प्रचण्डको खुलासासँगै जन्मेका प्रश्न -प्रदीप ज्ञवाली


माक्र्सवादी साहित्यमा एउटा भनाइ प्रचलित छ– उग्रवामपन्थ अन्ततोगत्वा दक्षिणपन्थमा गएर स्खलित हुन्छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ का पछिल्ला कतिपय भनाइ र गराइले यसलाई पुनर्पुष्टि गरेको आभास हुन्छ ।

केही दिनअगाडि एउटा कार्यकर्ता भेलामा ‘प्रचण्ड’ को खुलासा आयो– कांग्रेससँगको माओवादी सहकार्य एमालेलाई सिध्याउनका लागि हो । यो गठबन्धन त्यतिन्जेल कायम रहन्छ, जतिवेलासम्म एमालेको संगठनलाई ध्वस्त पारिँदैन । राष्ट्रिय राजनीतिलाई नै एक किसिमले तरंगित गरेको यो भनाइको अन्तर्यबारे छलफल चलाउनु वाञ्छनीय हुनेछ ।

त्यसो त यो एकदमै अनपेक्षित या अप्रत्यासित भनाइचाहिँ होइन । नाकाबन्दी, तराई–मधेसको आगो र कांग्रेसले भद्र सहमति तोडेर राष्ट्रिय राजनीतिलाई धु्रवीकरणतिर धकेलिरहेको अत्यन्त प्रतिकूल अवस्थामा मुलुकको नेतृत्व गरिरहेको र जनताको मन जितिरहेको केपी ओली सरकारलाई विस्थापन गर्न प्रचण्डले खेलेको भूमिकाभित्रै यो उद्देश्य अन्तरनिहित थियो । त्यो घटना सरकार परिवर्तन मात्र थिएन, नेपालले लिएको ‘धार परिवर्तन’ थियो । राष्ट्रिय स्वाभिमानका ठाउँमा लम्पसारवाद, सन्तुलित बाह्य सम्बन्धका ठाउँमा दक्षिणायन, बलियो राष्ट्रिय एकता र सामाजिक सद्भावका ठाउँमा जातीय–क्षेत्रीय अतिवादलाई प्रोत्साहन र राज्यका अंगको लोकतान्त्रीकरण तथा सुदृढीकरणका ठाउँमा स्वेच्छाचारी हस्तक्षेप र तिनीहरूलाई निष्प्रभावी बनाउँदै आफ्ना निहित स्वार्थको सेवामा रूपान्तरण यसको सारवस्तु थियो । कांग्रेससँगको गठबन्धन र बाह्य आडभरोसा यसका साधन थिए ।

तैपनि, कतिपयका मनमा भ्रम बाँकी थियो । एमालेले सत्ता हस्तान्तरण गर्न नमानेका कारण उत्पन्न प्रचण्डको आक्रोशका रूपमा पनि कतिले त्यसलाई हेरेका थिए । प्रचण्डको अभिव्यक्तिले धेरैको भ्रम निवारण गरिदिएको छ ।

प्रचण्डले भनेजस्तै माओवादी–कांग्रेस रणनीतिक र दीर्घकालीन गठबन्धनले एमालेलाई सिध्याउँछ कि सिध्याउँदैन, त्यो बेग्लै विषय हो । दुईवटा पार्टीको तालमेलले मात्रै नपुगेर प्रदेश नं. २ मा बनाउन खोजिएको ‘महागठबन्धन’ ले ‘एमालेमुक्त मधेस’ बनाउने कतिपयको सपना पूरा हुन्छ कि हुँदैन, त्यो पनि अलग्गै विषय हो । तर, जब कुनै पार्टी देश बनाउन होइन, जनताको सेवा गर्न पनि होइन, सामाजिक–आर्थिक रूपान्तरण या आफ्नो बलबुतामा शक्ति सुदृढ गर्दै देशको नेतृत्व गर्न त झन् हुँदै होइन, कसैलाई सिध्याउने कुरालाई नै लक्ष्य बनाएर अगाडि बढ्छ भने गम्भीर प्रश्न खडा हुन्छन् ।

