हस्तक्षेपकारी ढंगले हामी सहभागी हुन जरुरि छ -संजय थापा


आदरणीय दाजुभाइ दिदि बहिनिहरु हार्दिक अभिवादन

आपसी सुख दुखमा साथ रहने, आफ्नो र आफ्नाहरुको स्वार्थ भन्दा समाज र सामाजिक हितलाइ महत्वपूर्ण मान्ने हामी नेपालीहरुको संस्कार हो l आफुलाई सदैव समाजको उन्नति प्रगतिमा लगाउँदा जीवन सार्थक हुन्छ भन्ने शिक्षाले गर्दा जीवन र जगत बुझे देखि यो वा त्यो ढङ्गले म पनि समाजको हित हुने काममा क्रियाशील रहँदै आएको छु |

 चाहे जन्मभुमि नेपालमा हुँदा होस, वा उच्च शिक्षा हासिल गर्न भारत बस्दा होस वा अहिले अमेरिकामा रहँदा होस आफुले जानेसम्म र सकेसम्म आफुलाई समाज उपयोगी बनाउदै आएको छु , आफ्नो समय, योग्यता, क्षमतालाइ समाजको हितमा यो वा त्यो ढंगले प्रयोग गर्दै आएको छु l त्यही क्रममा कहिले मातृभूमिमा निरकुंश पंचायती व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण आन्दोलनको मोर्चामा लागियो त कहिले प्रवासी नेपाली विद्धार्थीको हक हित र सहजताको ग्यारेण्टी गर्ने अभियानमा लागियो |

 कहिले जनप्रतिनिधिको रुपमा आफ्नो गाउँ ठाउँको विकास र जनतालाइ सुशासनको ग्यारेण्टी गराउने मोर्चामा त कहिले निरङ्कुश राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण जनआन्दोलनको मोर्चामा सक्रिय सहभागी भइयो l अनि पछिल्लो बर्षहरुमा अमेरिकाको नेपाली समुदायको सेवामा लागिरहेको, यहाँका नेपालीहरुसंग काँधमा काँध मिलाएर हिंडेको तथ्य त यहाँहरु सवैको सामु प्रष्टनै छ |

 अमेरिकामा क्रियाशील अग्रणी सँस्था प्रवासी नेपाली मंचको बिभिन्न जिम्मेवारीमा रहेर मैले नेपाली समुदायको हितमा गरेको काम सबैका सामु प्रष्टनै छ l मैले उक्त संगठनको प्रमुखको रुपमा पनि एक कार्यकाल विताएको र त्यो क्रममा मातृभुमिमा नेपाल देखि कर्मभूमि अमेरिकासम्म बस्ने नेपाली दाजुभाइ दिदि वहिनीहरुको हितका खातिर दत्तचित्त भएर लागेको सवैका सामु प्रष्ट नै छ l

सदैव एकै व्यक्तिले संस्थाको नेतृत्व ओगटी राख्नु हुदैन भन्ने मान्यताले मैले प्रवासी नेपाली मंच अमेरिकाको नेतृत्व हस्तान्तरण गरेको हुँ भन्ने मलाई जान्ने सम्पूर्णलाइ थाहा छ l कुनै संगठनको नेतृत्वमा रहनु वा नरहनुले सामाजिक सेवा प्रतिको प्रतिवद्धतामा कुनै कमि ल्याउने भन्ने प्रश्ननै भएन, त्यसैले कुनै पनि कार्यकारी पदमा नरहेको अवस्थामा पनि सामाजिक गतिविधिमा सदाझैं सक्रियनै भै रहेकै छु l

यस्तैमा, हामी सवैको साझा संस्था एनआरएन अमेरिकाको नया नेतृत्व छनोटको समय आएको छ l यसको नेतृत्व तहमा सेवाभाव भएका असल र अनुभवी व्यक्तिहरुको छनोट हामी सवैको साझा दाइत्व रहेको छ l दुखका साथ भन्नु पर्छ कि विविध कारणले एनआरएन अमेरिका हामीले अपेक्षा गरेको जस्तो ढङ्गले चल्न सकेको छैन l नेपाली समुदायको विचमा भावनात्मक एकता गराउने सुत्र बन्नु पर्ने एनआरएन अक्सर बिभाजनको कारक जस्तो देखिदै आएको छ l हाम्रो समुदायलाइ यो त्यो ढंगले विभाजित र कम्जोर पार्ने तमाम पहल र प्रयत्नलाइ निस्फल पार्नु र सवैलाई एकतावद्ध गर्नु पर्ने एनआरएनको प्रमुख कार्यभार हुनु पर्ने हो तर यथार्थ त्यस भन्दा धेरै टाढा रहेको छ l

