नयाँ शक्ति सकिएकै हो ?- केशव दाहाल


फागुन ०७० को अन्तिम साता बाबुराम भट्टराईको ‘नयाँ शक्तिको खाँचो’ शीर्षक लेख नेपाल साप्ताहिकमा प्रकाशित भयो । एमाओवादीभित्रै बसेर भट्टराईले त्यो लेखमार्फत नयाँ शक्तिको बहसलाई सार्वजनिक गरिदिएका थिए । लेख निकै चर्चित पनि भयो । उनको आशय थियो– युग फेरियो, अब राजनीति फेर्नुपर्छ ।

त्यसपछिका दुई वर्ष उनले एमाओवादीभित्रै बसेर नयाँ शक्तिको बहस गरे । मान्छेहरू उनको कथन र व्यवहारमा तालमेल खोजिरहेका थिए । धेरैको आशंका थियो कि नयाँ शक्ति गोर्खाली बाहुनको भनाइ मात्र हो । सारमा उनी प्रचण्डसँगै विलय हुनेछन् । केही विश्लेषकहरू ठान्थे कि भट्टराई आफ्नो अध्यक्षतामा एमाओवादीलाई नै विकल्प बनाउने अभियानमा छन् । तर, त्यो सजिलो थिएन । त्यहाँभित्रको महत्त्वाकांक्षा, गुट र आन्तरिक शक्ति सन्तुलन उनको पक्षमा थिएन । प्रचण्डसँगको किचेनका हकदारहरू कसैगरी आफ्नो पार्टी सत्तामा घुनपुत्लो लागेको देख्न चाहँदैनथे ।

अन्तत: ०७२ असोजमा भट्टराईको बाटो मोडियो । उनले एमाओवादी परित्याग गरे । व्यवस्थापिका–संसद् छाडे र वैकल्पिक पार्टी निर्माणको अक्करमा पाइला राखे । लामो समयदेखि हिँडेको बाटो, सहयात्री र संगतलाई छोड्नु सजिलो थिएन । अझ ‘जनयुद्ध’को जटिल, भावुक र रक्तरंजित क्षणमा सँगै हिँडेका कमरेडहरूबाट अलग हुनु कठिन काम थियो । त्यही कठिन निर्णय गरेर भट्टराईले नेपाली राजनीतिमा ‘पागल’ प्रयत्न सुरु गरे । उनी नयाँ संगत, नयाँ शब्द र नयाँ संकथनमा लागे । माघ ०७२ मा ३६ सदस्यीय नयाँ शक्तिको पहिलो केन्द्रीय परिषद् सार्वजनिक भयो । २० जेठ ०७३ मा दशरथ रंगशलाबाट नयाँ शक्ति पार्टीको भव्य घोषणा गरियो ।

आशा र निराशाका डेढ वर्ष
नेपाली राजनीतिमा भट्टराईलाई निकै जटिल पात्र मानिन्छ । जटिल यसकारण कि उनी उल्टो हिँड्ने सामथ्र्य राख्छन् । त्यसो त मान्छेहरू उनलाई आशा र आशंकाको नजर पनि लगाउँछन् । यसर्थ नै वैकल्पिक राजनीतिको बहसमा भट्टराई निकै ठूलो आशा र आशंकाको घेराउमा परे । प्रश्नहरू स्वाभाविक थिए । आफ्नो छँदाखाँदाको पार्टी, पद र शक्ति सम्बन्धलाई त्यागेर उनले के गर्न खोजेका हुन् ? के उनको बुद्धि बिग्रिएकै हो ? कतै उनी पागल त भएनन् ? केहीले भट्टराईको कदमलाई भारतसँग जोडेर पनि अर्थ लगाए । कतिले अनुमान गरे– जीवनको ६० वर्ष पार गरिसकेको, एक बौद्धिक र चलायमान नेता पक्कै त्यति अबुझ नहोला । अलग धारबाट पार्टी बनाउनु निकै ठूलो हठ थियो । भट्टराई त्यो हठबाट विचलित भएनन्, नयाँ शक्तिको अभियान सुरु गर्न तयार भए । त्यो आशाको क्षण थियो ।