जटिल संक्रमण प्रक्रियाबाट गुज्रिरहेको मुलुकका लागि यतिवेला आवश्यक परेको विषय बृहत्तर राष्ट्रिय सहमति नै हो । कम्तीमा पनि संविधान निर्माणमा निर्णायक भूमिका खेल्ने शक्ति एक ठाउँमा उभिने कुरा मुलुकको स्थिरता, स्थायित्व र एउटा राष्ट्रका रूपमा नेपालको अस्तित्व र विकासका लागि आवश्यक विषय हो । तर, लोकतन्त्रमा दुई ठूला पार्टी एकै ठाउँ बस्नु हुँदैन (अर्को भाषामा एमालेलाई जसरी पनि बाहिर राख्नुपर्छ) भन्ने कांग्रेसको कथित सिद्धान्तका कारण आज राष्ट्रिय सहमति असम्भवप्रायः भएको छ । त्यस्तो वेलामा कम्तीमा दलबीच ‘वर्किङ रिलेसन’ र न्यूनतम समझदारी आवश्यक हुन्थ्यो । तर, एमालेलाई ध्वस्त नगरी नछाड्ने माओवादी केन्द्रको यो पछिल्लो कसमले राष्ट्रिय राजनीतिलाई थप धु्रवीकृत र जटिल बनाइदिएको छ ।

पहिलो संविधानसभाताका प्रचण्डको एउटा भनाइ बारम्बार बाहिर आउँथ्यो– एउटा मुलुकका दुईवटा वामपन्थी शक्ति सँगसँगै अस्तित्वमा रहन सक्दैनन् । त्यसैले कि आपसमा मिल्नुपर्छ, अन्यथा एकले अर्कालाई निल्नुपर्छ । एमालेलाई निल्नका लागि पार्टी विभाजनको असफल प्रयाससँगै कतिपय नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराइएको थियो । मनोवैज्ञानिक दबाबका लागि शान्ति प्रक्रियामा आइसकेपछि पनि छवि कार्की, प्रचण्ड थैव, शिव थापालगायतको हत्या भएको थियो ।

तर, एमाले ‘निलिएन ।’ बरु दोस्रो संविधानसभाबाट यो मुलुककै सशक्त शक्तिका रूपमा पुनस्र्थापित भयो र राष्ट्रिय राजनीतिको केन्द्रभागमा स्थापित भयो । अहिले मिल्दा पनि नमिल्ने, निल्न पनि नसक्ने भइसकेपछि ‘प्रचण्डपथ’ को नयाँ संस्करण अगाडि आएको छ– कांग्रेससँग रणनीतिक साझेदारी गर्दै एमालेलाई ध्वस्त पार्ने ।

एउटा मुलुकमा दुईवटा वामपन्थी पार्टी अस्तित्वमा रहन सक्दैनन् भन्ने तर्क भ्रामक र गलत हो । एउटै पुँजीपति वर्गका दुई वा दुईभन्दा बढी राजनीतिक पार्टी अमेरिका, बेलायत, भारत, जापानलगायत मुलुकमा पचासौँ वर्षदेखि अस्तित्वमा छन् । सामान्य देखावटी भिन्नतासहित उनीहरू प्रतिस्पर्धा गर्छन् र जनतालाई अलमल्याउँदै पालैपालो राज्य सञ्चालन गर्छन् । त्यस्तो अवस्थामा, एउटा मुलुकमा एकभन्दा बढी वामपन्थी पार्टी अस्तित्वमा रहन सक्दैनन् भन्नु या त रुसी समाजवादी ढाँचाको एकदलीय सोचको धङधङी हो, या स्वस्थ प्रतिस्पर्धा गर्ने सामथ्र्य र आत्मविश्वासको अभाव हो । कहिले कतिपय रणनीतिक र कार्यनीतिक प्रश्नमा पैदा हुने भिन्नता, कहिले कार्यशैलीमा उत्पन्न हुने पार्थक्य र कहिले प्रकट–अप्रकट रूपमा अभिव्यक्त हुने नेताहरूको ‘इगो’ या व्यवस्थापन समस्या आदि कारणले वामपन्थी आन्दोलनमा विभाजन या भिन्नभिन्न समूहको अस्तित्व देखा पर्न सक्छ । यसलाई निषेध गरेर होइन, लामो वैचारिक–राजनीतिक–शैलीगत अन्तरक्रिया, एक–अर्काको अस्तित्व स्वीकार तथा तात्कालिक प्रश्नमा सहकार्यका माध्यमबाट दूरी साँघुरो पार्ने बाटोबाट समाधान गर्न सकिन्छ । तर प्रचण्डको कि मिल्ने, कि निल्ने, नभए सिध्याउने सोचभित्र डरलाग्दो ध्वंसात्मक प्रवृत्ति अभिव्यक्त भएको छ ।

