एनआरएन अमेरिकाको छैठौं साधारण सभा बाल्टिमोरमा सम्पन्न (सभाका फाेटाेहरु सहित)

बाल्टिमाेर सेप्टेम्वर १६ शनिबार,
एनआरएन अमेरिकाको छैठौं साधारण सभा बाल्टिमोरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन अमेरिकाका लागी नेपाली राजदुत अर्जुनकुमार कार्कीले गर्नुभएको थियो । सो कार्यक्रमलाई अबैतनिक राजदुतहरु प्रेम राजा महत, मधु मरायिनी, केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त र महासचिव बद्रि के.सी लगायतले बोल्नु भएको थियो ।
केन्द्रीय अध्यक्ष घलेले दिएको मन्तव्य जस्ताको तस्तै : सबैभन्दा पहिले म अमेरिकावासी गैर आवासीय नेपाली साथीहरूलाई संस्थाको चुनाव सफल बनाउनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु । साथै निर्वाचनमार्फत चुनिएको टिमलाई पनि बधाई दिन चाहन्छु । निर्वाचनमा जितहार निश्चित छ । तर, संस्थाको आन्तरिक प्रजातन्त्र र प्रतिस्पर्धालाई स्वीकार गरेर यहांहरुले जुन उदाहारण पेश गर्नुभएको छ यसले गैर आवासीय नेपाल संघ र अमेरिकामा रहेका नेपाली समुदायको जीत भएको छ । निर्वाचन सम्पन्न गर्ने सन्र्दभमा पुर्याउनु भएको योगदान र एकताका लागि म यहांहरु सबैलाई बधाई दिन चाहन्छु ।
साथीहरू, हामी गैर आवासीय नेपाली संघको विश्व सम्मेलनको निकै नजिक आईसकेका छौ र विश्वभरि छरिएका सबै एनसीसीहरुमा नयाँ नेतृत्व निर्वाचित हुने प्रक्रिया धमाधम चलिरहेको छ । धेरै गैर आवासीय नेपालीहरूलाई चुनावी चटारोले समात्न थालेका बेला म यहाँहरूको ध्यान केही विगतको समीक्षा र केही आगतको मार्गचित्रमा केन्द्रित गर्न चाहन्छु ।
आजभन्दा १४ वर्षअगाडि नेपालीका लागि नेपाली भन्ने नाराका साथ यो संस्था सुरु भए पनि लामो समयसम्म संस्था सङ्गठित स्वरूपमा आउन सकेन । संस्था स्थापनाको एक दशक पुगिसक्दा पनि हामीले यो भर्चुअल अभियानलाई रियल संस्थामा रूपान्तरण गर्न सकेका थिएनौं । एनआरएनको नेतृत्वका लागि मैले आकांक्षा राख्दा नै भनेको थिएँ कि एनआरएनलाई संस्थागत रूपमा बलियो बनाउनु मेरो पहिलो दायित्व र एजेण्डा हो । एनआरएनको दर्तासंगै सुरु भएको संस्थागत अभियान विगत चार वर्षमा निकै अगाडी बढिसकेको मैले महसुस गरेको छु । तर, अझै धेरै काम गर्न बाँकी नै छ । मैले इमान्दारीपूर्वक भन्नुपर्छ कि मैले सुधारका लागि गरेका सबै कोसिसहरु विविध आन्तरिक कारणले सफल हुन दिईएन । तर, पनि संस्थाको आफ्नै भवन निर्माण, समायानुकुल संरचना परिवर्तन र संस्थालाई स्रोत सम्पन्न बनाउने सन्दर्भमा केही ठोस प्रगति हांसिल भएको छ । तर, सानोतिनो सुधारले हाम्रो संस्थाप्रतिको आशा र विश्वासलाई धान्न नसक्ने ठानेर नै मैले गत वर्षको न्यूजर्सी सम्मेलनमार्फत भिजन २०२० एण्ड बियोण्ड नामक एक मार्गचित्र पेश गरेको यहांहरुलाई बिदितै छ । सबै राष्ट्रिय समन्वय परिषदलाई यसको खाका पठाईसकिएको छ भने न्यूजर्सीमै पनि यसमाथि गम्भीर छलफल भइसकेको छ ।
