अमेरिकाको मेरिल्याण्डमा दीक्षित बिद्यार्थीहरुलाई सम्मान

तस्बिर : गणेश तामांग 

बाल्टिमोर अमेरिका
जुलाई ३१

नेपाली अमेरिकन कल्चरल सेन्टरको आयोजनामा हिजो मेरिल्याण्डमा ३९ जना बिद्यार्थीलाई सम्मान गरियो । हाईस्कुल र माथिको कक्षाबाट दिक्षान्त भएका बिद्यार्थीलाई सम्मान गरिएको हो । पहिलो पटक भएको यो कार्यक्रमले आफुहरुमा धेरै उर्जा थपेको बिद्यार्थीहरुले बताए । "मलाई अति खुशी लागेको छ र गौरबको महशुश गरेकी छु ।" तीन बर्ष अगाडी अमेरिका आएर यहाँको प्रतिष्ठित कलेजबाट नर्सिङ्गमा मास्टर डिग्री गरेकी एकता कोइरालाले भन्नुभयो ।

"यसरी नेपाली समुदायको बीचमा आफ्ना छोराछोरीहरु सम्मानित भएकोमा अभिभावकहरु पनि धेरै खुशी हुनुभयो । घरमा हामी त्यसै खुशी थियौं त्यो खुशी समुदायमा पनि बाँड्न पायौं । खुशीको सीमा नै छैन ।" छोरीले सम्मान पत्र बुझ्दा स्टेज मै पुगेकी मुना बन्जाडेले हर्षित भावमा भन्नुभयो ।

"नयाँ कामको शुरुवात भएकोले केहि कमीकमजोरी अवश्य भए तरपनि यो ऐतिहासिक कामको हिस्सा हुन पाएकोमा अती नै खुशी छु ।" एकजना स्वयंसेवक गणेश तामांगले भन्नुभयो ।

कल्चर सेन्टरले दिएको सम्मानले आफुहरुको ज्ञानमा स्वाभिमान थपेको भन्दै अमेरिकन युनिभर्सिटीबाट मास कम्युनिकेशनमा माष्टर डिग्री गरेका महेन्द्र पाण्डेयले खुशी ब्यक्त गर्नुभयो ।

"यो ऐतिहासिक कामको चेयर गर्ने र संयोजन गर्ने अवसर मलाई दिनुभएकोमा नेपाली अमेरिकन कल्चरल सेन्टरप्रती हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।" नेपाली अमेरिकन कल्चरल सेन्टरकोतर्फबाट यो कार्यक्रमको जिम्मेवारी पाएका संचारकर्मी तथा सामाजिक व्यक्तित्व सतिश चापागाईंले बताउनु भयो ।

नेपाली अमेरिकन कल्चरल सेन्टरले मेरिल्याण्डको बाल्टिमोरमा बिशाल क्षेत्रफलमा हिन्दु बुद्ध मन्दिरको स्थापना प्रारम्भ गरेको छ । सोही स्थानमा यस पटक पहिलो समर फेमिली फन कार्यक्रम सम्पन्न भएको छ । यहि कार्यक्रमको अवसरमा दिक्षान्त बिद्यार्थीहरुलाई सम्मानको कार्यक्रम राखिएको थियो । कार्यक्रमको अन्य आकर्षणमा बाल मेला, भलिवल प्रतियोगिता, बाघ चाल प्रतियोगिता लगायतका खेल तथा मनोरन्जनात्मक कार्यक्रम भएको थियो ।


, , , , , ,