प्रहरी इन्काउन्टरमा प्रवीण खत्रीको मृत्यु


काठमाडौं: ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ ।

लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो ।

प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।उनले भने, ‘दुई वटा पेस्तोल भेटिएको छ । प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली हाने थाहा छैन ।’

एसपी प्रकाशजंग कार्कीका अनुसार प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट हामफालेका खत्री भाग्ने प्रयास गरे ।प्रहरीका अनुसार खत्री १० वर्षदेखि लागु औषध सेवन गरिरहेका छन्।

उनले घर परिवार र छिमेकीलाई निकै दुःख दिने गरेका थिए। प्रहरीका अनुसार केही वर्ष अघि लागूऔषध नियन्त्रण ब्युरोको टोलीले घरमा छापा मारेको थियो।  त्यसबेला उनले आफ्नै बालक छोरालाई मारिदिनेसम्मका धम्किदिएपछि लागूऔषधको टोली फर्किएको थियो।

प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।

,