बारम्बार माओवादीलाई भोट हाल्न परे काँग्रेसमा बस्नुको औचित्य छैनः साँसद घिमिरे (भिडियो अन्तरवार्तासहित)


सरकारले आउँदो मंसिर महिनामा प्रदेश र संघको निर्वाचन गर्ने तय गरेपछि निर्वाचनको माहोल बढ्न थालेको छ । केहीदिन अघि मात्र नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनबाट चुनाव लड्ने घोषणा गरेसंगै चितवनको राजनीतिक वृतमा फेरी एक पटक तरंग छाएको छ । नेपाली काँग्रेसको समर्थनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादीले कब्जा गरेपछि प्रचण्ड आउने चर्चासंगै पुनःगठबन्धनको संकेत देखिएको छ । यद्यपी नेपाली काँग्रेसले आफ्नो गढ क्षेत्रको रुपमा लिएको साविकको चितवन क्षेत्र नं.४ र संघीय संरचना अनुसारको क्षेत्र नं.३ लाई यसपटक कुनैपनि हालतमा अरुलाई नसुम्पने योजनामा छ । काँग्रेस चितवनका पूर्व सभापति एवंम चितवन क्षेत्र नं.४ का साँसद रामकृष्ण घिमिरे यसपटक संघीय निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । यसै सन्दर्भमा घिमिरेसंग गरेको विशेष कुराकानी प्रस्तुत छ :

 पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

– संविधान निर्माणका लागि म चितवन क्षेत्र नं.४ बाट निर्वाचित भएको हुँ । त्यो कार्यभार मैले पुरा गरे । अहिले प्रदेश र संघको निर्वाचन नजिकै आईसक्यो । केही दिन सँसदमै व्यस्त रहनेछु । केही महत्वपूर्ण कानुनहरु पास गर्नुपर्ने छ । त्यसका लागि म फेरी काठमाडौं फर्कनु पर्नेछ । त्यस अगाडि अहिले आम कार्यकर्ता र साथीभाईहरुसंगको भेटघाटमा व्यस्त छु । प्रदेश र संघको निर्वाचनमा उठ्ने उम्मेद्वारको विषयमा छलफल भईरहेको छ । यीनै कामहरुमा म व्यस्त छु ।

तपाईले क्षेत्र नं.४ बाट निर्वाचित भईसकेपछि के–काम गर्नुभयो ?

–सबैलाई थाहा नै छ, म एक वर्ष पछि उपनिर्वाचन मार्फत विजयी भएको हुँ । अन्य साँसदहरुले अघिल्लो वर्ष नै बजेट खर्च गर्नुभयो, मैले एक वर्षपछि मात्रै खर्च गर्न पाए । यसकारण पनि अरुको तुलनामा स्वभाविक रुपमा मैले कम काम गर्न पाए । तर पनि धेरै कामहरु भएका छन् । मेरो निर्वाचन क्षेत्रमा मूख्यत मैले सडक निर्माणले प्राथमिकता दिए । सडक संजाल बढ्यो भने विकास निर्माण आफै अघि बढ्छ भनेरे नै मैले सडकलाई प्राथमिकता दिए । विशेषगरि मूख्य सडकको रुपमा रहेको चौविसकोठी–रामपुर–चनौली सडक निर्माण भएको छ । विगतमा प्रत्येक वर्षजसो सडक भत्कने सडक यसपटक गुणस्तरीय बनेको छ । अझै चार किलोमिटर सडक निर्माणका लागि बजेट अपुग छ । त्यसका लागि पनि पहल भईरहेको छ । यस्ता अन्य थुप्रै सडक निर्माणका कामहरु धमाधम भईरहेका छन् । धेरै ठाउँमा पक्कि सडक निर्माण भएका छन् र असजिलो बाटोहरु पनि ग्राबेल भएका छन् । त्यस बाहेक पनि स्कूल कलेजहरुलाई पनि बजेट व्यवस्था गरिएको छ ।

साँसदहरुलाई निर्वाचित भएपछि गाउँ नफर्कने गुनासो आउने गरेको छ, तपाईलाई त्यस किसिमको आरोप लागेको छ कि छैन ?

– यो आरोप होइन, नबुझेर भनेका हुन् । साँसदहरु आउँनै पर्छ भन्ने छैन् । घरमै गएर चाकडी गर्नुपर्छ भन्ने छैन्, काम गर्ने हो, जहाँ बसेर पनि गर्न सकिन्छ । हामीलाई कानुन, नीति बनाउन पठाईएको हो । अझ हामी त संविधान नबनाएसम्म आउनै हुदैनथ्यो । यद्यपी म त धेरै पटक आए । जनताको अपेक्षा विकास निर्माण पनि भएकाले त्यसतर्फ विशेष ध्यान दिए ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसंगको गठबन्धनले तपाईको क्षेत्रमा ठूलो क्षति पुग्यो भन्ने सुनिन्छ नी ?

