न्यूयोर्कमा 'कमलेको बिहे' भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न


सेप्टेम्बर १९, न्यूयोर्क

प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र 'कमलेको बिहे'ले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो ।

प्रर्दशन पुर्व चलचित्रका निर्देशक प्रसन्न पौंडेलले चलचित्रको निमार्ण र प्राविधिकहरुको बारेमा चर्चा गरे । चलचित्र यसअघि पौडेलले “स्वर” “मेरो बेष्ट फ्रेण्ड” जस्ता चलचित्रहरुको निर्देशन गरिसकेकाछन् । सो अवसरमा निर्देशक प्रशन्न पौडेलको पनि उपस्थित थिए ।

यसैगरी कार्यक्रममा चलचित्रका प्रमुख कलाकार इशान ढकालले चलचित्रमा आफ्नो भूमिका र छायांकनको समयमा आफूले भोगेको अनुभवहरु सुनाए । बिगत लामो समयदेखि न्यूयोर्कमै बस्दै आएका ढकालले यस चलचित्रसँगै अमेरिकामै निमार्ण र छायाँकन भएको चलचित्र “अमेरिकन बाबु मेड ईन नेपाल” दर्जनौं म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकाछन् । अमेरिकाको प्रतिष्ठित बित्तिय कम्पनी (जेपी मोर्गेन) मा कार्यरत ढकालको अभिनयलाई न्यूयोर्कबासी दर्शकले रुचाए ।

प्रमुख कलाकार इशान ढकालले भने, "न्यूयोर्कमा यति धेरै नेपाली दर्शकले नेपाली चलचित्र हेरेको यो पहिलो पटक होला । दर्शकहरुले हाँसो रोक्न नसकेको देख्दा चलचित्र राम्रो बनेको महशुश भएको छ ।"

चलचित्र प्रदर्शन पुर्व नै चलचित्रमा समाबेस 'टाकान टुकुन...' बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । झंकार डान्स सेन्टरको सौजन्यमा प्रस्तुत उक्त नृत्यलाई सेन्टरका संचालक धरमबिर लामाले कोरियोग्राफी गरेका थिए ।

चलचित्र कमलेको बिहेमा इशान ढकालसँगै अनुप विक्रम शाही, सन्ध्या केसी, बिनोद न्योपाने, दीपक पहारी, रेशु तामाङ लगायतको मुख्य भूमिका रहेकोछ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा र संवाद रहेकोछ भने चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् । दीपक मान सिंहको कोरियोग्राफी, सम्राट सापकोटाको द्धन्द्ध रहेको चलचित्रलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका हुन् ।

चलचित्रमा राजन राज शिवाकोटीको संगीत रहेकोछ भने चलचित्रमा समाबेस “टाकन टुकुन...” बोलको गीत सामाजिक सञ्जालहरुमा लोकप्रिय भईसकेको छ ।

यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।





, , , ,