छोरा तँ काँतर होस् ! - भुवन राई

एक महिनाको छुट्टी सकाएर कर्मथलो अमेरिका फर्कने हतारोमा एयरपोर्ट पुगे। साथमा दाजु र फुपुकी छोरी बहिनी मलाई छोड्न आउनु भएको थियो। दाजु निन्याउरो हुनुहुन्थ्यो भने बहिनी रोईरहेकी थिई। दाजुले,’कान्छा बेलामा खाएस्, स्वास्थ्यको ख्याल गरेस्, यताको चिन्ता नलिनु’ भनेर सम्झाई रहनु भएको थियो। बहिनी भने मैले दिएको हजारको नोट हातमा पोक्याएर सुक्क सुक्क गर्दै थिई। एयरपोर्ट अगाडी सुटकेस तान्दै थिए। दाजुले अर्को सुटकेस र ह्याण्ड क्यारी सम्हाल्नु हुदै थियो। त्यतिकैमा एकजना करिब पचास कटेका पुरूषले मेरो पाखुरीमा समाते। 
‘बाबु अमेरिका जाने होईन?’ सोझै प्रश्न तेर्स्याए। हेर्दा दुब्लो, लुगाहरू नमिलेको र आँखा भासिएको अनि रातो थियो।

‘हो, तँपाई को? मलाई कसरी चिन्नुभयो?’ अचम्म मानेर सोधे।

‘बाबुको हातमा अमेरिकन पासपोर्ट छ, त्यसैले।’ दुखीत देखीने मुहारले मुस्काउन खोजे।

‘तँपाई पनि जाने हो?’ सुटकेस सिधा बनाउदै सोधे। 

‘होईन मेरो छोरोलाई चिट्ठी पठाउनु छ।’ खल्ती तिर हात हाल्दै बोले।

‘कस्तो चिट्ठी? अनि मैले कसरी दिने? कुन शहरमा बस्छ?’ अलमल्ल परेर सोधे।

‘अहिले ओहायोको स्टेट हस्पिटलमा लास बनेर बसेको छ। फोन गरौ भने बोल्न सक्दैन। त्यसैले चिट्ठी लेखेको छु।’ उदेकको कुरा बोले।

‘लास्? अनि लासले कसरी पढ्छ त?’ म झण्डै चिच्याए।

दाजुले मलाई तानेर फोटो खिच्न थाल्नुभयो। जन्मभूमी छाड्दै गर्दाको न्यास्रोपन ति बा को कुराले हरायो। मेरो लाईन् अघी बढ्न थाल्यो। ति बा फेरी पच्छ्याउदै आएर पट्याएको कागज मेरो हातमा हाली दिए। 

‘राम्ररी जानु बाबु, मेरो छोरालाई भन्दिनु, यताको चिन्ता नलिनु भनेर।’ बरर आँखाबाट आँशु खसाए। सोचे छोराको यादमा तड्पिएका रहेछन्। 

चेक ईन हुदै बोर्डिगं पास लिएर प्लेनमा पुगे, ति बा को झल्को आयो। अघी ति बा ले दिएको कागज खोजे पासपोर्टमा च्यापेको रहेछु। कागज निकालेर खल्तीमा राखे अनि पासपोर्ट ब्यागमा हाले।

प्लेनले उचाई लिईसकेको थियो। घर परिवार र आफन्तलाई मिस गर्न थाली सकेको थिए। फोन निकालेर फोटो हेरे। दाजु र मेरो फोटो रहेछ, नियालेर हेरे। मेरो दाजुमा म एक परिपक्व पिता पाउछु। उहाको मुहार हेरेर नै म आशिषित हुन्छु। सानै छँदा देखी दश दुःख गरेर हरेक जिम्मेवारी पुरा गर्नुभएको छ मेरो दाजुले। आफ्नो भविष्यलाई नै तिलाञ्जली गर्नुभएको छ मेरो खातिर। म नेपाल आउनुको कारण पनि उहाँ नै हो। उहाँको साथमा एक महिना बिताउन पाउदा पनि निकै खुशी लाग्छ मलाई।

पिता भन्दा फेरी ति बा को झल्को आयो। उनले भनेको कुराहरू सम्झिए। खल्तीबाट अघी ति बा ले दिएको कागज निकाले। चिट्ठी भन्थे तर बिना खाम नै थियो। दुई पाना भिजेर सुकेको जस्तो तर अक्षरहरू प्रष्ट थिए। खोलेर पढ्न थाले।

‘स्वर्गिय शहरमा स्वर्गवासी प्यारो छोरो,

शुभ आशिर्वाद छ!