नयाँ शक्तिको छोटो जीवनमा अनेकौँ उतार–चढाव देखा परे । पार्टीका नेताहरूका लागि बितेका १८ महिना सम्भवत: सबैभन्दा धेरै आशा र निराशाका महिनाहरू थिए । संयोजक भट्टराई त्यो आशा र निराशाको साक्षी मात्र थिएनन्, उनी त्यसबाट सबैभन्दा धेरै प्रभावित पनि थिए । एक लाख सदस्यहरूको सामूहिक शपथ ग्रहण र उत्साहपूर्ण पार्टी घोषणा, देशव्यापी संगठन सञ्जाल, राजनीतिक प्रस्तावमा नयाँपन, समावेशी सम्मिश्रण, नयाँ संकल्प, अन्तर्राष्ट्रिय रूपमा वैकल्पिक राजनीतिको प्रभावकारी बहस, यस्ता विषय थिए, जसले स्वभावत: नयाँ शक्तिका अभियन्ताहरूलाई आनन्द दिन्थ्यो ।

तर, पार्टीमा विभिन्न पृष्ठभूमिबाट आउनेहरूलाई भट्टराईले एउटै बनाउन सकेनन् । त्यसैले पार्टीमा माओवादी ‘ह्याङओभर’ जब्बर भयो । आफ्नो ‘क्यारियर’प्रतिको लालसा तीव्र देखियो । परम्परागत ज्ञानलाई पटक्कै ‘डि–लर्न’ गर्न नचाहनेहरू देखापरे । सुशासन र सदाचारको व्यावहारिक प्रयोगमा जटिलता आयो । पार्टीको छवि वैकल्पिक बन्न सकेन । पार्टी छोड्नेहरूले पटक–पटक संगठनलाई ‘हलाल’ गरे । चुनाव चिह्नको सकस आयो । निर्वाचनमा भनेजस्तो परिणाम आएन । आर्थिक संकट तीव्र बन्यो । सायद यी विषयहरू पार्टी जीवनलाई निराश बनाउन काफी थिए ।

यद्यपि, आशा र निराशाको चाकाचुलीमा आशा प्रखर थिए । तिनै आशाको जगमा हरेक दिन केही नयाँ गर्ने प्रयत्नमा नयाँ शक्तिले १८ महिना बितायो । तर, सोचेजस्तो भएन र अन्तत: असोज ०७४ मा नयाँ मोड आयो । नयाँ शक्तिसहित एमाले र माओवादी केन्द्र मिलेर आगामी निर्वाचनमा तालमेल गर्दै नयाँ पार्टी निर्माणको प्रक्रिया प्रारम्भ गर्ने घोषणा भयो ।

नयाँको खोजी

प्रश्न स्वाभाविक हुन्छ कि नयाँ शक्तिमा नयाँ के थियो ? नयाँको दार्शनिक आधारबारे नयाँ शक्तिले भन्यो– निरपेक्ष नयाँ केही हँुदैन । निश्चय नै आजको नयाँ भनेको पछिल्ला प्रक्रियाबाट उत्पादित हुने सापेक्षित नयाँ मात्र हो । आजका नयाँसँग हिजोको सम्बन्ध छ । भोलिका नयाँहरू आजसँग जोडिन्छन् । ज्ञान, दर्शन र विचारमा पनि यही कुरा लागू हुन्छ । प्राचीन युनानी दार्शनिकहरूले जुन ज्ञानको चर्चा गरे, त्यसपछिका विद्वान्हरूले यसैमाथि योगदान गर्दै लगे । कार्ल माक्र्स स्वयंले रचना गरेको द्वन्द्ववाद पनि जर्मन शास्त्रीय दर्शनसँग जोडिन्छ । समाज विकास पनि यस्तै हुन्छ ।

सामन्तवादको जगमा पँुजीवाद बन्यो । पुँजीवादको जगमा समाजवाद बन्छ । मान्छेहरू पनि आज जो छौँ, कोही पनि अलग्गै नयाँ होइनौँ । पछिल्लासँग सम्पूर्ण सम्बन्ध टुटेको नयाँ मान्छे ‘ फिक्सन’मा मात्र हुन्छ । नयाँ कुनै जादुमय नयाँ हुँदैन । बरू, यो विगतका अनुभवहरूले सुसज्जित तर विगतभन्दा उत्कृष्ट हुने चाहना हो । यसैका आधारमा नयाँ शक्तिले केही वैचारिक, राजनीतिक तथा संगठनिक प्रस्तावहरू गरेको थियो ।

