एन आर एन काठमाडौं सम्मेलन र सम्भावना


चाहलपहल, रमाईलो भेटघाट, चिनजानी, बधाई साटासाट यही हुँदै थियो हायातमा l एक हुल जिन्दाबाद भन्दै थिए, अर्को गुट तैँले, तिमीहरूले अन्तर्घात गर्यौ भनेर कुर्लँदै थिए l बिधाता र बिधिको उपज फाटेका तन, उद्रिएको मन र उजाडिएेको जीवन लिएको हाम्रो मातृभूमिमा हामी कोही चिटिक्क परेको सुटमा, दौरा-सुरुवालमा सजिएका थियौँ l हामी मध्ये कोही त जन्मभूमिकोको जीवनको नियतिलाई नियतबस उपहास गर्दै फाटेका जीन्स, टालेका प्यान्ट, टासेका अन्टसन्ट चित्र विचित्रमा थियौँ l हामी बसेको
हायातबाट केही हातपर पशुपतिनाथनिर माग्ने खटौरो समेत नभएकाहरूलाई टार्न्सफर्मिङ् एन आर एन को झोला देखाउँदै र हल्लाउँदै तिनिहरूको लागि हैन हाम्रै लागि वरदान माग्दै थियौँ l अनि बौद्ध पुगेर वातानुकुलित हायातमा हामी Vision २०२०, नेपालमा महिलाको लागि, युवाहरूको लागि र बुढापाका र निर्धाहरूको लागि मटन र चिकन, भेज र ननभेजमा र स्वीट डेजर्टमा स्वीट कुरा गर्दै थियौँ l
सपनाको देशबाट बिपना बाँड्न आएका हामी त्यो खाल्टाखुल्टीले, त्यो धूलो र धुवाँले, हर्न निशेधितमा स्थानको चर्को हर्नले पक्कै बिउँझाएको हुनुपर्छ l धेरै कुरा के गर्ने, निर्वाचन र परिणामको भोलिपल्ट म बिहानै हायातमा पुगेँ, गरिवी, महिला र युवा सम्बन्धी अनि नेपालमा लगानी सम्बन्धमा पररास्ट्रले राखेको अन्तर्क्रियामा भाग लिन l ढोकानिरै म टक्क अडिएं l कस्तो संयोग, छलफलको भित्रको बिषय बाहिरै दृष्‍यमा देखेँ l तीनजना भाल्टाङभुल्टुङ लिएर एकजोडी सहयोग माग्दै थिए l भात हैन भविश्यको लागि हात जोड्दै रहेछन् l गुल्मी कुनै गाऊँका जनक कुँवर र उनका परिवार रहेछन् l चम्ल्याहा जन्मेका रहेछन्, एकजना बाँचेनछ l बिपन्न परिवारमा भगवानको लीला वा बरदान, आफैँ जिउंन धौधौ पर्ने तीनजना एन्जल, बाऊ आमाको लागि ढुङ्गे पहाड बन्न पुगेछ l म आफैँ जम्ल्याहा जन्मेको आमाको आर्तनाद, बाऊको ब्यथा र परिवारको पीडा मैले सुनेको छु, सम्झेको छु र अनुभूति गरेको छु l यसले सहयोग गर्यौ, त्यहाँबाट, यहाँबाट सहयोग पायौँ भन्दै थिए l तीनतीनजना एकै पटक जन्मेकाले स्वास्थ्यमा सधैं सचेत हुनु पर्ने भएकोले त्यसका लागि ग्रीन सिटी अस्पतालका प्रमुख लोक बहादुर टन्डनजीले निशुल्क सेवा दिनु भएको रहेछ l अहिले तिनिहरूको पढाईको चिन्ता रहेछ, पछिको लागि l हामीले लाप्राक र काठमाडौंमा भवन बनायौं र हाम्रो नेता पनि भवन नै l खादा र लवेदामा, अवीर र अत्तरमा ती गरीवको आवाज कसैले सुनेनौं l बच्चाहरूको निशुल्क अद्द्ययन खोज्नेहरूको त्यो परिवारको सामु म हयातको निशुल्क भोजन गर्नेको शरमले शीर झुक्यो l मेरो खल्तिमा नेरू एकहजार थियो, पछि पढाईलाई नभएर पटुकी बाँधेको पेटलाई l हयातको हातको भात पनि खुवाई दिएँ l एन आर एन अमेरिकाका प्रमुख, मेरा सभापति डाक्टर केशब पौडेललाई सासै नफेरी सबै बेलिबिस्तार लगाएँ, उहाँले पढाईको लागि पछि केही गर्ने वचन दिनु भयो l
