बधाई छ टिम बन्दिता !


सतिश चापागाईं  
द नेपाल टुडे डेस्क 
सेप्टेम्बर १५, 

धेरै तनाब र कसरतपछि एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन एउटा प्रक्रियाको हो । यो प्रक्रियाले कसैका भागमा जीत र कसैका भागमा हार छुट्याएको हुन्छ । तर, एनआरएन अमेरिकाको यो पटकको निर्वाचन जीत र हारमा सिमित भएन । यसले नसोचेका अरु धेरै उल्झनलाई झेल्नु पर्यो । तिनै उल्झनको सामना गरिन निर्वाचन आयोगकी प्रमुख बन्दिता शर्मा दाहालले ।

सन् २०१५ को मार्चमा बाल्टिमोरमा सम्पन्न संस्थाको साधारण सभाले नियमानुसार निर्वाचन आयुक्तको मनोनयन गर्यो । उनी थिईन -बन्दिता शर्मा दाहाल । यिनै दाहाल बितेका तीन महिना अमेरिकाका नेपालीहरु माझ धेरै चासोको बिषय बनिन । हुन त मैदानमा घगडान ब्यक्तीहरु थिए । आ-आफ्ना क्षेत्रमा सबै हेवी वेट । तर, यो यस्तो खेल भयो जहाँ रेफ्रीको भूमिकालाई लिएर ज्यादै नै चर्चा भईरह्यो । 

चुनाव सम्पन्न भैसक्यो, तपाईको अनुभव कस्तो रह्यो भनेर लेख्न खोजेको ?  मेरो प्रश्नयुक्त आग्रहमा दाहालले भनिन, "यो त म आफैलाई पनि लेखुम लेखुम लाईरहेको छ । टाईम मिलेको छैन । ह्यान्डओभर नगर्दासम्म ब्यस्त नै हुन्छु । सायद एक दिन लेख्छु होला ।" 

झन्डै आठ महिना अगाडी टेक्सासमा सम्पन्न सम्मेलनपछि निर्वाचन आयोगको सक्रियता शुरु भएको थियो । सेप्टेम्बर ३ र ४ मा भोटिंग भएर ५ गते साँझ परिणाम सार्बजनिक भएपछी पनि दाहालको व्यस्तता उस्तै थियो । पटक पटकको म्यासेजपछि कुराकानीको समय जुरेको थियो । "शुरुका दिनमा परामर्शका कामहरु मात्र हुन्थ्यो, अलि हलुका थियो तर यो तीन महिना अति नै व्यस्त भईयो ।" द नेपाल टुडेसंगको टेलिफोन बार्तामा बन्दिताले भनिन । 

ईमिग्रेशन एटर्नी बन्दिता दाहालले यो जिम्मेवारी स्वीकार गर्दैगर्दा उनलाई यती बिधी नसोचेका समस्याहरुका बीचबाट गुज्रनु पर्ला भन्ने लागेको थिएन । दाहाल भन्छिन- "कन्ट्रोभर्सिज छन भन्ने थियो तर यो डेप्थमा छ भन्ने लागेको थिएन ।" 

अघिल्लो निर्वाचनको प्राक्टिस हेरुंला र नयाँ उचाईका साथ एउटा स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गरुँला भन्ने उनलाई लागेको रहेछ । तर, यो निर्वाचनमा बन्दिताले सोचे अनुसारको खासै केहि भएन । बन्दिताले थपिन, "पहिलेको अनुभवहरुबाट लिनुपर्ने खासै केहि भएन । सबै नयाँ नयाँ भयो ।" 

एनआरएन अमेरिकाको अघिल्लो निर्वाचन पनि विवादमा परेको थियो । निर्वाचनको अन्तिमसम्म सबै नियम मान्दै मान्दै गएका सबै पक्ष मत गन्ने बेलासम्म एक थिए । जब परिणाम सार्बजनिक भयो तब हार्नेले भन्यो -'धाँदली भयो ।' विवाद अदालतसम्म पुग्यो । बिजेता टीमले डेढ बर्षसम्म टेनेसी अदालतमा तारिख थाम्दै ठिक्क भयो । भुक्तभोगीहरु र शुभचिन्तकहरु अब यस्तो नहोस भन्ने चाहन्थे । त्यसैले, यो पटक सदस्यता वितरणदेखि नै साबधानी अपनाईएको थियो । एनआरएन अमेरिकाको कार्य समितिले निर्वाचन समितिसंग परामर्श गरिरहेको थियो । सबै ठीकठाक होलाजस्तो थियो । तर, विवाद नयाँ नयाँ शिराबाट बाहिर आए फरक आयाम बोकेर ।

