जनप्रतिनिधि भएर यो गाउँको विकासमा समय खर्चने मन छ -एकराज पाठक


एकराज पाठक पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका उमेद्वार हुनुहुन्छ | उहाँ हालको वडा नम्बर १० तथा साबिकको गेझा गा.वि.स का एक प्रतिष्ठित समाजसेवी पनि हुनुहुन्छ | उहाँ २०४० सालदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्छ | उक्त वडामा बसेर वडाको हरेक सामाजिक कार्यमा सक्रिय पाठक स्थानीयबासीहरुका दु:ख सुखमा सधै उपस्थित हुने ब्यक्तीका रुपमा परिचित हुनुहुन्छ | वडाध्यक्षको उमेद्वार भएपछी चुनावी प्रचार प्रसारमा लाग्नु भएका पाठकसंग द नेपाल टुडेका सम्बाददाताले गरेको चुनावी बार्ता प्रस्तुत छ:

तपाई किन वडाध्यक्षमा उमेद्वार बन्नुभएको ?

मेरो उमेद्वारी यो वडाका वडाबासीको चाहनाको कारण भएको हो | सबैले 'तपाई उठ्नु पर्छ' भन्नुभयो | त्यसैले मैले उमेद्वारी दिएँ |

 तपाईको चुनावी माहोल कस्तो छ ?

वडाबासी सबै आमाबुवा, दिदीबहिनी र दाजुभाईसंग मैले घरदैलो कार्यक्रम गरेर भेटिरहेको छु | सबैजना उत्सुक हुनुहुन्छ र खुशी हुनुहुन्छ |

तपाई सामाजिक काम गर्ने मान्छे, हरेक मान्छेका दु:ख सुखमा पुगेर सहयोग गर्ने मान्छे एउटा पार्टीको उमेद्वार बन्दा बिपक्षी पार्टीका जनता रिसाएका छन् की ?

मैले बिपक्षी पार्टीका मतदातासंग पनि कुरा गरेको छु | उहाँहरुले पनि कुरा बुझ्नु भएको छ | सबैको धारणा भनेको काम गरिसकेको र काम गर्न सक्ने ईमान्दार ब्यक्तिलाई भोट दिने हो भन्ने नै छ | सधैं सेवालाई पहिलो प्राथमिकतामा राखेर हिडें | अब जनप्रतिनिधि भएर यो गाउँको विकासमा समय खर्चने मन छ | यो कुरामा सबैको सहयोग रहने विश्वास गरेको छु |

वडाबासीले तपाईलाई नै भोट दिनुहुन्छ भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

म ढुक्क छु | अहिले राम्रो माहोल बनिरहेको छ | मैले बिगतमा यो वडाका कामहरु गर्दा सधै सबैको हितमा काम गरेको हो | जे जिम्मेवारी पाएँ त्यो ईमान्दारीपुर्बक पुरा गरें | मैले पार्टीको चश्मा लगाएर कसैलाई काखा र पाखा गरिन | सबैसंग मिलेर काम गरें | मैले जान्ने भएदेखि नै यहाँका हरेक सामाजिक र विकासका काममा तन, मन र धनले सक्रिय भएको छु | यो कुरा वडाबासी सबैलाई थाहा छ | फेरी पनि भन्छु म ढुक्क छु |

चुनाब जित्नु भयो भने तपाईले के गर्नु हुन्छ ? तपाईका योजनाहरु के-के छन् ?

मैले आजसम्म पद बिना नै आफ्ना वडाबासीलाई सक्दो सहयोग गरें | अब पद पाएमा नगरपालिकाको बजेट आफ्नो वडामा धेरै ल्याउन पहल गर्छु | बाटो, खानीपानि र सिंचाईमा वडाबासीको ईच्छा अनुसार योजना बनाउनेछु | यो वडाका सबै स्कुलहरुको भौतिक स्तर र पठनपाठनको स्तर उन्नति गर्नेछु र अतिरिक्त क्रियाकालापका लागि स्कुलहरुलाई आर्थिक सहयोग उपलब्ध गराउनेछु | स्कुल जान नसक्ने बिपन्न परिवारका बालबालिकालाई बिशेष कार्यक्रम ल्याएर माध्यमिक बिद्यालयसम्मको पढाई सहज बनाउनेछु | वडामा एउटा सुबिधा सम्पन्न पुस्तकालय स्थापना गर्नेछु | गाउँ कै बिद्यालयहरुमा टेक्निकल र ब्यबहारिक शिक्षा लागु गरेर दक्ष जनशक्ति उत्पादन गरिनेछ | बृद्धहरुलाई आवश्यक सहयोगी कार्यक्रम ल्याउनेछु | महिला, दलित, आदिबासी र जनजातीको उत्थान र विकासमा बिशेष कार्यक्रम संचालन गर्नेछु | आयआर्जनका विभिन्न कार्यक्रमहरु वडामा लागु गर्नेछु र यही स्वरोजगारको कार्यक्रम संचालन गरेर बिदेशिएको युवा जनशक्तीलाई गाउँ मै बस्ने कार्यक्रम संचालन गर्नेछु | सामान्य बिमारीको औषधि स्थानीय स्वास्थ्य केन्द्रमा सजिलै पाउने व्यवस्था गर्नेछु | दुई बर्षभित्र मै आफ्नै वडामा एउटा एम्बुलेन्स ल्याउनेछु | पुल पुलेसाहरु थप्नेछु | ठुला साना सबै कुलाहरुको मर्मत गर्न रकम बिनियोजन गर्नेछु | बिभिन्न खोलाहरुमा ड्याम बाँधेर यहाँका नहर र कुलाहरुमा सधै पानी आउने बाताबरण सिर्जना गरेर सबै जग्गालाई सिंचाईको प्रबन्ध मिलाउनेछु | वडामा एउटा राम्रो र ब्यबस्थित खेल मैदान बनाएर भलिबल, फुटबल र क्रिकेट खेलमा युवाहरुलाई आकर्षित गर्नेछु र यहाँका युवाहरुलाई राष्ट्रिय स्तरको खेलमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछु |


अन्त्यमा, आफ्ना मतदातासंग केही अनुरोध छ की ?

मैले यो वडाका सबै वडाबासीसंग भनिसकेको छु की मैले चुनाब जितेपछि आफ्नो कार्यकालभरि पाटिगत स्वार्थ भन्दा माथि जनताको हितको लागि काम गर्नेछु​ | मलाई यहाँका सबै अप्ठेरा र आवश्यकताका बारेमा स्पष्ट जानकारी छ | त्यसैले, वडाबासीका चाहना र आवश्यकता पुरा गर्न भरमग्दुर प्रयास गर्नेछु | अब मलाई उहाँहरुको अमुल्य भोटको खाँचो छ | वडाको सुन्दर भबिष्यको लागी तपाईहरु सबैको मतको जरुरी छ | उहाँहरुले यो वडाको बिकासका लागी आफ्नो मत मलाई दिएर माथिका योजना सफल बनाउनु हुनेछ भन्नेमा म विश्वस्त छु |

, ,