नयाँ शक्तिका १८ महिना केही रोचक प्रयोगमा बिते । पार्टीले एक लाख संस्थापक सदस्य बनाउने अभियान चलायो । पार्टी घोषणाका लागि संस्थापक सदस्यहरूलाई काठमाडौँ बोलाइयो । २ ९ जेठ ०७३ मा सामूहिक शपथ लिँदै रंगशालाबाट पार्टी घोषणा गरियो । घोषणासभामा शुभकामना दिँदै एमाले अध्यक्ष केपी ओलीले ‘नयाँ शक्तिले एमालेबाहेकका अरू पार्टीलाई उछिन्ने’ बताएका थिए । ओलीले यसो भनिरहँदा नयाँ शक्तिका अभियन्ताहरूमा हेर्नलायक उत्साह थियो । सभामा देश/विदेशका पाहुनाहरूबीच संयोजक भट्टराईले ‘नयाँ युगको मुख्य कार्यभार उत्पादन वृद्धि, राष्ट्रिय पँुजीवादको विकास र समुन्नत समाजवाद निर्माण हो, पुराना विचार, नेतृत्व र संरचनाहरूले नयाँ कार्यभार पूरा गर्दैनन्, त्यसैले नयाँ शक्ति आवश्यक रहेको’ भाषण गरे ।

नयाँ शक्तिले केही ऐतिहासिक प्रश्नहरू उठायो । हाम्रो राजनीतिको मुख्य कार्यभार के हो ? कसरी जनताका सपनाको सम्बोधन गर्न सकिन्छ ? कस्तो पार्टी बनाउने ? विकास, समृद्धि र समाजवादको कार्यक्रम कस्तो हुन्छ ? के कम्युनिस्ट र कांग्रेसभन्दा अलग र उन्नत राजनीति सम्भव छैन ? यी प्रश्नहरूमा नयाँ शक्तिले वैचारिक हस्तक्षेपको प्रयत्न गरेकै हो । उसले समावेशीकरण, राष्ट्रिय एकता र देशभक्तिसहित ‘५ स’को राजनीतिक कार्यदिशा बनायो । चौथो पुस्ताको समाजवाद स्थापना गर्ने लक्ष्य सार्वजनिक गर्‍यो । नेपाली राजनीतिको अलमलिएको बहसलाई विकास र समृद्धितर्फ सोझ्याउन नयाँ शक्तिको भूमिका उल्लेख्य रह्यो ।

निश्चय नै नेपालजस्तो कम्युनिस्ट ब्रान्ड प्रभावशाली भएको मुलुकमा माक्र्सवादी साम्यवादमाथि प्रश्न उठाउनु सजिलो थिएन । न त आफूलाई सबैभन्दा पुरानो लोकतन्त्रवादी ठान्ने कांग्रेसहरूको लोकतन्त्रमाथि औँलो उठाउनु सरल थियो । तर, नयाँ शक्तिले पुराना विचार पद्धतिहरूमाथि ठूलो आवाजले प्रश्न गर्‍यो । उसले अबको युगमा सर्वहारा अधिनायकत्व स्थापित गर्न सम्भव नरहेको भनिदियो । अनि, भोट हाल्ने सधैँ हार्नुपर्ने र भोट पाउनेले सधँै जित्ने लोकतन्त्रमाथि नयाँ शक्तिको प्रश्न पनि निकै शक्तिशाली थियो ।

