हाम्रो एनआरएनले नबुझेको राम्रो एनआरएन एजेण्डा


भोला आचार्य

अमेरिका, पछिल्लो समयमा एनआरएनएने जतिनै बढाईचढाई गरेपनि राजनितिक हस्तक्षेप र संस्थाभित्रकै सिन्डिकेटका कारण विवादरहित वन्न सकेको छैन ।

७६ जिल्लामा फैलिएको दावी गर्ने एनआरएनएले विदेशमा रहेका कामदार प्रवासीहरूको सेन्टिमेन्टलिएर स्वदेश विदेशमा आफु अनुकुल राजनीति र व्यवसाय गरिरहेको छ । राजनीति र व्यापारमा फस्टाएको एनआरएनएले मिडियालाई भने फसाउन सकेको छैन । मीडियाको थोरै हिस्सा फसेपनि बॉकीलाई निषेधबाहेकको विकल्प एनआरएनएसँग छैन । यसको पछिल्लो उदाहरण बन्यो बाल्टिमोरस्थित एनआरएनए अमेरिकाको छैठौ साधारण सभा । केन्द्रीय अध्यक्षसहितका उच्च पदाधिकारी सहभागी हुने जानकारी भएपछि हामीले अर्थात उत्तर अमेरिकामा रहेका नेपालीमूलका पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघले एउटा वृहत छलफलको आयोजना राख्ने सोच वनायो । यसका लागी कार्यकारी सदस्य बाल जोशीले प्रस्तुत गर्ने गरि एनआरएनएका केन्द्रीय अध्यक्ष शेष घले, अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुन कार्की र अमेरिकास्थित एनआरएनए अध्यक्ष डा केशव पौडेललाई पेनलिष्टमा राखेर नेजाले कार्यक्रम गर्ने निर्णय गर्यो । पेनलिष्टहरूको अनुमतिमा कार्यक्रम गर्नेगरि  सूचना सार्वजनिक  गरियो ।

 कार्यक्रमको मोडरेटरसमेत रहेका नेजा सदस्य जोशी टेक्सासबाट उडेर अघिल्लो दिन बाल्टिमोरमा पुगे तयारीका लागी । जोशीसहित स्थानिय ठाउमा रहेका नेजाका बरिष्ठ उपाध्यक्ष गुणराज लुईटेल लगायतका सहकर्मी साथीहरूले कार्यक्रमको तयारीलाई अन्तिमरूप दिएको खबर पेनलिष्ट र सहभागीसवैलाई जानकारी गराए । म घरायसी व्यस्तताले कार्यक्रमस्थल पुग्न नसकेपनि सम्पर्कमै थिए । विहान १०:३० देखी वेलुकी ५ बजेसम्म हुने भनिएको सभा  सकिएपछि हामीले वेलुकी ५ बजे गर्ने भनेर कार्यक्रमको तालिकासहित निश्चित गरेको कार्यक्रम समयअभावले स्थगित भएको खबर साथीहरूले सुनाए । सुनियो अर्थात सुनाईयो कि सभाकै आन्तरिक कार्यक्रमहरूले हाम्रो कार्यक्रमलाई ओभरल्याप गरेछन ।

आफ्नो कार्यक्रमको तालिकासमेत तयार नगरेको आयोजक संस्थाको जिम्मेवारीमा नेजाले उनीहरूकै क्षमता विकासको लागी राखेको छलफललाई समय पुगेनछ । यदि त्यसो हो भने विकल्प समय मिलाउने क्षमता पनि त आयोजक साथीहरू जसमध्य सभाका संयोजकले राख्नुपर्दैन ? संयोजकले प्रस्तुत गरेको कार्यतालिका निर्णय गर्दा नवनिर्वाचित अध्यक्षले समेत समय अभावको संकेत दिएर हुननसक्ने सल्लाह दिन पनि त सक्थे । नगरेर नहुने के थियो र !