गैर आवासीय नेपाली समुदायले यसलाई एनआरएनको आगामी मार्गचित्रका रूपमा अंगीकार गरिदिनुभएकोमा मलाई सन्तोष मिलेको छ । किनकीविश्वभर छरिएर रहेका नेपालीहरूको पहिचान र आत्मसम्मानका लागि यो मार्गचित्र नै हामीले देखेको एकमात्र सपना हो । मैले विभिन्न फोरममा भनिसकेको छु कि गैर आवासीय नेपाली संघ आगामी १०, १५ वर्षमा नेपालीमुलका नेपालीहरूको राष्ट्रसंघजस्तो संस्था बनेको देख्न चाहन्छु । अबको १५, २० वर्षमा संसारभरिनै नेपाली मूलका मानिसहरूको संस्था लाखौँमा हुने छ । हो , त्यो बेला हाम्रा सन्ततीहरुको हामी नेपाली मूलका हौ भनेर गर्व गर्ने बनाउन हामीले भिजन २०२० को प्रस्ताव गरेका हौँ । एनआरएनएप्रति जति धेरै आशा र विश्वास बढिरहेको छ, यस अनुसार हाम्रो क्षमता र संरचना नबन्नु अहिलेको तितो यथार्थ हो । त्यही सत्यलाई स्वीकार्दै हामीले संस्थालाई बलियो, क्षमतायुक्त र प्रभावकारी बनाउन भिजन २०२० एण्ड बियोण्डको प्रस्ताव गरेका छौँ जसको कार्यान्वयनले नै तपाईहाम्रो सपना साकार पार्ने छ । हाम्रो पहिचना र आत्मविश्वास बढाउने छ ।
हामी नेपाली मूलका नेपाली भनेर विश्वमाझ चिनिन पाउने छौँ । किनकि नेपालीका लागि नेपाली भन्ने हाम्रो संस्थाको मूल नाराको मर्म केवल नेपालमा रहेका नेपालीको मात्र कुरा हैन, डायस्पोरामा बढ्दो नेपाली समुदायबीचकै हितको पनि कुरा हो । र भिजन २०२० मार्फत यही मर्मलाई समयानुकुल बनाउन खोजिएको हो । त्यसैले यो सपना मेरोमात्र हैन सम्पूर्ण एनआरएनएको हो र विश्वभरका नेपालीहरूको साझा सपना हो । यही साझा सपनाको कार्यान्वयनको सुरुवात आगामी विश्वसम्मेलन मार्फत हुने छ भन्ने मैले विश्वास लिएको छु । यो भिजनलाई आत्मसात नगर्ने र संस्थाको पुर्नसंरचना नगर्ने हो भने हामी बाचा पुरा गर्न नसक्ने लाचार परिस्थितिमा पुग्नेछौं र हामीप्रतिको विश्वास तासको घर झैँ ढल्ने छ । यदि हामीले अबको १० वा २० वर्षमा संस्था कस्तो बनाउने भन्ने योजना बनाउन सकेनौं, त्यहीअनुसारको सिस्टम बनाउन सकेनौ भन्ने संस्था केही सीमित व्यक्तिको वरिपरि घुमिरहने छ भने आम गैर आवासीय नेपालीहरू निश्चित व्यक्तिको इसारामा चल्नुपर्ने बिडम्बनापूर्ण स्थिति आउने छ ।
संस्थालाई पुन संरचना गर्ने संर्घष गर्दागर्दै अब मेरो कार्यकाल सकिनै लागेको छ । यो अवधिमा यहांहरुले मलाई गर्नुभएको सहयोगप्रति म सदैव ऋणी हुने छ । यहांहरुले जुन विश्वास र माया दिनुभयो, त्यसलाई मैले जीवनभर भुल्नेछैन, आगामी दिनमा पनि मातृभूमि र नेपाली समुदायको सेवामा निरन्तर खटिनेछु । अन्त्यमा यहाँलाई गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागी भई आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गरी गैर आवासीय नेपाली संघको उज्जवल भविष्यका पक्षमा आफ्नो मतादेश दिन निम्ता गर्दै म यहाँबाट बिदा चाहन्छु । (अमेरिकामा भएको साधारण सभामा प्रस्तुत केन्द्रीय अध्यक्ष घलेले दिएको मन्तव्य) सभााका फाेटाेहरुका लागि यहाँ क्लिक गर्न सक्नुहुने छ ।

, , , , ,