कान्तिपुर गाथा : कृषि मन्त्री नहुँदा रोमान्स भएन ! -किशोर नेपाल


किशोर नेपाल 
यो वर्षको असारको पन्ध्र पनि सकियो। कुन्नि कुन वर्ष हो, एकजना मन्त्रीले धान रोप्ने रोपारसँग रोमान्टिक मुडमा जिस्किएर रडाको मच्चाएका थिए रोपाईंमा। यो पटक नेताहरुले त्यस्तो रोमान्सको अवसर पाएनन्। चुनावले उनीहरुलाई रोपाईंको खेतबाट मतदान केन्द्रमा केन्द्रित गर्‍यो। रोपाईंको सिजनमा कुनै नेताको राजनीतिक हत्या नहुनु राम्रै हो। त्यो रमाइलो घटनाका बारे कनिकाले थाहै पाएकी थिएन। उ त्यतिबेला पत्रकारितामा थिइन। अहिले भएको भए खूब रमाउने थिइ होली। त्यतिबेला हल्ली खल्ली मच्चिएको थियो त्यो घटनाले। झण्डै झण्डै त्यतिबेलाको सरकार नै राजनीतिक संकटमा परेको। नेताहरुले सरकार त जोगाए, सरकारको नाक जोगाउन सकेनन। बडो रमाइलो भएको थियो त्यतिबेला।

यो वर्ष कनिकाले पनि सांस्कृतिक पर्व मनाइ दही चिउरा खाएर। अहिलेसम्म दही चिउराको स्वाद नै थाह थिएन बेबीलाई। यो वर्ष बल्ल थाह भयो। बाबा यसपटक असार पन्ध्र मनाउने मूडमा थिए। केटाकेटीमा उनले घरमा रोपाईँ गरेको देखेका थिए। त्यसको धमिलो सम्झना आइ रहन्थ्यो। तर, उतिवेला असार पन्ध्रको दिनमा नै धान रोपेको सम्झना उनलाई थिएन। त्यो जुनदिन पनि हुनसक्थ्यो। रोपार र बाउसेलाई खाजा खुवाएको पनि सम्झना छ कनिकाको बाबालाई। धनी होस कि गरीव, रोपाईंमा आउनेलाई दही चिउरा र आलुको अचार खुवाउनै पर्थ्यो उतिबेला।

कनिकालाई लाग्यो, यो वर्ष चाडवाड, रितीथिती सबै कुरालाई पछाडि पारेको छ चुनावले। चुनावका बेला सरकारका मुख्य कर अधिकारी चूडामणि झेलको खेल खेलेको अभियोगमा जेल पुगेका छन्। उनीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटी मात्रै तीन अरव रुपैयाँ मागेको छ। कनिकाले त्यति धेरै रुपैयाँ देखेकी नै छैन। बाबाले कुरागर्दा एक डेढ करोडको कुरा गर्नु हुन्छ। सुनेर कनिकालाई आफनो परिवार धनी भएको जस्तो लाग्छ। त्यो त होइन रहेछ।

पहिलो चरणको चुनाव निकै रमाइलो र तनाव रहित थियो समाचारका हिसाबले। धाँधलीका, बदर मतका, मतगणनामा झेल भएका समाचार आइ रहन्थ्यो। रमाइलो भइ रहन्थ्यो। अब यो दोस्रो चरणको चुनावमा त्यस्तो केही भएन। उही नियमित समाचार आइ रह्यो। पार्टीको सिद्धान्तले ओतप्रोत भएका कार्यकर्ता बढ्तै चहकिएर आफनो पार्टीको अग्रता कायम भएको जानकारी दिन्थे। मतगणनामा पहिलो एकघण्टामा एउटा पार्टीको अग्रता भए अर्को एकघण्टामा अर्कै पार्टीको अग्रता कायम हुन्थ्यो।

कनिकालाई लाग्यो, दोस्रो चरणको मतदानभन्दा पहिलो चरणको मतदान सबै दृष्टिले बेस थियो। पहिलो चरणमा नेताहरु चुनावी भाषणका नाममा विरोधीको सत्तो सराप गर्थे। सुनेर मतदाता रमाउँथे। आनन्द मान्थे। परस्परमा जति दुर्वाच्य बोल्न सक्यो, जति निन्दा गर्न सक्यो त्यति रमाइलो। मतदाताहरु कवि विनोद विक्रम केसीका बा जस्तै काँठे थिए चुनावका मामिलामा। विनोदका बाले चुनावमा २७ भोट कमाएर कीर्तिमान राखेका थिए। अहिलेका मतदाता सबै उम्मेदवारलाई २७ भोटे बनाएर नयाँ कीर्तिमान राख्न चाहन्छन। जसले जति भोट ल्याएपनि जित्ने उसैले हो, हामीलाई के ? स्थानीय तहको सीमांकनपछि सुदिप्तीले गफैगफमा धेरै कुरा भनेकी थिइ। त्यसमा पनि उसले भनेको एउटा कुरा कनिकालाई दामी लागेको थियो। उसले भनेकी थिए, ‘कोर्सबुकमा त नेपाल गाउँ नै गाउँले भरिएको देश हो भनेर पढिएको थियो। अब, देश त एकै रातमा नगर प्रधान पो भएछ।’

अनलाइन र पत्रपत्रिकामा चुनावका रोचक दृश्य लेख्न पत्रकारहरु सक्रिय थिए। रोचक रिपोर्टिङमा ठूटीबारीका बयोवृद्ध १०४ वर्षकी बडकीले कसरी भोट हालिन ? मलेशियामा काम गरी रहेका देवु मगरका नाममा कसले प्रोक्सी भोट हाल्यो ? यस्ता सबै अशक्त भोटहरु आफूलाई हाल्न लगाउने पार्टीहरु सशक्त थिए। उनीहरु निर्वाचन निष्पक्ष हुनुपर्ने कुरामा जोड दिइ रहेका हुन्थे। कुरा सबै उस्तै थिए। एउटाले लेखेपछि सबैले त्यसैलाई कपिपेष्ट गर्थे र रमाउँथे।

कनिकाले आफनो रिपोर्टको अन्त्यमा लेखी, ‘यो निर्वाचनले देशलाई विकासको शिखरमा पुर्याउने बताएका छन् स्थानीय तहका नेताहरुले। उनीहरुको विचारमा यो चुनावपछि सिंहदरवारको अधिकार गाउँमा पुगेको छ। पहिले पनि अधिकार गाउँमा पुगेको थियो। त्यसपछि आगलागीमा परेर सिंहदरवार भत्कियो। पोहोर १२ वैशाखको भुईंचालोले सिंहदरवारलाई फेरी भत्कायो। स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँमा पुर्याएको खुशियालीमा रमाएका छन नेताहरु।’
पहिलोपोस्ट

, , , ,