साहसिक हवल्दार रानाको अपमान नगर्न गृहमन्त्री शर्माको अपिल

तस्वीर : गृहमन्त्रीकाे निजी सचिवालय


असार २७ मंगलबार
काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले मतदान केन्द्रलाई लक्षित गरी प्रहार भएको बम भुँइमा खस्न नदिई बाहिर फाल्ने प्रहरी हवल्दार दुर्गा बहादुर रानाको साहसिक कदमको अपमान नगर्न अनुरोध गरेका छन् ।

गृहमन्त्री शर्माले हवल्दार रानालाई बढुवा अथवा पुरस्कृत गर्ने चाहना राखेका छन् । प्रहरी संगठनले गरेको सम्मानलाई लिएर सरकारको आलोचना भइरहेका बेला गृहमन्त्री शर्माले भनेका छन्, ‘प्रहरी हवल्दार दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यवाद दिएको हो । साहसिक कदमको अपमान नगर्न अनुरोध गर्दछु ।’

हवल्दार रानाले दाङको तुलसीपुर –३ को मतदान केन्द्रमा बाहिरबाट प्रहार भएको बम भुँइमा खस्न नदिए बाहिर फालेर सम्भावित मानवीय क्षतिलाई रोकेका थिए । सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार रानालाई गृहमन्त्री शर्माले बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिएका हुन् ।

दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका ३ को आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रलाई रानाले बम विष्फोटको चपेटाबाट जोगाएका थिए ।

असार १४ गते मतदान सकिनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिएका थिए । सोमबार मात्रै डिआइजी बमबहादुर भण्डारीको हातबाट रानाले १५ सयको स्यावासी थापेका थिए । दुर्लव एवं साहसिक काम गर्नेलाई जम्मा १५ सय पुरस्कार दिएको भन्दै सामाजिक संजालमा सरकारको कडा आलोचना भएको छ ।

, , ,