मैले मुद्धा मामिला गर्ने छैन - सर्बज्ञ वाग्ले


सर्बज्ञ वाग्ले एनआरएन अमेरिकाका मिडिया कोअर्डीनेटर हुनुहुन्छ । एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा वाग्ले पश्चिम क्षेत्रीय उपाध्यक्षमा पदमा उठ्नु भएको छ । निर्वाचनको सेरोफेरोमा रहेर वाग्लेसंग द नेपाल टुडेले गरेको कुराकानी प्रस्तुत छ :

वाग्ले जी तपाईको उमेद्वारी किन ?

मैले मिडिया कोअर्डीनेटर भएर काम पनि गरें । संस्थाको कामको अनुभब हासिल गरें । मलाई अब एक पटक आफ्नै क्षेत्रको उपाध्यक्ष भएर काम गर्न र सेवा गर्न मन लाग्यो । सबै साथिहरुको आग्रह पनि त्यही रह्यो । त्यसैले मैले उमेद्वारी दिएँ ।

तपाईले के त्यस्तो उल्लेख्य काम गर्नुभयो की फेरी उठ्दै हुनुहुन्छ ?

व्यक्ति केहि होइन टिमको कुरा मुख्य हो । वर्तमान कार्यसमितिले धेरै काम गरेकोछ । हामीले ती सबै कामहरुलाई वेबसाईटमा पारदर्शिताका साथ राखेका छौं । यो कार्यसमितिका सबै कामहरुलाई मिडियामा लैजाने र सबैलाई सुसुचित गर्ने काममा मैले मेरो जिम्मेवारी शतप्रतिशत पुरा गरेको जस्तो लाग्दछ । बाँकी कुरा मतदाताले देख्ने र भन्ने कुरा हो ।

वर्तमान कार्यसमितिले उल्लेख्य काम गर्न नसकेको आरोप छ नी !

त्यो आरोप मात्र हो । हामीले धेरै कामहरु गरेका छौं । हामी आउदा नआउदै नेपालमा ठुलो भुकम्प गयो । त्यो भूकम्पका बेला हामीले सिधै नेपाल पुगेर चहराईरहेका घाउमा मल्हम लगाउने काम गर्यौं । हामीले पैसा मात्र पठाएर सन्तुष्ट भएर बसेनौं । हामी आफै गएर पिडितका सेवामा लाग्यौं । अमेरिकी सरकारले दिने टिपीएस सुविधाका लागी पहल गर्दै सफलताका साथ् त्यो सुबिधाबाट नेपाली समुदाय लाभान्वित हुने बाताबरण तयार गर्यौं । अमेरिकामा भएका सबै समाजिक काममा हामीले नेतृत्व लिन सफल भएका छौं । यो समितिले अमेरिकामा एनआर एनका मुद्धाहरुलाई र संस्थालाई सबैको पहुँचमा पुर्याउन सफल भएको छ ।

 तपाई डाक्टर पौडेलको नेतृत्वमा हुनुहुन्छ किन?

नेतृत्वका हिसाबले डाक्टर केशब पौडेलले अति प्रभावकारी भूमिका खेल्नु भएको मैले ठोकुवाका साथ भन्न सक्दछु । उहाँ कै कारण यो संस्थाले यो उचाई हासिल गरेको छ ।
अन्यथा यो संस्थालाई अदालतमा लगेर काम गर्न नदिने र खारेजीसम्म गराउने खेल भएको थियो ।

तपाईका योजना र एजेन्डा केके हुन् ?

एन आर एन एउटा बृहत संस्था हो  । बिदेशिएका सारा नेपालीको सहयोग र उत्थानमा समर्पित यो संस्थाका केही महत्वपूर्ण निर्दिष्ट मुद्धाहरु छन् त्यसैको पथमा लग्नु हाम्रो र मरो योजना हो । साथै यो क्षेत्रको तर्फबाट उमेद्वारी दिएको कारण मेरो अर्को उद्देश्य यस क्षेत्रका नेपालीको दैनिक जीवनमा आवश्यक पर्ने सहयोगका लागी तत्पर हुनु, उहाँहरुका समस्या समाधानमा लाग्ने मेरो एजेन्डा भित्र पर्छन । साथै यहाँका नेपालीहरुका संघसंस्थासंग मिलेर कामगर्नु पनि मेरो योजना भित्र पर्दछ । एजेन्डाका कुरा गर्दा नेपालमा लगानीका लागि पहल गर्ने, संस्थालाई राजनिती मुक्त बनाउने, अमेरिकाका बिभिन्न राज्यमा नेपालीहरुको सामुदायीक भवनहरु निर्माणमा सहयोग गर्ने, आपद विपदमा सहयोग र उद्धार गर्न कोष खडा गर्ने, अमेरिकामा रहेका नेपालीका लागि निशुल्क कानुनी परामर्श र सुचना केन्द्र निमार्ण गर्ने लगायत छन् । मेरा योजनाहरुलाई मैले आफ्नो चुनाबी घोषणा पत्रमा उल्लेख गरेर सार्बजनिक पनि गरिसकेको छु ।

चुनाव जित्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?

म पूर्ण रुपमा ढुक्क छु । सबै साथीभाईहरुले गरेको अनुरोध मैले मानेको हुँ । मलाई जिताउन उहाँहरु नै लाग्नु भएको छ ।

चुनाबमा पराजित हुनुभयो भने के गर्नुहुन्छ ? मुद्धा मामिलाको सोच छ की छैन ?

यो त म सोच्न पनि सक्दिन । गएको दुई बर्षमा हामीले धेरै काम गर्न सक्थ्यौं तर यही मुद्धाका कारण हाम्रो धेरै समय र पैसा सकिएको छ । यो काम बिर्सेर पनि गर्न हुदैन । नियम मानेर खेल खेलिसकीपछि म त्यही नियममा बस्छु । अरु नियम देखाएर बाह्र सत्ताईस कुरा गर्ने छैन । यदि म पराजित भएँ भने पराजय स्वीकार गर्दछु र बिजेता साथीलाई ससम्मान बधाई दिनेछु ।

, , , , , ,