बाहिर भारतको कडा विरोध गर्ने भीम रावल राजदूतको अगाडि हुँदा भने किन यति नरम ?


श्रावण ३०, २०७४

काठमाडौं । भारतको चर्को विरोध गरेर नेपाली जनताको मन जित्न सफल नेकपा एमाले र त्यसमा पनि भारतको विरोधमा आक्रामक रुपमा प्रस्तुत हुने पार्टी उपाध्यक्ष भीम रावल भारतीय अधिकारीहरुको अगाडि परेपछि भने कति नरम बन्छन् भन्ने स्पष्ट देखिएको छ ।

सोमबार रिपोर्टर्स क्लवले यस विषयमा एउटा नयाँ संयोग जुराई दिएको थियो । क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरी र भीमरावल सँगै विभिन्न पार्टीका अन्य नेताहरु पनि एउटै मञ्चमा थिए ।  सो कार्यक्रममा भारतीय राजदूतलाई तराईका डुवान लगायतका बारेमा रावलले राम्रै झड्का दिन्छन् भन्ने धेरैको आशा थियो ।

तर, एमालेमा भारत विरुद्ध आक्रामक अभिव्यक्ति दिने रावलले धेरैले सोचजस्तो भारतीय राजदूतलाई गतिलो जवाफ हुनेगरी भाषण गर्न सकेनन् । बाहिर ठूलाठूला भाषण गर्ने रावल राजदूतको अगाडि भने एकदमै कमजोर भाषण दिएर फर्किए ।

आईतबार मात्रै रावलले केही अन्य सांसद्हरुको समर्थन लिएर व्यवस्थापिका संसद्मा भारतका कारण नेपालमा डुवान भएको भनेर सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । त्यो प्रस्तावमा उनले भारतकै कारण डुवान भएको ठोकुवा गरेका थिए । तर, सोमबारको रिपोर्टर्स क्लवको कार्यक्रममा भने उनले सिधै भारतका कारण नेपालमा समस्या भएको बताउन सकेनन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध नयाँ नभएको भन्दै पुरानो सम्बन्धलाई अझ मजवूत बनाउनको लागिनेपाल भारतबीचका केही सन्धिहरु परिमार्जन गर्नुपर्ने बताएका थिए । उनले संसद्मा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावको सम्बन्धमा भने उनले घुमाएर कुरा गर्न पुगे ।

उनले भने,‘तराई डुबेको छ, लक्ष्मणपुर बाँध, महाकाली, कोशीब्यारेज लगायतबाँधले जनधनको क्षति भईरहेको छ, प्राविधिक पक्षका कुराका आधारमा भन्ने हो भने भारतले एकतर्फी बाँध निर्माण गरेको भन्ने छ, यस्तो गल्ती भएको छ भने तत्काल सुधार हुनुपर्छ।’ उनले पहिले भारतले एकतर्फी बाँध निर्माण गरेर नेपाल डुबाएको भन्ने गरेकोमा राजदूतसँगै मञ्चमा बसेर कुरा गर्दा भने उनी किन डराए ? भन्नेबारे धेरैले आश्चर्य व्यक्त गरेका छन्  । हाम्राकुरा डटकम ।

, , , ,