किन फसे गौरी जोशी

गौरी जोशी अमेरिकाको एनआरएनमा ह्वात्तै आएको नाम हो । खोलो नै नभएको ठाउँमा बाढी आएजस्तै जोशी एनआरएन अमेरिकामा अचानक आए । जोशी जस्तो व्यक्तित्व एनआरएन अमेरिकामा आउनु सौभाग्यको कुरा हो तर आफैले आफ्नो समय र आफ्नो क्षमता चिन्न नसक्दा जोशी नउदाउदै अस्ताउने भएका छन् ।

एउटा उज्ज्वल भबिष्य भएको शालीन व्यक्तित्व कसरी यति चाडै बलिको बोको भयो ? गौरी जोशीको यो पाटो भने अत्यन्तै रहस्यमय छ । आफ्नै व्यापार ब्यबसायमा रमेर बसेका जोशीको उदय र उत्थानका कुरा नबुझी उनको ओरालो लागेको यात्राको पत्तो हुदैन । उनको ओरालो यात्राको चर्चा गर्नु अघि शुरु गरौँ जोशीको उकालो यात्राबाट !
गौरी जोशीलाई यो क्षेत्रमा ल्याउने प्रमुख र सबैले चिनेका पात्र हुन् डाक्टर -केशब पौडेल । र पर्दा पछाडीका पात्रहरु हुन् डा. यादब पण्डित, बिष्णु सुबेदी, प्रमोद सिटौला र हरिबोल भण्डारी ।

अघिल्लो निर्वाचनमा डाक्टर पौडेलको शानदार बिजयका पछाडी यही टिमको ठुलो हात थियो । अमेरिकाको जनसम्पर्क समितिमा प्रभावशाली यी ब्यक्तीहरु एनआरएन अमेरिकामा आफ्नो प्रभाव सधै राखिराख्न चाहन्थे ।
सोही अनुरुप यो टोली पेशाले ईन्जिनियर र रियल्टर अनि भावनाले समाजसेवी गौरी जोशीसंग सम्पर्कमा आयो । पटक पटकको छलफलपछि आगामी अध्यक्षमा उनलाई अगाडी ल्याउने निर्णयमा पुग्यो । सबैको सल्लाहमा जोशीलाई नेपाल गएको मौकामा कांग्रेसका महामन्त्री शशांक कोइराला लगायतका नेताहरुसंग भेट गराईयो । जोशीले आफु कांग्रेस कै प्यानलमा चुनाब लड्ने घोषणा पनि गरेका थिए । सिधै कांग्रेस भएर नदेखिएका जोशीले कम्युनिष्ट सोच र विचारलाइ अति नै घृणा गर्ने गरेको निकटहरुसंग बताउने गर्दथे । त्यसैले नै यो समूह उनिप्रति आकर्षित भएको थियो ।

एउटा राम्रो ब्यक्ती पाएपछि यो समूह गौरी जोशीको प्रचार प्रसारमा जुटेको थियो । मिडियामा चर्चा गर्ने काम प्रमोद सिटौलाले पाएका थिए । एनआरएन भित्रको जिम्मा डाक्टर पौडेलले पाए । जनसम्पर्कभित्रको जिम्मा सुबेदी र हरिबोलले लिए । बौद्धिक र पेशागत ब्यक्तिहरुको जिम्मा डाक्टर यादब पण्डितले पाए । त्यसपछि गौरी जोशीको नाम अमेरिकी नेपाली माझ आउन थाल्यो । यहि टिमले जोशीको नाम रोशन गर्यो भन्दा फरक पर्दैन ।
यो टोलीको दाँतमा ढुंगा त्यतिबेला लाग्यो जतिबेला नेपालको परराष्ट्र मन्त्रालयले आईसिसिको बिधानमा हेरफेर गरेर एनसिसिको अध्यक्ष पदको उमेद्वार बन्न एक कार्यकाल कार्यसमितिमा बसेर काम गर्नै पर्ने स्पष्ट ब्यबस्था गर्यो । बिधानको यो परिबर्तनले जोशीको मात्र होइन पौडेल, पण्डित, सिटौला, सुबेदी सबैको दिमाग रन्थनियो । जनवरीमा यो नियम पारित भएपछी मार्चमा यो टिमको गोप्य बैठक बस्यो टेक्सासमा । लगत्तै उनीहरु अमेरिका हेर्ने आरसी र डीआरसी सोनाम लामा र एसी शेर्पासंग छलफलमा जुटे । सबैजनाको सल्लाहपछि पनि जोशीको बाटो यो पटकको लागि बन्द भएको निष्कर्ष निस्कियो । सोहि सल्लाहको अर्को निष्कर्ष बन्यो अध्यक्षमा डाक्टर पुन: अध्यक्ष बन्ने र जोशीलाई बरिष्ठ बनाउने । अध्यक्ष बन्ने सपना देखेका जोशीले साथीहरुको निर्णयलाई माने र सहमति पनि गरे ।
दुई बर्षे कार्यकालमा सोचे अनुरुपका काम गर्न नपाएका बर्तमान अध्यक्ष पौडेल राम्रो नेतृत्व स्थापित गराएर पुन: काममा फर्किने र केन्द्रतिर जाने सोचमा थिए । अन्तिम समयसम्म पनि उठ्ने सोचमा थिएनन । तर जोशीको बाटो बन्द भएपछी आफ्नो टिमको सल्लाहमा डाक्टर उठ्न मानेका थिए । पौडेल अध्यक्ष र जोशी बरिष्ठमा उठ्ने भएपछी यो टिमभन्दा बाहिर ठुलो हङ्गामा भयो ।

