गौरी जोशीद्वारा बिनासर्त मुद्धा फिर्ता, छिटो निर्वाचन गर्न माग


एनआरएन अमेरिकाको बिरुद्ध अमेरिकाको टेनिसी अदालतमा दायर गरेको मुद्धा गौरी जोशीले फिर्ता लिएको घोषणा गरेका छन् । निर्वाचन आयोगले उमेद्वारको सूचीमा आफ्नो नाम नराखेकोले आफुलाई अन्याय भएको भन्दै जोशीले अदालतमा मुद्धा दायर गरेका थिए । उनले निर्वाचन आयोगलाई पनि बिपक्षी बनाएका थिए ।

"निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ।" गौरी जोशीले सार्बजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा थप भनिएको छ - "यसबाट एनआरएन अमेरिकामा सहमति र सहकार्यको वातावरण वनोस भन्ने आग्रह पनि गर्छु । अव छिटो निर्वाचन भई नयाँ कार्यसमिति आओस भन्ने मेरो माग छ ।"

जोशी द्वारा जारी बिज्ञप्ति यसप्रकार छ:

प्रेस विज्ञप्ति
आदारणीय नेपाली समुदाय
एनआरएन अमेरिका अहिले अप्ठ्यारो स्थितिमा अल्झिएको यहांहरु सबैलाई सर्वविदितै छ। अमेरिका बस्ने नेपाली समुदायको सबैभन्दा ठुलो संस्था यो स्थितिमा आओस भन्ने हामी कसैको पनि चाहना थिएन । अहिलेको स्थितिले केही साता पछि काठ्माडौ आयोजना हुन लागेको एनआरएनए विश्व सम्मेलनमा पनि अमेरिकाको प्रतिनिधित्वको विषयमा अन्यौलता आएको छ । यो अन्यौलताले हामी विश्व एनआरएन अभियानमा पछाडि पर्छौ कि भन्ने जोखिम पनि थियो। म अहिले यो अन्यौलतालाई आफूले नै निकास दिन अग्रसर हुने निष्कर्षमा पुगेको छु ।
यहांहरु सबै जानकार नै हुनुहुन्छ, विभिन्न परिस्थितिजन्य कारणले विवाद हुन पुग्यो । हुनु त समस्या नयाँ थिएनन । विगत २ वर्ष देखिनै एनआरएन अमेरिका यही समस्यामा कहीँ कतै अल्झिएको अवस्था थियो । मुद्दा मामिलामा जाने मेरो कुनै चाहना थिएन । तर, पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।
मेरो उम्मेदवारी प्रति यहाँहरूको अपार सहयोग र समर्थन थियो। यही बलले मलाई नेतृत्व लिन प्रेरित गरिरहेको थियो । एनआरएन अमेरिका वास्तवमा अमेरिका बस्ने नेपाली समुदायको हितको लागि होस भन्ने यहाँहरूको चाहना थियो । तपाईँहरूको चाहना अनुसार नै मैले यसलाई मुख्य मुद्दा बनाएको थिएँ । मैले अहिले अदालतमा दायर मुद्दा फिर्ता लिए पछि पनि समुदायको सहयोग र हितका लागि सधैँ तपाईहरुकै साथमा उभिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । एनआरएन अमेरिकालाई अझ संस्थागत, विवादमुक्त र समुदायको हितका लागि काम गर्न संस्था बनाउन म तपाईहरुसंगै एनआरएन अमेरिकामा सक्रिय भइरहने छु ।
निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ। यसबाट एनआरएन अमेरिकामा सहमति र सहकार्यको वातावरण वनोस भन्ने आग्रह पनि गर्छु । अव छिटो निर्वाचन भई नयाँ कार्यसमिति आओस भन्ने मेरो माग छ । हामी नेपाली समुदायलाई आफ्नो एनआरएन अमेरिकाको नेतृत्व छान्ने जिम्मेवारी छिटो दिन पनि म सम्बन्धित सबैलाई आग्रह गर्छु । तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न मेरो अनुरोध छ ।
अन्त्यमा, यहांहरुले दिनु भएको सहयोग सद्भाव र समर्थनको म सधैँ ऋणी रहने छु ।
धन्यवाद
गौरी राज जोशी
टेक्सस ड्यालस - अमेरिका

, , , ,