अमेरिकाको कानुन अनुसार दर्ता भएर अमेरिकामा रहेका नेपालीहरुको सेवामा क्रियाशील संस्थाहरुमा आवद्धहरुको विगतको राजनीतिक आवद्धतालाइ हेरेर संस्थाहरुलाई नेपालको राजनीतिक दलहरुको भातृ संगठनको रुपमा चित्रित गर्ने हाम्रा समाजका अपवादका रुपमा रहेका धुन्दकारीहरुको बोलीमा बोलि मिलाउने एनआरएन अमेरिकाको नेतृत्व तहमा रहेका कतिपयको भूमिकाले एनआरएन अमेरिकाको विडम्वनापूर्ण अवस्थाको चित्रण गर्छ | यस्तो अवस्थालाइ बदल्नु पर्छ , एनआरएन अमेरिकालाइ अमेरिकामा बस्ने सबै नेपालीहरुको प्यारो र लोकप्रिय संस्था बनाउनु पर्छ|

एनआरएन अमेरिकालाइ समुदायमा क्रियाशील नेपाली सँस्थाहरुको प्रतिस्पर्धी हैन रक्षक र अभिभावक बनाउने खालको नेतृत्व अहिलेको आवश्यकता हो l समुदायलाइ यो त्यो नाममा बिभाजन गरेर कम्जोर पार्ने हैन बरु अवसर र सम्भावनाहरुको खोजि गर्दै नेपालीहरुको सम्वृद्धि निम्ती वैज्ञानिक योजनाको निर्माण र कार्यान्वयन गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो l त्यसो गर्न छेउमा बसेर यस्तो हुनुपर्छ त्यस्तो हुनुपर्छ भनेर मात्रै हुदैन त्यसको निम्ती त एनआरएनको नेतृत्व छनोट देखि नेतृत्व गर्ने तहसम्म हस्तक्षेपकारी ढंगले हामी सहभागी हुन जरुरि छ l यही सत्यको मनन गर्दै मैले पनि एनआरएन अमेरिकाको आगामी नेतृत्व गर्ने समुहको कमसेकम सदस्यको रुपमा भएपनि रहनु पर्छ र यो संस्थालाइ सवैले विश्वास गर्न सक्ने सँस्था बनाउन भूमिका खेल्नु पर्छ भन्ने निष्कर्ष निकालेर बोर्ड ओफ डाइरेक्टर पदको उमेदवार बनेको छु |

सामाजिक संघ संस्थामा लाग्ने भनेको केहि पाउन हैन दिनको निम्ती , शासन गर्न हैन सेवाको निम्ति हो भन्ने मेरो निरन्तरको विश्वास हो l मैले जीवनमा जुनसुकै संघ संस्थामा जुनसुकै पदमा रहंदा पनि आफ्नो त्यही विश्वास अनुसार काम गर्दै आएको छु | यहाँहरु सवैको साथ समर्थनले म एनआरएन अमेरिकाको नेतृत्व तहमा आउन सफल हुने आशा र विश्वास लिएको छु | यहाँहरुको अमुल्य मतले निर्वाचित भएको अवस्थामा आफ्नो कार्यकाल भरि यहाँहरुको सेवामा लागिरहने, यहाँहरुको अधिकार रक्षा, यहाँहरुको निम्ती अवसरको खोजि, र अधिकार सहितको अवसरको उपयोग मार्फत यहाँहरुको सम्वृद्धिको निम्ती क्रियाशिल रहने प्रतिवद्धता गर्दछु | धन्यवाद |

(संजय थापा प्रवासी नेपाली मंचका निबर्तमान अध्यक्ष हुन् भने एन आर एन अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाईरेक्टरका उमेद्वार हुन् |-सम्पादक )

, , , , ,