कुम्ब्लेले दिए राजीनामा


लन्डन   |
 अनिल कुम्ब्लेले भारतीय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका छन् । आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएको दुई दिनपछि कुम्ब्लेले भारतको प्रशिक्षक पद त्यागेका हुन् ।

चार दिनपछि भारतले वेस्ट इन्डिज भ्रमण गर्दै छ । क्यारेबियन क्षेत्रको भ्रमण गर्नुअघि कुम्ब्लेले भारतीय कप्तान विराट कोहलीसँग छलफल गरेका थिए । कुम्ब्लेले क्रिकेट कन्ट्रोल बोर्ड अफ इन्डिया (बिसिसिआई)का उच्च पदाधिकारीसँग पनि बैठक गरेपछि राजीनामा दिएका हुन् । भारतको क्रिकेट सल्लाहकार समितिको बैठकपछि कुम्ब्लेले बिसिसिआईका उच्च आधिकारीसँग बैठक गरेका थिए । कुम्ब्लेसँग बिसिसिआईले एक वर्षका लागि गरेको सम्झौता च्याम्पियन्स ट्रफीको फाइनलसँगै सकिएको थियो । बिसिसिआईले वेस्ट इन्डिज भ्रमणका लागि कुम्ब्लेलाई नै प्रशिक्षक बनाउने निर्णय गरेको थियो । तर, फाइनलमा पाकिस्तानसँग पराजित भएसँगै भारतीय खेलाडीले प्रशिक्षकको आलोचना गरेका थिए ।

विशेषगरी कुम्ब्ले र कप्तान कोहलीबीच मतभेद बढेको थियो । सल्लाहकार समितिले गत वर्ष नयाँ प्रशिक्षकको चयनका लागि कुम्ब्लेसँगै अन्य ६ जनाको अन्तर्वार्ता लिएको थियो । कुम्ब्लेसँगै समितिले भारतका पूर्वक्रिकेटरहरू सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मणको पनि नाम सिफारिस गरेको थियो । त्यसैले यी तीन नामबाटै अबको प्रशिक्षको टुंगो लगाइने बताइएको छ ।