बाल्टिमोरस्थित नेपाली मन्दिरको आँगनमा भब्य महोत्सव सम्पन्न



बाल्टिमोर, अमेरिका
जुलाई ३१


नेपाली अमेरिकन कल्चरल सेन्टरको जुलाईको २९ र ३० मा आयोजना गरेको समर फेमिली फन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

दुई दिने यो कार्यक्रम नेपाल महोत्सव जस्तै भब्य र सभ्य भएको आयोजक कल्चरल सेन्टरका एक युवा शालिक वाग्लेले बताए । उनले भने-"मेरिल्याण्डका अधिकांश नेपालीको सहभागिता रहेको थियो । साथै आसपासका राज्यका नेपालीहरुको सहभागिताले हामीलाई झन् हौसला थपेको छ ।"

"नेपाली कला र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले यो संस्था खोलिएको हो । यहाँ रहेका हरेक नेपालीको क्षमता अनुसारको साथ, सहयोग र समर्थनले कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।" संस्थाको संस्थापक मध्यॆका एक अगुवा क्रिस घिमिरेको प्रतिक्रिया थियो ।

 दुई दिनमा झन्डै २ हजार नेपालीले सहभागिता जनाएको र नेपालीपन झल्काउने धेरै कार्यक्रम भएको डा. श्याम कार्कीको बिचार छ ।

कार्यक्रममा तेक्वान्दो प्रतियोगीता सम्पन्न गरेकी एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोकी संचालक कल्पना कार्कीले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताईन । हजारौं नेपालीका माझमा प्रतियोगीता गर्न पाउँदा नेपाल हुँदा कै झल्को मेटिएको कल्पनाको अनुभव छ ।

ज्ञानेन्द्र श्रेष्ठ भर्खरै युनिभर्सिटीबाट पढाई सकेका एक बिद्यार्थी हुन् । अमेरिका आएको लामो समय भयो । उनलाई सोही कार्यक्रममा सम्मान पनि गरियो । पारिवारिक जिम्मेवारी बहन गर्दै पढ्दै गरेका श्रेष्ठले आफू सम्मानित हुदा खुशी र गौरबको महशुश गरेको बताए ।

हाईस्कुल र माथिको कक्षाबाट दीक्षित भएका ३९ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो  । पहिलो पटक भएको यो कार्यक्रमले आफुहरुमा धेरै उर्जा थपेको बिद्यार्थीहरुले बताए । "मलाई अति खुशी लागेको छ र गौरबको महशुश गरेकी छु ।" तीन बर्ष अगाडी अमेरिका आएर यहाँको प्रतिष्ठित कलेजबाट नर्सिङ्गमा मास्टर डिग्री गरेकी एकता कोइरालाले बताईन ।

"यसरी नेपाली समुदायको बीचमा आफ्ना छोराछोरीहरु सम्मानित भएकोमा अभिभावकहरु पनि धेरै खुशी हुनुभयो । घरमा हामी त्यसै खुशी थियौं त्यो खुशी समुदायमा पनि बाँड्न पायौं । खुशीको सीमा नै छैन ।" छोरीले सम्मान पत्र बुझ्दा स्टेज मै पुगेकी मुना बन्जाडेले हर्षित भावमा भनिन ।

"नयाँ कामको शुरुवात भएकोले केहि कमीकमजोरी अवश्य भए तरपनि यो ऐतिहासिक कामको हिस्सा हुन पाएकोमा अती नै खुशी छु ।" एकजना स्वयंसेवक गणेश तामांगले बताए ।

कल्चर सेन्टरले दिएको सम्मानले आफुहरुको ज्ञानमा स्वाभिमान थपेको भन्दै अमेरिकन युनिभर्सिटीबाट मास कम्युनिकेशनमा माष्टर डिग्री गरेका महेन्द्र पाण्डेयले खुशी ब्यक्त गरे ।

"यो ऐतिहासिक कामको चेयर गर्ने र संयोजन गर्ने अवसर मलाई दिनुभएकोमा नेपाली अमेरिकन कल्चरल सेन्टरप्रती हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।" नेपाली अमेरिकन कल्चरल सेन्टरकोतर्फबाट यो कार्यक्रमको जिम्मेवारी पाएका संचारकर्मी तथा सामाजिक व्यक्तित्व सतिश चापागाईंले बताए ।

नेपाली अमेरिकन कल्चरल सेन्टरले मेरिल्याण्डको बाल्टिमोरमा बिशाल क्षेत्रफलमा हिन्दु बुद्ध मन्दिरको स्थापना प्रारम्भ पनि गरेको छ । सोही स्थानमा यस पटक पहिलो समर फेमिली फन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अन्य आकर्षणमा बाल मेला, भलिवल प्रतियोगिता, बाघ चाल प्रतियोगिता, योगा, ट्यालेन्ट शो, र मैत्रीपूर्ण दौड लगायतका खेल तथा मनोरन्जनात्मक कार्यक्रम थिए । बिभिन्न किसिमका नेपाली खानाको परिकार पनि कार्यक्रमस्थलमा उपलब्ध थियो ।

यसप्रकारको कार्यक्रमले नेपालीलाई एक ठाउँमा जुटाउने र रमाईलो प्रदान गर्ने पुराना पत्रकार तथा समाजसेवी तरुण पौडेलको भनाई छ । सेन्टरले नाम अनुसारको काम गरेको पौडेलको विचार छ ।

सबैको सहयोगले कार्यक्रम भब्य भएको र आगामी बर्षमा पनि निरन्तरता दिईने कार्यक्रममा सक्रिय युवा तथा सामाजिक व्यक्तित्व श्रीजन ताम्राकारको भनाई छ ।

(सबै तस्बीरहरु क्रिस उप्रेतीको फेसबुकबाट लिईएको हो । सम्पादक )










, , , , , , , ,