काखमा बच्चा च्यापेर आठ दिने पद यात्रामा


राजन उपाध्याय
कार्तीक ७, दुलेगौडा । हल्याण्डकी जेनीन आइतवार दङ्ग परिन । आठ दिने ट्रेकिङको क्रममा उनको काखमा २३ महिनाको छोरा थियो । साथमा हल्याण्डकै साथी फेन्की पनि । शुक्लागण्डकी–३ स्थित वनकेवाँ पुग्दा स्थानीयहरुले भव्य स्वागत गरे । बाजागाजा सहित अबिर, माला र फूलले स्वागत गर्दा उनीहरु खुसीले गदगद भए । पदयात्रामा क्रममा थुप्रै ठाउँमा पुगेपनि यसरी उनीहरुलाई स्वागत गरिएको पहिलो पटक भएको जेनीनले सुनाईन । उनले भनिन, नेपालको प्रकृति नियाल्न आएकी थिए, जीवनमै पहिलो पटक न्यानो आतित्थ्यता पाएँ, यो कहिलै विर्सने छैन । उनले नेपालीहरुले दिएको माया र स्वागतको सन्देश लिएर स्वदेश जाने उल्लेख गरिन ।

उनीहरु मिलेनियम ट्रेक खण्डमा केहि दिन यात्रा गर्ने छन् । मिलेनियम ट्रेक गाछेपानीबाट शुरु भई स्याङजाको माझकोट मनकामना सम्म पुगेर टुङिगन्छ । तर उनीहरुले शुक्लागण्डकीको मिलडाँडाबाट शुरु गरि बेलचौतारामा आएर सक्नेछन् । तनहुँको प्यूरीदोभान, स्याङजाको कोल्मा, चिसापानी, राङरुङ्ग हुदै बेलचौतारा फर्कने पथ प्रदशक श्रेष्ठले जानकारी दिए ।
स्वागत कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ३ का अध्यक्ष रामकुमार श्रेष्ठले वनकेवाँलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउन आफू लागिपरेको उल्लेख गरे । तर यसका लागि सबैको सहयोग आवश्यक पर्ने उनको भनाई थियो । उनले अगाडी भने, ‘हामीले त तपाईहरुले गरेको अभियानलाई साथ दिने मात्र हो, गर्ने स्थानीयहरुले नै हो, तसर्थ तपाईहरु यस्ता कार्यक्रममा अझ अग्रसर हुनुहोस । ’

वडा नं. ३ ले तीनखोले मन्दिर, रामकुवाँ, स्थानथोक दगाम र भुजीकोट पदमार्गको विकासको लागि प्रवद्धनात्मक कार्यक्रम गरिरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सो पद मार्गको स्तरन्नोतीको लागि आगामी वर्षबाट बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।
समाजसेवी कमल थापाले प्राकृतिक दृष्टिले यस क्षेत्र प्रचुर रहेको बताए । विदेशी पर्यटक काठमाडौंको स्वतः टुर्स एण्ड ट्राभल्सको माध्यमबाट आइपुगेका हुन् ।