संसारभर समाजवादी आन्दोलन रक्षात्मक भएको अवस्थामा पनि नेपाल यस्तो मुलुक हो, जहाँ कम्युनिस्ट आन्दोलन सर्वाधिक लोकप्रिय छ र कम्युनिस्ट पार्टी पहिलो शक्तिका रूपमा स्थापित छ । संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालमा देशभक्त, राष्ट्रियताको पहरेदार, अग्रगामी र लोकप्रिय कम्युनिस्ट आन्दोलन कतिपयका आँखामा बिझाउने विषय बनेको छ । त्यसैले उनीहरू यसलाई समाप्त पार्न चाहन्छन् । वामपन्थी आन्दोलनको प्रबल सम्भावना भएको मुलुकमा त्यसलाई सुदृढ गर्ने दिशा अवलम्बन गर्नुको साटो आफूलाई वामपन्थी भन्ने पार्टीका नेताले घोषित रूपमै अर्को वामपन्थी पार्टीलाई समाप्त पार्न दक्षिणपन्थी शक्तिसँग सहकार्य गरेको घोषणा गर्नु र त्यसमा गौरवबोध गर्नु विडम्बना हो ।

जहाँसम्म एमालेको प्रश्न छ, यस्तो मोर्चाबन्दी या घेराउले उसलाई तात्विक फरक पार्दैन । जुन पार्टीले शान्तिपूर्ण बाटो र वार्ताको माध्यमबाट हिंसात्मक द्वन्द्वको समाधान गर्ने विकल्पको पैरवी गर्दागर्दै पनि सयौँ कार्यकर्ताको हत्या भोगेर आयो, जसका धेरै कार्यकर्ताको पिठ्युँमा कथित भाटे कारबाहीका नीलडाम मेटिएका छैनन् र जसले ढुंगा, माटो र पात पतिङ्गरसमेत माओवादी हुने जस्तो उन्मादबीच पनि आफ्नो अस्तित्वलाई कायम राख्दै अग्रगति हासिल गर्‍यो, ऊ यस्तो योजनाबाट सन्त्रस्त हुँदैन ।

विष्णु रिजालले यश चोपडाले निर्माण गरेको फिल्म ‘दिवार’ को एउटा संवादलाई आफ्नो फेसबुक वालमा उद्धृत गरेका छन् । अकुत पैसा आर्जन गरिसकेपछि दाइसँग भाइले दम्भसाथ सोध्छ– आज मसँग पैसा छ, बङ्गला छ, गाडी छ, नोकरचाकर छन्, ब्यांक ब्यालेन्स छ । भन त, तिमीसँग के छ ? दाइले बिस्तारै भन्छ– मसँग मेरी आमा छिन् ।

हो, गलत उद्देश्यसाथ निर्माण भएको र हुँदै गरेको गठबन्धनसँग लड्न एमालेसँग पनि न्यायप्रेमी जनता छन् । जसले स्थानीय तह निर्वाचनमा सत्ता संरक्षित अनियमितता, राज्यशक्तिको व्यापक दुरुपयोग र सत्ताधारी पार्टीले प्रतिपक्षविरुद्ध गरेको मोर्चाबन्दीबीच पनि एमालेलाई पहिलो शक्ति बनाए ।

चिन्ता यत्ति हो– आज त माओवादीको उपयोगिता मूल्य छ, कांग्रेसलगायत शक्तिलाई एमालेलाई निसाना बनाउन बन्दुक राख्ने एउटा काँध चाहिएको छ । त्यो काँध रहुन्जेल माओवादीको हाइहाइ हुन्छ त्यस वृत्तमा । तर, जुन दिन त्यो उपयोगिता मूल्य सिद्धिन्छ, त्यो काँधको पनि अर्थ हराएर जान्छ ।

के एमालेलाई सिध्याउने एकसूत्रीय अभियानमा लागेका प्रचण्डलाई ती दिनबारे सोच्ने फुर्सद होला ?
(ज्ञवाली एमाले सचिव हुन्)
 नयाँ पत्रिका दैनिकबाट 

, , , ,