टेक्सास सम्मेलनपछि ८ महिना देखि आफुहरुको कामको चाप बढ्दै गएको बन्दिता बताउछिन ।  बन्दिता बिगततर्फ घोत्लिन्छिन, "हामीले सदस्यताको बिषयमा धेरै विवाद हुने सोचेका थियौं । मुख्य ल्याकिंग नै त्यही छ । टेक्निकल ईस्युहरुमा पनि धेरै प्रोब्लेम आयो ।"  र थप्छिन "सदस्यता बन्ने र बनाउने बारेमा धेरै नियम छ । तर नियमले फुल्ली काम गरेको छैन । कतिपय सदस्यहरुसंग नाम र आईडी मात्र छ, ईमेल र पासवर्ड छैन । यस्तो कसरी हुन्छ ?" बन्दिताको प्रश्न थियो । आफुहरुले यस्ता बिषयमा बडो साबधानीपुर्बक काम गरेको पनि बताईन ।

यो चुनावलाई नजिकबाट हेर्नेहरुलाई थाहा छ की गौरी जोशीको नाम अध्यक्षको उमेद्वारमा आएदेखि नै चुनावी ताप चर्को भएको थियो । शुरुमा जताततै छाएका जोशीको प्रचार अचानक बन्दप्राय: भयो । जोशी आफैले मनोनयन नदिने सोचमा पुगेका थिए । तर प्रचार प्रसारको तिब्रताले जताततै छाएको आफ्नो नाम र बिभिन्न पक्षहरुसंगको परामर्शपछि जोशी दलबलसहित आए । यसको प्रत्यक्ष असर निर्वाचन आयोगलाई पर्यो । 

यसपटकको निर्वाचनको क्ल्याईमेक्स नै सायद यही थियो ।

बन्दिता भन्छिन, "यो हामीले नसोचेको घटना आयो । सेन्सेसनल नै भयो । सबैले सोध्थे- अब के हुन्छ भनेर ?"

दाहालले घटनालाई प्ले ब्याक गरिन, "हामी एनआरएन अमेरिकाको एउटा सम्बन्धित तर स्वतन्त्र बडी भएकोले हामीले यसको बिधान अनुसारको मात्र काम गर्नु पर्ने थियो । हामी आफैले केहि थपघट गर्न वा विचार गर्न मिल्दैनथ्यो । जोशी जीको नाम हामीले उमेद्वारको लिस्टमा राख्न असमर्थ भयौं । उहाँ अदालत जानुभयो । त्योभन्दा पहिला मैले आवश्यक डकुमेन्ट मागेको हो । आरसी, डिआरसीबाट जानकारी मागे तर महासचिव बद्रि के.सी.को पत्र प्राप्त भयो । त्यो पत्रमा विवाद भएपछी मैले डाइरेक्ट शेष घलेलाई नै पत्र पठाएकी थिएँ ।"

कुरा यही सकिएको छैन । उनले अरु थप भनिन, "जोशीजी अदालत गईसकेपछी आर.सी र डिआरसीबाट पनि पत्र आयो । मैले जोशी जीलाई अब लिस्टमा नाम राख्न मिल्ने जानकारी दिएँ । तर अचानक उहाँले मलाई केहि नभनी अदालतबाट बिनासर्त मुद्धा फिर्ता लिएको जानकारी फेसबुकबाट सार्बजनिक गर्नुभयो । अब हामीले गर्न सक्ने र गर्नुपर्ने केही थिएन । नियम अनुसार हामीले बाँकी काम सम्पन्न गर्यौं ।"

मैले बन्दितालाई सोधें, "तपाईले गौरी जोशीलाई अलि बढी अफ्ठेरो पार्नुभयो र केशब पौडेललाई च्याप्नु भयो भन्ने छ नी ?"

उनले भनिन -"यो बीचमा मैले नियम हेरेर मात्र काम गरेको छु । कसैको पक्ष र विपक्षमा लाग्नुपर्ने आवश्यकता नै छैन । म कानुनको बिद्यार्थी हो, आफ्नो दायरा मलाई थाहा छ । विवादमा आइन्छ भनेर यहिका कतिपय पारिवारिक र सार्बजनिक कार्यक्रम मै म गईन । बिषय न्याक र एनआरएन अमेरिका बीचको सम्बन्धको हो । सबैलाई थाहा छ जस्तो लाग्दछ । मैले ब्यक्तिलाई कहिल्यै हेरिन ।" 