– निश्चित रुपमले क्षति पु¥यायो । अहिलेसम्म हामी कसैसंग एलाईन्स गरेर स्थानीय र केन्द्रीय स्तरमा चुनाव लडेका थिएनौं । यसपटक तालमेल गरेर चुनाव लड्दा पक्कै पनि कठिन महसुस भयो । अझ तालमेल अप्राकृतिक र अस्वभाविक जस्तो भयो । मैले चितवनमा राजनीति गरेको ५० वर्ष भयो । धेरै वर्षदेखि म चितवनको नेतृत्व तहमा छु । म सम्मलाई पनि जानकारी नदिई गठबन्धनको कुरा आयो, त्यो निर्णय भएपछि म एक इमान्दार काँग्रेसको नाताले म त लागे, साथीहरु पनि लाग्नु भयो, कतिले दिल खोल्न सक्नुभयो, कतिपयले खोल्न सक्नुभएन अप्राकृतिक गठबन्धन भएर । त्यसमा पनि निर्वाचन परिणमले देखियो, भरतपुरको वडामा माओवादीको के स्थिति रहेको छ भनेर । त्यो माओवादी केन्द्रसंग गठबन्धन गर्नु भनेको अस्वभाविक हो । तालमेल भएपनि काँग्रेसको मेयर र उपमेयर माओवादीको भए स्वभाविक हुन्थ्यो । काँग्रेसको निश्चित भएको क्षेत्रको मेयर माओवादीलाई दिँदा निश्चित रुपमा कार्यकर्ताहरुलाई पचेन । यस कारण पनि कतिपय वाडहरु विग्रिए ।

स्थानीय तहको तालमेलले अहिले काँग्रेस कार्यकर्ताहरुमा विचलन आएको हो ?

– अप्राकृतिक र अस्वभाविक तालमेल भएकोले कार्यकर्ताहरुमा विचलन आएकै हो । मेयर अर्को पार्टीको बन्यो, कतिपय वार्ड यसैकारणले गुम्यो । त्यसले गर्दा अलिकति असहज भयो । तालमेलको निर्णय गर्दा केन्द्रले विवेक नपु¥याएकै हो । यसबारेमा जिल्लामा छलफल गरेर निर्णय आउनु पर्दथ्यो, त्यो गलत भयो ।

तपाई क्षेत्र नं.४ को साँसद, संघ र प्रदेशको निर्वाचनमा फेरी उठ्ने चर्चा छ नी ?

–म उठ्ने कुरा स्वभाविक हो । मूख्यत यस पटक निर्वाचित गरेको संविधान निर्माणलाई हो । हामीले अत्यन्त राम्रो संविधान बनायौं । अब बाँकी भनेको देशलाई समृद्ध बनाउने, देशमा विकास निर्माणका कार्यलाई तिव्रता दिने हो । विकासको काम गर्ने मलाई चाहना छ । मेरो चाहना भएकै कारण पार्टीले टिकट दिन्छ ।

तपाईकै क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि चुनाव लड्ने चर्चा छ, स्थानीय निर्वाचनको जस्तै गठबन्धनको हल्ला छ, फेरी काँग्रेसले हसियाँ हथौडामै भोट हाल्ने त होइन् ?

–त्यो बिल्कुलै गलत हो । बारम्बार त्यति कमजोर र अविवेकपूर्ण निर्णय पार्टीले गर्छ भन्ने मलाई लाग्दैन् । बारम्बार हसियाँ हथौडामा काँग्रेस कार्यकर्ताहरुले भोट हाल्नुपर्ने हो भने काँग्रेसमा बस्नुको औचित्य के रहन्छ ? एक पटक भयो राम्रो नराम्रो जेसुकै निर्णय भयो, नेता कार्यकर्ता लागेर विजयी गराई दिए । विजयी गराउन म पनि लागे । पार्टीले निर्णय गरेपछि मैले कुनै संकोच नमानी आफ्नो दायित्व निभाए । कुरा के भने अब पनि गठबन्धन सम्भव छैन् । अरु जिल्ला, क्षेत्रमा होला, चितवनमा सम्भव छैन् । चितवनको २ र ३ नम्बर क्षेत्र कुनै पनि हालतमा माओवादीलाई दिन तयार छैनौं ।

पार्टी केन्द्रीय समितिले नै गठबन्धनको निर्णय गरे के गर्नुहुन्छ ?

–पार्टी केन्द्रीय समितिले चितवनमा गठबन्धन गर्ने निर्णय कुनै पनि हालतमा गर्दैन् । केही त यसअगाडि नै पार्टीले मूल्य चुकाई सकेको छ । एकै चोटी निर्णय गरेर आउन सम्भव छैन् । केन्द्रले निर्णय गर्ने ठाउँमा हाम्रो पनि केही हैसियत छ । गठबन्धनको सम्भव छैन् ।

काँग्रेसले प्रत्येक निर्वाचन छोड्ने र माओवादी केन्द्रले कब्जा जमाउने रणनीति बन्दै छ भनिन्छ नी ?

–त्यति साह्रो कमजोर काँग्रेसका नेताहरुलाई नसोच्दा हुन्छ । उनीहरुको चाहना त होला तर अब अहिले सम्भव छैन्, तपाई विश्वस्त हुनुहोस् काँग्रेसको समर्थनमा प्रचण्ड चुनाव लड्न आउनुहुन्न ।

भनेपछि तपाई प्रचण्डसंग लड्न तयार हो ?

–त्यसैका लागि त म उत्साहित छु । एउटा पार्टीको केन्द्रीय अध्यक्षसंग चुनाव लड्न पाउनु मेरो लागि खुशीको कुरा हो । उहाँले चितवनबाट चुनाव लड्न नपाउने भन्ने कुरा भएन् । चितवनमै हुर्के, बढेको मान्छेले यहाँबाट चुनाव लड्ने चाहना राख्नु स्वभाविक हो । प्रचण्ड जी यहीबाट चुनाव लड्न सक्नुहुन्छ तर काँग्रेसले सहयोग गर्नुपर्छ भन्ने जरुरी छैन् ।
 साभार: नारायणी अनलाईन 
भिडियो हेर्न क्लिक गर्नुहोस

बारम्बार माओवादीलाई भोट हाल्न परे काँग्रेसमा बस्नुको औचित्य छैनः साँसद घिमिरे (भिडियो सहित)

, , , ,