त्यसो त व्यक्तिगतरूपमा यस क्षेत्रका एनआरएनका साथीहरूको नाडी छामीसकेको म कम आशावादी भैसकेको छु तर पनि संस्थागत भूमिकालाई संचार गर्ने आफ्नै संस्था भित्रका साथीहरूको कर्ममा हौसला दिनु मेरो नैतिक कर्तव्य भएकोले हामी यसमा लागेका थियौं । पछि सभाको समाचार र भिडियो हेर्ने मौका मिल्यो । त्यहॉ त सभा धेरैजसौ पछाडी फर्केर सकिएको चुनावमै घुमिरहेको रहेछ । नतिजाकै विषयमा आरोप प्रत्यारोपको लामा अभिव्यक्तिहरू बज्रिएका रहेछन । अघिल्लै कार्यकालको जस्तो मुद्दामामिलाको प्रयास विजारोपन गर्ने तर्कहरू चलेछन । आफ्नै हैसियत प्रचार प्रसारले कार्यक्रम लम्विएको रहेछ ।

नवनिर्वाचित कार्यसमितिले दावी गर्दा गर्दै, निर्वाचन कमिटीले जस्टिफाई गर्दा गर्दै, परिणाम आईसकेको निर्वाचनको छानविन गर्ने अनुरोध गर्दा गर्दै यस्तै यस्तै कारणले सभा लम्विदा हाम्रो छलफलले ठाउ नपाएको रहेछ । साथै निर्वाचनकै पूर्वसन्ध्यामै देखिएको एक कार्यकाल समस्या जारी गर्दा गर्दै र संस्थाभित्रकै सिण्डिकेटका कारण सभाले स्थानिय कानूनको स्वायत्तता माग्दामाग्दै अन्तिममा सभाको माग अपूर्ण र यसो गर्दागर्दै  समय घर्किएपछी हाम्रो छलफल योजना पनि अपूर्ण भएछ ।

संस्थाका केन्दिय अध्यक्ष घलेको विवेकले समेत अमेरिकाको कानून अनुसार चल्ने हाम्रो स्वायत्त अधिकारलाई उदारता सोच्दैन भने राजनीति गर्नेहरूले संस्थालाई कसरी स्वायत्त छोडिदिन्छन ? संस्थाभित्रको सिण्डिकेट राजनीति त पार्टी राजनीति भन्दा  झन ठुलो देखियो । अव यस्तो राजनीतिक आदेशका अनुयायीहरूले मिडियालाई कसरी बुझ्न सक्छन ?

 हिजै मात्र एकमुखी चुनावी प्रचारमा आफ्नो धनदौलत खर्चेका उमेद्वार र नेताहरूले एक हप्तामा कसरी व्यवसायिक छलफलका लागी तयार हुन्छन् ? व्यवसायिकताको वहसमा त स्थापना कालदेखी अहिलेसम्म तयार हुन सकेको छैन एनआरएनए । नत्र अर्थको बलमा परिचित एनआरएनएले अर्थको हिसावले सवैभन्दा कमजोर मिडियालाई किन आत्मसाथ र सदुपयोग गर्न जान्दैन ।

यसपटकको कार्यक्रम स्थगनले केन्दिय पदाधिकारीहरूको जमघट भएको न्युजर्सी एनआरएनए सभा याद गरायो । मिडियासँग प्रस्तुत हुने सामान्यभन्दा सामान्ने शैली नबुझेका साथीहरूको भीड रहेछ एनआरएनए थलो । ती शैलीहरू लगातार विवाद र समस्यामा लगातार परिरहेका देखिन्छन । मिडियाले सिकाएको र देखाएको बाटो हिड्न नजान्ने उनीहरू कहिलेकॉही मिडीयामै ठोक्किन पुग्छन ।

यी यावत जटिल शैलीबाट एनआरएनएलाई थप व्यवसायिक वनाउन खोज्ने यस पटकको हाम्रो प्रयास पनि असफल रह्यो । एनआरएनए पाठकवृन्द हामीलाई माफ गर्नुहोला । तर भविष्यमा यस्ता बहस र पत्रकारिताका अरू माध्यमबाट एनआरएनएलाई हामी लेख्न र बोल्न छोड्ने छैनौ किनकी यो हाम्रो एनआरएनए हो र राम्रो एनआरएन हाम्रो प्रमुख एजेण्डा हो ।

(आचार्य नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष हुन् ।)

, , , ,