्भाव र विकास गर्ने पार्टी एमाले भएको बताउँदै उनले एमाले पदका लागि जुनसुकै काम गर्ने पार्टी नभएको बताए ।

एमालेले पहिलो चरणको निर्वाचनमा ४० प्रतिशत महिलालाई निर्वाचित गराएको बताउँदै उनले आफ्नो पार्टीले सर्वोच्च पदमा महिलालाई पुर्याएर राष्ट्रपति बनाएको उदाहरण दिए। न्यायालयको प्रमुखमा पनि महिलालाई नियुक्ति गर्न एमालेको विशेष योगदान रहेको उहाँले स्मरण गराए। तर, अरु पार्टीले न्यायालय प्रमुख रहेकी महिलालाई महाअभियोग प्रस्ताव दर्ता गरेर अपमान गरेको पनि उनले बताए ।स्थानीय विकासका लागि पैसाको कमी नभएको वताउँदै पूर्वप्रधानमन्त्री ओलीले झापाको विकासमा आफू प्रधानमन्त्री हुँदा धेरै काम गरेको उदाहरण दिए। हुलाकी राजमार्गका लागि चार अर्ब बीस करोड रकम आफ्नो पालामा विनियोजन गरेको पनि उनले सम्झाए ।

माथिल्ला निकायको अधिकार गाउँमै आएको कारण अव राम्रा व्यक्तिलाई स्थानीय तहमा जिताउनु पर्ने ओलीको आग्रह छ । भ्रष्टाचारजस्ता अपराध एमालेले नसहने वताउँदै कसैले यस्तो कार्य गरे एमालेले छुट नदिने बताए । कृषि, पर्यटन र व्यापारका लागि एमालेको जस्तो नयाँ योजना कसैको नभएको उनको भनाइ छ ।

आफूले रेलको कुरा गर्दा कागजका रेल बनाएर खिसी गर्ने कांग्रेसले नै घोषणापत्रमा रेल्वे विकास गर्ने बिषय उठान गरेकोमा मजा लागेको बताउँदै उनले भने ‘एमाले अघिअघि हिँड्छ, अरु पछिपछि हिँड्छन् ।’

‘मंसिरसम्म प्रतिनिधिसभाको चुनाव हुँदा एमालेबाहेक अरुले जित्न सक्दैन’, अध्यक्ष ओलीले भने, ‘पहिलो चरणको निर्वाचन एमालेलाई अप्ठयारो भएको ठाउँमा गरेर विपक्षीले चालवाजी गरेका थिए । तर, एमालेले ४० प्रतिशत भन्दा बढी लोकप्रिय मत ल्यायो । दोस्रो चरणको निर्वाचनमा पनि एमाले धेरै अग्लो हुने छ ।’

, , ,