एनआरएनए सम्मेलन : भवन भट्टलाई धक्का,


काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले उम्मेदवारी घोषणा गर्ने भएपछि भवन भट्टलाई ठूलो धक्का लाग्ने भएको छ । वर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङले उम्मेदवारी घोषणा गर्ने भएपछि अर्का अध्यक्षका उम्मेदवार भट्टलाई ठूलो धक्का लाग्ने भएको हो ।


भट्टले एक महिना अघि नै उम्मेदवारी घोषणा गरेर प्रचार अभियान आक्रमक बनाउनुभएको थियो । तर शेष घलेको समूहबाट अहिलेसम्म उम्मेदवारी घोषणा नभएपछि जीत सुनिश्चित भएको भन्दै भट्ट समूह निकै खुसी भइरहेका बेला गुरुङको उम्मेदवारीले झड्का लाग्ने भएको हो । भट्टलाई वर्तमान उपाध्यक्ष कुमार पन्त समूहको साथ पाएपछि बलियो अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरिदै आइएको थियो ।


स्रोतका अनुसार होटल अन्नपुर्णसहित अन्य होटलमा विभिन्न देशका प्रतिनिधीहरुसँग घले समूहले छलफल गरेको थियो । भेटघाटको क्रममा अधिकाशंले जमुना गुरुङलाई अध्यक्षमा उम्मेदवारी घोषणा गर्न दबाब दिएपछि रातारात घले पत्नी गुरुङ यस्तो निर्णयमा पुग्नु भएको हो ।

जमुनाको उम्मेदवारी घोषणासँगै आन्तरिक हिसावबाट टिम मिलाउने गृहकार्य गरिने निकट स्रोतले जानकारी दिएको छ । सम्मेलनमा अध्यक्षको लागि वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले यसअघि नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार आठ सय प्रतिनिधि सहभागि हुँदैछन् । नयाँ नेतृत्ब चयन गर्नेछ । सम्मेलनले २०१७ /२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

स्रोत: जनता टाइम्स

,