खै कहाँ बाट सुरू गरू आजको यो पत्रमा। तँलाई पहिलो पल्ट पत्र लेख्दै छु र यो नै अन्तिम पनि हो यो कुराले मन कुडिएको छ मेरो। 

 बाईस् बर्ष अघी तँलाई तेरी आमाले मेरो हातमा थमाएकी थिईन्, लिनुस् हजुरको सपना भनेर। मैले  मेरो सपना सँगै भविष्यको सोचमा रञ्जित हुदै तेरो निधारमा चुमेको थिए। म बाहिर सपनाको पर्खाईमा लट्टिईरहँदा तेरी आमा भित्र पिडाले छट्पटाई रहेकी थिईन्, मलाई उनको पिडाको वास्ता भन्दा बढी तेरो आगमनको व्यग्रता थियो सायद त्यसैको पाप होला आज म तेरी आमाको पिडामा रून शिवाय केही गर्न सकिरहेको छैन। 

खै तेरो लालन पालनमा के गल्ती गर्यौ जसले आज हामीलाई यो नियती थोपर्यो। समय र भाग्यलाई म दोष दिने पक्षमा छैन। या त मेरो कोखको दोष हो या त तेरो कमजोर आत्मवलको। मैले तँलाई कठोर बन्न सिकाउन पर्ने थियो त्यो गरिन, जहिले पनि मेरो बाबु सानै छ भनेर साधारण जिम्मेवारी पनि नदिई हुर्काउनु गल्ती भयो। यदी तँलाई मैले जिवन के हो र संघर्ष के हो भनेर असली मानेमा भोगाएको भए सायद यो दिन आउने थिएन होला। 

तैले भनेको थिईस्, वुवा म डाक्टर बन्छु भनेर। त्यो बेला लागेको थियो मेरो छोरो अव परिपक्व बनेको छ भनेर। कोसिस पनि गरिस् तर के गर्नु नाम निस्किएन र लाखौ खर्चेर तँलाई पढाउने हैसियत पनि थिएन, त्यो मेरो कमजोरी हो। यो देशमा केही हुन्न वुवा म अमेरिका पढ्न जान्छु भन्दा मेरो मन कुडिएको थियो। मुटुको टुक्रो छोडेर जाने भयो भन्ने पिरमा तेरी आमाले रोएर रात फर्लंगै कटाएकी थिई। होला त्यहाँ पुगेर तैले संघर्ष गर्नु पर्यो, दुःख भोग्नु पर्यो तर एक पटक वुवा म सक्दिन फर्कन्छु मात्रै भनेको भए के जान्थ्यो? छाती खोलेर बोलाउथे तँलाई। 

जिवनको अर्को पर्याय भनेको नै संघर्ष हो, दुःख हो। त्यो तैले बुझिनस्, धान्न सकिनस्, सक्थिस् होला यदी तैले म र तेरी आमाले गरेको दुःख बुझेको भए। सक्थिस् होला यदी मैले तेरो लागी न्यूरोडमा लुगा किनेर आफ्ना लागी फुटपाथमा दुईसयको जुत्ता किनेको कारण बुझेको भए, सक्थिस् होला दशैमा पोहोर सालकै पोलिस्टरको सारी र खुईलिएको चुरा लगाएर तेरी आमा माईत किन गई भन्ने बुझेको भए। बिडम्बना तैले बुझेनछस्। 


जिवनमा तँलाई कहिल्यै पनि यो गर त्यो गर भनेर अह्राएको याद छैन मलाई, जहिले आफ्नै ईच्छ्यामा चल्न दियौ, सायद त्यसैले होला आज यत्रो ठूलो निर्णय कसैलाई नसोधी लिईस्। के गुनासो थियो तेरो जिवनमा? म सँग दुखी थिईस् भने तेरी आमा थिईन्, आमा सँग दुखी थिईस् भने सिगो भविष्य थियो, भविष्य सँग दुखी थिईस् भने हामी थियौ जसले तेरो हरेक दुःखलाई आफ्नो ठान्थ्यौ। कसैको बारेमा नसोची अचानक आफूलाई सिध्याउने तँ यो अर्थमा स्वार्थी होस्। तेरो मृत्युको खबरले अर्ध चेत तेरी आमालाई मैले के भनेर बउराउने होला अव भन् त बाबु! मेरो छोरो फर्काईदेऊ भन्छे, तँ कहाँ पुगिस् पुगिस् कसरी फर्काईदिने होला? मिल्छ भने आईदे न बाबु फर्केर, बरू हाम्रो जान्-अनजान गल्तीहरूमा म हात जोडेर माफी माग्छु। सबै दुःख, संघर्ष नै तेरा लागी गरेका थियौ, तँ नै रहेनस्, हामी त रित्तै भयौ हेर त!  

