जोनका उज्याला पाइला


शिक्षाप्रेमी मात्रै होइन, पुस्तकप्रेमीहरुका लागि पनि जोन उड कुनै अनौठो नाम होइन । विश्वचर्चित माइक्रोसफ्ट कम्पनीको दक्षिण एसिया क्षेत्रीय बजार निर्देशकका रूपमा ७ वर्षसम्म काम गरिसकेका जोन सन् २००० मा नेपाल घुम्न आएका थिए ।

माइक्रोफ्टको व्यस्त दैनिकीलाई पाखा लगाउँदै नेपालको लमजुङस्थित बाहुनडाँडा घुम्न आइपुगेका जोनको मन मस्र्याङ्दी नदीले भन्दा त्यहाँका केटाकेटीले बढी ताने । अमेरिकाबाट घुम्न नेपाल आए पनि उनको मन घुम्न सकेन । नेपालका केटाकेटी प्राकृतिक रूपमा नै बाठा लागे जोनलाई । अझ यिनीहरु पढ्ने विद्यालय कस्ता होलान् भन्ने प्रश्नले बढी खिच्यो ।

एकदिन बाहुनडाँडास्थित आफू बास बसेको सानो होटलमा बिहानतिर एक व्यक्ति सँगै चिया खाएको ठाउँमा देखा परे । उनको नाम थियो– पशुपति । संयोगवश पशुपति त्यो गाविसका विद्यालय स्रोतव्यक्ति रहेछन् । ढुङ्गा खोज्दा देउतै भेटेझैं लाग्यो जोनलाई । किनभने जोनलाई एउटा उत्सुकताले थिचिरहेको थियो– कस्ता हुन्छन् यहाँका बालबालिका पढ्ने स्कुल !

धमिराले खाएको पुरानो ‘पुस्तकालय’

जोनसँग पशुपतिले टुटेफुटेको अंग्रेजी बोल्थे । कुरैकुरामा उनी पशुपतिसँगै त्यहाँका विद्यालयहरूको अवस्था हेर्न निस्किए । होटलबाट हिँडेको केही घण्टामा पशुपतिले उनलाई एउटा प्राथमिक विद्यालयमा पु¥याए । हजुरआमाले पढेका बालकथाहरू सुनेर हुर्किएका जोनलाई त्यो विद्यालयको पुस्तकालय कस्तो होला भनेर जाँच्न मन लाग्यो ।

पशुपतिले कर गरेपछि त्यो विद्यालयका प्रधानाध्यापकले पुस्तकालय जोनलाई देखाउन दराजको चाँबी दिए । ‘पुस्तकालय’को परिचय बोकेको एउटा पुरानो दराज देखेपछि जोनको मन नराम्रोसँग कुँडियो । किनभने, धूलो टाँसिएको र धमिराले खाएको दराजभित्र पर्यटकले छोडेका गाइड बुक र नक्साका एकाध किताबबाहेक केही थिएनन् ।

“यही हो पुस्तकालय ?” जोनले सोधेको प्रश्नको उत्तर एक शिक्षकले दिए, “हजुर, यही हो ।”

“अनि पुस्तकालयमा चाँबी किन ?” जोनले पुनः प्रश्न गरे ।

“पुस्तकालय खुलै छोड्यो भने त केटाकेटीले किताब च्यातिहाल्छन् नि हजुर !” शिक्षकले उत्तर दिए ।

केहीबेरको भलाकुसारीमा जोनले बुझे– यहाँका केटाकेटीहरू पढ्नमा उत्सुक छन् तर किताब पाउन सकिरहेका छैनन् ।

तत्कालै जोनले स्रोतव्यक्ति पशुपति र शिक्षकहरूसँग वाचा गरे, “यहाँका केटाकेटीलाई पढ्नका लागि किताब अभाव रहेछ, अब चाँडै अमेरिकाबाट किताब लिएर आउनेछु ।”

तर, शिक्षकहरूले जोनको कुरामा आंशिकमात्रै विश्वास गरे । किनभने, ‘किताब लिएर आउनेछु’ भनेर वाचा गर्ने तर पूरा नगर्ने पर्यटकहरू उनीहरूले त्यसअघि पनि प्रशस्तै देखेका थिए ।