क्लाईमेक्सको यो तनाबका बेला कतै जिम्मेवारी छोड्ने सोच बन्दितालाई आयो होला की नाइँ ? मेरो मनमा यो प्रश्नले जरा गाडेको थियो किनकी उनको एउटा फेसबुक स्टाटसमा मैले यस्तै छनक पाएको थिएँ । हुन पनि बन्दितालाइ धेरै मानिसले यो जिम्मेवारी छोड्न भनेका रहेछन । कोहि आफन्तले मायाले र कोहि निर्वाचनमा उनको भूमिका मन नपराउनेहरुले । त्यो केहि समयको यात्रा सार्है कष्टप्रद रहेछ । अनेक इमेल र म्यासेजहरुको वर्षा हुन्थ्यो रे । जहाँ लेखिएका हुन्थे रे-
-"तिमी जेल जान सक्छ्यौ !" 
-"तिम्लाई जेल हालेरै छाड्ने छौं" 
-आजै राजीनामा देऊ "..... यस्तै यस्तै ।

मेरो प्रश्नको जवाफ दिने क्रममा बन्दिताले भनिन, "मैले यस्तो बेलामा आफ्नो बुवालाई सम्झने गर्छु।" बुबा भन्नुहुन्थ्यो रे -"कि काम नै नलिनु, लिईसकेपछि सम्पन्न गर्नु ।" बुबाको यहि बचनले बन्दितालाई यो निर्वाचनलाई सम्पन्न गराएरै छाड्ने बल दिएको थियो ।

सबैको साथ समर्थन र सुझबुझले निर्वाचन सफलताका साथ सम्पन्न भएकोमा बन्दिता अति खुशी छिन । तर आफुहरुको लामो प्रयासपछिको अन्तिम क्षण प्रविधीले दिएको धोखाका कारण खल्लो भएको उनको बुझाई छ । "हामीले भनेको पनि हो तर त्यो हाम्रो कन्ट्रोलभन्दा बाहिरको बिषय भयो । " बन्दिताले भनिन, "जे होस् सर्वस्वीकार्य निर्वाचन सम्पन्न भएको छ । नियत खराब राखेर केही भएको छैन, प्रबिधीको कमजोरीलाई सबैले बुझ्नु हुन्छ भन्ने लागेको छ ।"

पेशाले अमेरिका मै नाम चलेकी इमिग्रेशन एटर्नी हुन् दाहाल । एक दशकदेखि अमेरिकामा ल प्राक्टिस गर्दै आईएकी छिन । भर्जिनियामा आफ्नै ल फर्म छ । उनको दैनिकी यही बित्छ । सानो एकल परिवार छ उनको । श्रीमान मेडिकल डाक्टर हुन् । ८ र १२ बर्षका दुई छोराहरु छन् । सामाजिक सेवाका क्षेत्रमा रुची भएकाले दाहालले यो अफरलाइ स्वीकार गरेकी हुन् । होइन भने यो दुई महिना उनको पारिवारिक र ब्यबसायिक जीवनमा धेरै नै चुनौतीपूर्ण रहे । उनि सम्झिन्छिन, "दुई महिना त पुरै एनआरएन कै काम गरें । राती दिउसो केहि भएन । जतिबेला पनि फोन, जतिबेला पनि म्यासेज । "

 यो सबै जिम्मेवारी उनको टिमले पूर्ण स्वयंसेवाको रुपमा गरेको दाहाल बताउछिन । 

"अफिसको खर्च र चारजना स्टाफको मात्र खर्च भएको छ । बाँकी हामी चारजनाले पूर्ण स्वयंसेवा गरेका हौँ ।" दाहालले भनिन । मुख्य निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालको समितिमा अन्जन श्रेष्ठ (न्यु योर्क), भुवन गुरुङ (म्यासाचुसेट्स ), बिश्व बराल (न्यु जर्सी ) सदस्य रहेका छन् ।
     
"चन्द्रमामा बरु दाग छ तर बन्दिता बेदाग छन्, यो निर्वाचनका मामिलामा । " नेपाल टुडेका मेरा सहकर्मी र यो निर्वाचनलाई नजिकबाट नियालेका शिव मल्लले भने ।  

हुन पनि बन्दिताको सुझबुझ र धैर्यताले चुनाबको समय केहि दिन बढेपनि यसपटक अदालत जाने बाटो बन्द भएको छ । सहास, धैर्यता र समयसापेक्ष सुझबुझ सहित स्वच्छ निर्वाचन सम्पन्न गराएकोमा बन्दिता र उनको टिमलाई धेरै धेरै बधाई छ । बधाई छ टिम बन्दिता !

, , , , , , ,