मेलम्चीको पानी अाउला र ढुङ्गे धाराको पानी टालोले छानेर पानी पिउन नपरोस् भनेर दिनरात देवता र सत्तालाई पुकार्ने मेरी आमाको अगाडि म एन आर एने बोतलको पानीले.... तिर्सना मेटाई रहेको थिएँ l यो तीतो सत्य कथामा हामी नेपालीको सम्पूर्ण भोगाई र भावना झुल्किन्छ भवनजी l मातृभूमिको मर्म, देशको दु:खको दर्पन यही हो भवनजी l नेपालको कारुणिक कथा यही हो केशबजी, हामी सबै बिदेशिएकाहरूको व्यथा यही हो बद्रीजी l
एक हप्ता पछि म अमेरिका फर्किँदै छु, मेरो कर्मभूमि l पुगेपछि मेरो छोरो प्रमिसको पहिलो प्रश्न "पापा झापामा बिरामी अन्तरे हजुरआमालाई निको पार्ने प्रमिस गर्नु भो ?" हुनेछ l मेरी श्रीमती प्रमिला नर्सिङ होममा नर्स छिन्, उनको दोश्रो सवाल हुनेछ, बृद्ध, अशक्त र अपाङ्ग आफन्तहरूको लागि के दिएर, के गरेर र के योजना बनाएर आउनु भो ?" मलाई एन आर एन अमेरिकामा जिताउने वा नजिताउने सबै सदस्य र शुभेच्छुकहरूको तेश्रो "हामी प्रवासीहरूको हित, हक र कर्तव्यको के खाका कोरेर आउनु भो ?" यी र यस्तै प्रश्नहरूको अनुत्तरित आवाज लिएर म अमेरिका जाँदैछु l मलाई लाग्छ, अधिकांश हामी प्रतिनिधिहरूले मन र मस्तिश्कमा यस्तै चिन्ता, चासो, गुनासो लिएर आ-आफ्नो कर्मभूमि फर्किँदै छौं l तथापि नयाँ र युवा नेत्रित्व हामीले चुनेका छौं, सबै समेटिएको समिति बनेको छ, निवर्तमानमा बसेका साथीहरूको ताजा अनुभव छ, उपेन्द्र महतो, जीवा लामिछानेजीहरूको मात्र हैन स्वयम् शेश घलेजीको अभिभावकत्वले प्रवासीहरूको भलाई र स्वदेशीहरूको पीडा भोगाईको अन्त्यमा अनुकूल अवस्था सिर्जना हुने सकरात्मक सोच राख्नै पर्छ l
एन आर एन ले आकाशबाट तारा खसाउने, नेपाललाई अमेरिका, अस्ट्रेलिया, जापान र जर्मनी बनाउने कोरा कल्पना र सपना दिनु भन्दा वा भन्नु भन्दा पहिले नेपाल नै बनाऊँ l बेलायती, भारतीय, चाइनिज, सिंगापुरे भन्दा पहिले हामी नेपाली बनौं, भनौँ र चिनौं र चिनाऔं l यद्धपि अझै हामीले आश मारिसकेका छैनौं, सास र साथ रहिन्जेल नेपाल र सम्पूर्ण नेपालीहरूको कल्याणमा लाग्ने छौं l माटो छोडेर जाँदा मुटु लिएरै गएका छौं l नेपाल छोडे पनि नाता तोडेका हैनौं l हामी शासक हैन शासन गर्न आएको र हामी प्रशासक हैनौं, लिन आएका हामी सामाजिक सँस्थामा सीर्फ दिन आएका हौ l देवकोटाले झैँ दिनु पर्छ भन्ने पनि छैन l असाधारण हैन साधारण काम गरौ, सामान्यको लागि अनि त्यो कर्म सानाले सदा स्मरण गर्न सकून l यही एन आर एन को असल कर्म हो र हामी प्रवासीहरूको पवित्र धर्म पनि ।

,