मुख्य हंगामा आनन्द विष्ट समुहमा भयो । जोशी जस्तो ब्यक्तीलाइ अर्को समूहले आफ्नो पक्षमा पारेको थाहा पाएपछि विष्ट समुहले तेस्रो बुद्धी प्रयोग गर्यो । 'आए आँप गए झटारो' सिद्धान्त बोकेको यो समुहले जोशीलाई त्यो समुहबाट अलग गराउने र आफुले फाईदा लिने सोच बनायो । जसको शिकार बने जोशी । सारा छलफलपछी अध्यक्षमा उठ्न नपाउने निर्णयमा आफै पनि पुगिसकेका जोशी यो समूहले फालेको पासोमा फसे । डाक्टर सफल भएमा आफ्नो केन्द्रको भबिष्य खतरा देखेका जी.सी मार्फत कानुनका सामान्य छिद्रहरु देखाएर जोशीलाइ फसाउने काम भएको प्रष्टै छ । यो टोलीमा जोडिन आईपुगेका छन् केन्द्रिय महासचिव बद्री के.सी. । जुन कुरा टेक्निकल बुद्धि भएका जोशीले बुझ्नै सकेनन । फलत: अहिले जोशी बलिको बोको मात्र बन्न पुगेका छन । उनलाई अहिले सबैले क्षणीक उपयोग गरिरहेका छन् । उनलाई उपयोग गर्न जोडिएको पछिल्लो समुह प्रवासी नेपाली मंच हो ।

जोशीको चर्चा धेरै छ भन्ने हरु धेरै छन् तर जोशी आफैले बुझ्नु भएको कुरा के हो भने यो सबै चर्चा त्यही पहिले कै टिमले बनाईदिएको हो । पछिका सबै चर्चा या त पैसाले आएको छ या त तत् समूहको निहित स्वार्थबाट प्रेरित छ ।
अहिले जोशीलाई चौतर्फी घेराबन्दीमा पारिएको छ । जोशी केहि समय अगाडीसम्म सहमतिमा जान तयार पनि थिए । उनलाई केन्द्रको चिट्ठी जसरी भएपनि ल्याउने आशा देखाईयो । केन्द्रमा ३ सदस्यीय समिति पनि बनाईयो । यसका पछाडी दुईटा उद्देश्य छन । एउटा सहमति हुन नदिने, अर्को अदालत पनि जान नदिने । अदालतले उनिहरुले सोचेजस्तो निर्णय दिन्न भन्ने कुरामा कम्तिमा जी.सी प्रष्ट छन् ।
त्यसैले अहिले उनीहरुको एउटा प्रमुख रणनीति भनेको जोशीलाई डाक्टर समूहसंग मिल्न नदिनु नै हो । जोशीलाई फसाउने जी.सी.,केसी र विष्ट समूहको मुख्य उद्देश्य उनलाई पहिलो समुहबाट अलग गराउनु मात्र हो । जोशीले जित्नेमा यिनलाई विश्वास पनि छैन र जिताउने उनीहरुको योजना पनि होइन । उनिहरु यत्ति चाहन्छन की सुबेदी समूहको जनसम्पर्क समिति र डाक्टर पौडेल नेतृत्वको सामाजिक ब्यक्तिहरुको टिममा कोही बलियो सम्भावना भएको क्षमतावान ब्यक्ति नआओस । त्यसको नजानेर शिकार भए ईन्जिनियर जोशी ।

अमेरिकामा रहेका नेपालीको दुर्भाग्य एउटा तारा नउदाउदै आस्ताउने भयो । उसको गर्भ मै हत्या हुने भयो । यिनै भ्रष्ट र खुराफाती समूहको चंगुलमा फसेर अमेरिकाको नेपाली समुदायमा राम्रो सम्भावना बोकेका सानुबाबु सिलवाल, नगेन्द्र पौडेल र गणेश कुँवर सहिद भैसकेका छन् । केहि दिनभित्रमा सहि निर्णय लिन सकेनन भने गौरी जोशी पनि यहि समूहमा चौथो नम्बरमा थपिने पक्का छ ।

, , , ,