बिचरी तेरी आमा, बाबु आउछ र मेरो तिलहरी उकासी दिन्छ, घडेरी उकासी दिन्छ, घर उकासी दिन्छ भन्थी। हिजो सारा सम्पत्ती धितो राखेर हिडेको तैले आज त हाम्रो प्राण पनि बन्धकमा हालिस् बाबु।

सोच त बाबु तैले जसरी सबैले संघर्ष को साटो मृत्यु रोजे भोली कसको चाही सपना पुरा होला र? को चाही सफल होला र जिवनमा?

मासु पाकेको हरेक दिन तेरा लेगी कचौरामा छुट्याउथिन्। सुत्नु अघी हरेक रात तेरो फोटोलाई मुसारेर आँशु खसाल्थिन्। गाउमा कसैको छोरो बिदेशबाट आएको देखे, मेरो बाबु पनि आउछ उनिहरूको भन्दा डबल एटैची ल्याउछ भन्दै दंग पर्थिन्। खै अव तँ त आफै बाकसमा बन्द भएर आउने भईस्, कस्तो बज्रपात हो यो बाबु? किन यस्तो गरिस् तैले? तँलाई के कुरामा गुनासो थियो हामी सँग र यत्रो ठूलो सजाय दिईस्?

हेर बाबु, पिड त छँदै छ तर आज मेरो शिर झुकेको छ, अनि त्यसको कारण तँ होस्। जिवनभरमा कहिल्यै तँलाई दोष नदिएको मलाई आज तँलाई दोष दिन मन भएको छ। फलानाको छोरो अमेरिकामा दुःख गर्न नसकेर आत्महत्या गरेछ भनेर लेखिने छ यो गाउको पानी पधेरो अनि चौतारारूमा, अनि म र तेरी आमाले देख्नु सुन्नु पर्नेछ त्यो कहानी। 

भुवन राई 
बरू छोरा तँ भन्दा त खाँडीको गर्मीमा रगत जाम भएर मरेर बाकसमा फर्किने श्रमिकको धेरै ओझ् र मान छ होला, कमसेकम उनिहरू संघर्षबाट त भागेनन्। प्राण दिए त केवल दुःखको मैदानमा, आफू र आफ्नाका भविष्य वनाउने सपनामा। तैले जसरी हार खाएर आत्मा समर्पण त गरेनन्।

तँलाई सपनाको शहर पठाउन बन्धक तेरी आमाको तिलहरी फेरी मैले उकास्नु पर्ने भएको छ। बर्षौ लगाएर ठड्याएको कुटी फेरी ऋणमुक्त पार्नु छ। यो सबै त म फर्काउला तर तँलाई फर्काएर तेरी आमाको मुहारमा खुशी ल्याउने कसरी भेऊ पाउन सकिरहेको छैन मैले। साठी लाग्न लागेका मेरा पाखुरीहरू फेरी पनि घोटिन पर्नेछ, आखिर बाँच्नु त छदै छ, तेरी आमालाई बचाउनु छ। म त हार खाने छैन छोरा, तैले हार मानिस्, आफुलाई सक्काईस्, दुःख देखी भाग्ने तँ काँतर होस् छोरा! 

जहाँ छस्, राम्रो सँग बसेस्! 

तेरो बुबा।’

पढेर सक्कियो, मुटु भारी भएर आयो। ति बा र आमाको पिडा बेदना आफ्नै जस्तो महसुस भयो। आफू सन्तान भएर कहाँ कहाँ के के गलत गरेछु भनेर केलाउन मन भयो। उठेर रेष्टरूम गए। ऐनामा हेरे र प्रण गरे, ‘म त्यो काँतर छोरा बन्ने छैन!’

साभार: जोकतन्र नेपाल 

, ,