तर, ती हजारौं पर्यटकमा जोनमात्र एक त्यस्ता अपवाद बने, जसले चौंरीको पिठ्यँुमा सयौं किताब लिएर तीन महिनापछि त्यही विद्यालयअघि उभिए ।

नेपालबाट सुरु भएका पाइला

जोनले आफ्नो किताब ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’मा आफ्नो सफलताको पाइला बाहुनडाँडाबाटै सुरु भएको लेखेका छन्, “जे–जे भयो, त्यसपछि भयो ।”

नेपालमा किताब ल्याएपछि यहाँका विद्यार्थीहरू खुसी भएको देखेपछि जोनको मनमा अनौठो विचार फु¥यो । संसारका विकासशील मुलुकका बालबालिकाहरू यसरी नै पुस्तकको प्रतीक्षामा होलान् ! पढ्न मन भएर पनि परिवारको न्यून आर्थिक स्तरका कारण पढ्न नपाएका लाखौं बालबालिकाका मुहारमा शिक्षामार्फत यस्तै खुसी ल्याउने अठोट लिए । त्यसपछि उनले माइक्रोसफ्टको छँदाखाँदैको ‘मालदार’ जागिर छोडे । केही संघर्षका साथ ‘रुम टु रिड’ नामक गैरनाफामूलक संस्था खोले र होमिए तेस्रो विश्वका विद्यार्थीका लागि विद्यालय र पुस्तकालय निर्माण गर्न अनि पुस्तक र छात्रवृत्ति उपलब्ध गराउन ।

जोनले आफ्नो यो निर्णयलाई ‘जीवनकै चुनौतीपूर्ण निर्णय’ भएको लेखेका छन् । घरबाट किताबको भारी बोकेर हिँडेका जोनले आफ्ना बा–आमालाई भनेका छन्, “यो मेरो गैरनाफामूलक काम हो तर तपाईंहरू चिन्ता नलिनुस्, म तपाईंहरूसँग पैसा माग्ने छैन ।”

नेपालबाट सुरु भएको जोनको ‘पुस्तक यात्रा’ले आज एसियाका ७ र अफ्रिकाका ३ देशमा विद्यालय र पुस्तकालय खोल्ने तथा छात्रवृत्ति प्रदान गर्ने काम गर्छ ।

नेपालका २२ जिल्लामा कार्यालय

जोनले तत्कालीन समयमा अमेरिकामा स्थापना गरेको ‘रुम टु रिड’को कार्यालय नेपालका २२ जिल्लामा छन् । मुख्य कार्यालय ललितपुरको सानेपासहित काठमाडौं, भक्तपुर, तनहुँ, लमजुङ, बाँके, बर्दिया, कैलाली, नुवाकोट, पाल्पा, स्याङ्जा, प्युठान, नवलपरासी, धादिङ, बाग्लुङ, कास्की, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा र सिन्धुपाल्चोकमा छन् ।

सन् २००३ यता नुवाकोट, पाल्पा, तनहुँ, कैलाली, बाँके र बर्दियामा साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘एक शिक्षित पुरुष आफूमात्र शिक्षित हुन्छ, तर एउटी शिक्षित महिलाले सम्पूर्ण परिवारलाई नै शिक्षित बनाउन सक्छिन्’ भन्ने मूल मन्त्रका साथ ‘रुम टु रिड’ले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, कास्की, बाँके र बर्दियामा बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालभरि ‘रुम टु रिड’का १०७ र सानेपास्थित मुख्य कार्यालयमा ३० कर्मचारी छन् ।

यी जिल्लामा पूर्वी नेपालका एउटै पनि जिल्ला परेनन्, किन ?

सूचना तथा सञ्चार विभागका कार्यकारी निर्देशक ऋषि अमात्य भन्छन्, “पूर्वीभन्दा पश्चिमी जिल्ला शिक्षामा धेरै नै पछाडि छन्, त्यसैले हाम्रो प्राथमिकता पनि त्यतै देखिएको हो ।”

आउँदा दिनमा पूर्वदेखि पश्चिमका प्रत्येक जिल्लामा पुग्ने लक्ष्य लिइएको अमात्यले बताए । बाह्रखरीबाट

, ,