राष्ट्रपतिलाई गाडी आवश्यक हो, १६ करोडको प्रस्ताव आएको छैन -प्रधानमन्त्री देउवा


असार २६ सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि सुरक्षित गाडि खरिदका लागि प्रस्ताव आउनु स्वभाविक भएको बताएका छन् ।

व्यवस्थापिका–संसद बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखलाई सुरक्षित गाडीको आवश्यकता हुने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव आएको भन्ने विषयमा प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘राष्ट्रपतिको गाडीको सम्बन्धमा यति र उति करोडको गाडी खरिदका लागि भन्दै कुनै प्रस्ताव आएको छैन । राष्ट्रपतिलाई गाडीको आवश्यकता हुन्छ ।’ राष्ट्र प्रमुखको सुरक्षा संवेदनशीलतामा हामी सचेत छौँ । सुरक्षाका हिसावले आवश्यक हो, त्यसलाई स्वभाविक रुपमा लिनु पर्दछ, प्रधानमन्त्री देउवाले भने, ‘१६ करोड चाहियो भन्ने कुनै प्रस्ताव आएको छैन ।’ माननीय ज्यूले भने जस्तो सिंहदरबारका लागि केही खरिद गर्ने तयारी छैन, प्रधानमन्त्रीले हाँस्दै भने ।

प्रधानमन्त्री देउवाले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका उक्त विधेयकमाथिका विविध शीर्षकहरूमा सांसदहरूले उठाएका जिज्ञासाको सटिक जवाफ दिए ।
प्रधानमन्त्रीले जवाफ दिएपछि विनियोजन शीर्षकमाथिको छलफल पूरा भएको छ भने, विनियोजन विधेयक २०७४ बहुमतले पारित भएको छ ।

, , , ,