शेरबहादुर देउवा नेपालको ४०औँ प्रधानमन्त्री

तस्बिर:फाइल
काठमाडौं, जेठ २३

 काठमाडौं । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा झण्डै दुई तिहाई मतसहित मुलुको ४०औं प्रधानमन्त्री निर्वाचित भएका छन् । यद्यपि, यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका देउवा गणतन्त्र आएपछि भने पहिलो पटक प्रधानमन्त्री बनेका हुन् ।

देउवाको पक्षमा ३ सय ८८ मत र विपक्षमा एक सय ७० मत आएको छ । मत विभाजन गर्दा ५ सय ५८ जना सांसद उपस्थित थिए । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल देउवाको प्रस्तावक रहे भने, रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, प्रेमबहादुर सिंह, जयदेव जोशी लगायत समर्थक रहे । प्रमुख सत्तासाझेदार माओवादी केन्द्रसँगको पुरानो गठबन्धन कायमै राख्दै देउवाले सुरुमा सानो मन्त्रिपरिषद् विस्तार गर्ने बताइँदै छ ।

तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार २०५२ मा ढलेपछि देउवा पहिलोपटक नेपालको प्रधानमन्त्री बने । २०५८ मा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनि प्रधानमन्त्री पदबाट बर्खास्तीमा परे ।

बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा परे । राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा(माओवादी)बीच सहकार्यको वातावरण बनेको थियो ।

विक्रम सम्वत् २०५९ जेठ ८ मा संसदीय दलको नेता एवम् प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि कांग्रेस विभाजन भएको थियो । कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बने । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को २०६३ मा एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।

देउवा विसं २०५६ मा कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत बने । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि सङ्घका प्रथम सभापति हुन् भने सुदूरपश्चिममा कांग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।

काँग्रेसको १३ औँ महाधिवेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति पदमा विजयी भए । यसअघि पार्टीको १०औँ महाधिवेशनमा नेता गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउवा पार्टी सभापति पदमा पराजित भएका थिए ।

पार्टी संसदीय दलको नेतामा पनि २०५६ नेता भट्टराईले राजीनामा दिएपछि तत्कालीन सभापति गिरिजाप्रसाद, पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन उपसभापति पौडेल र दोस्रो संविधानसभा निर्वाचनपछि सभापति सुशील कोइरालाबाट नेता देउवा पराजित भएका थिए । महाधिवेशनपछि भएको संसदीय दल चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा निर्वाचित भए ।


, , , ,