राजनीतिको वक्ररेखा

तर, भनेजस्तो भएन । पार्टी निर्माणको बाटो सरल रेखाबाट अगाडि बढेन । यो निकै अप्ठ्यारो र बाँगो रेखाबाट गुज्रियो । पछिल्लो समय नयाँ शक्तिभित्र निकै ठूलो आत्मचिन्तन चल्यो । प्रश्नहरू थिए– पार्टी निर्माणले भनेजस्तो आकार लिन किन सकेन ? कमजोरीहरू कहाँ भए ? के नेपालमा वैकल्पिक राजनीतिलाई स्वीकार गर्ने सामाजिक चेतना विकास भएको छैन ? पार्टीभित्र केही नेताहरू निष्ठाको राजनीतिलाई अविचलित अगाडि बढाउने संकल्पमा थिए । केही नेताहरूको विचार थियो, पार्टी जीवनमा तत्काल आशाको सञ्चार गरौँ । निष्ठा र आशाको संयोजन गर्ने नयाँ शक्तिको योजना थियो । यसका लागि पार्टीले चुनावी गठबन्धन गर्ने निर्णय गर्‍यो ।

चुनावी गठबन्धन गर्दा स्वभावत: संघीय समाजवादी फोरम, एमाले, माओवादी, विवेकशील साझा पार्टीसँग सहकार्य गर्नुपर्छ भन्ने मूल धारणा थियो । त्यसैका आधारमा विभिन्न पक्षहरूसँग अनेकौँ संवाद भए । यी संवादहरू कुनै अल्छीलाग्दा थिए, कुनै झर्कोलाग्दा र कुनैचाहिँ गतिशील । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको संवाद यति तीव्र र परिणाममुखी (?) बन्यो कि नयाँ शक्ति वाम गठबन्धनमा सामेल भयो । यो केही रोचक र केही आशंकापूर्ण निर्णय थियो ।

गठबन्धनको तेस्रो दिन पार्टी मुख्यालयमा उपलब्ध केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक भयो । बैठकमा संयोजक भट्टराईले गठबन्धनको उपादेयता र मार्गचित्रबारे प्रस्ट्याए । उक्त बैठकमा बोल्ने केही नेताले आँशु झार्दै ‘नयाँ शक्तिको भविष्य के हुन्छ, वैकल्पिक राजनीतिको बाटो कता पुग्यो’ भनेर पनि सोधे । यद्यपि, निष्कर्ष निकालियो–गठबन्धन आवश्यक थियो, छ ।

मुलुक तीव्र ध्रुवीकरणतर्फ गइरहँदा किनारमा उभिएर तमासा मात्र हेर्नु राजनीति होइन । यो ध्रुवीकरणका केही सकारात्मक पक्ष छन् । जस्तो : राजनीतिक स्थायित्वका लागि यो आवश्यक छ । यो विकास र समृद्धिको पहिलो पाइला हो । भविष्यमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखतर्फ जान यसले सहयोग गर्न सक्छ । यसर्थ, वाम लोकतान्त्रिक ध्रुवीकरणमा नयाँ शक्तिको सहभागिता प्राकृतिक छ । तर, यहीँनेर केही आशंकाहरू उठे । जस्तो : के पार्टीहरू बलिया हुँदैमा लोकतन्त्र बलियो हुन्छ ? कतै हाम्रो लोकतन्त्र पार्टीतन्त्रमा रूपान्तरण त हँुदैन ? के गठबन्धनका नेताहरू चुनावपछि पनि इमानदार रहलान् ? गठबन्धन चुनाव जित्ने मात्रै दाउपेच त होइन ? यो गठबन्धनले नेपालको सीमान्त समूहलाई कसरी बलियो बनाउँछ ?

गठबन्धनपछि नयाँ शक्तिभित्र गम्भीर विमर्श सुरु भएको छ कि अब के हुन्छ ? कतै यो घटना नयाँ शक्ति र वैकल्पिक राजनीतिको अवसान त होइन ! नयाँ शक्तिका अभियन्ताहरूको अपेक्षा छ कि एमाले, माओवादी र नयाँ शक्ति विघटन गरेर बन्ने नयाँ पार्टी वैकल्पिक हुनेछ । त्यो समाजवादी पार्टी हुनेछ । नयाँ पार्टीमा प्रत्यक्ष लोकतन्त्रको प्रयोग हुनुपर्छ । अबको आवश्यकता नदीजस्तै चलायमान पार्टी हो । वैकल्पिक राजनीतिको खेल मैदान फेरिएला तर लक्ष्य फेरिएको छैन । यद्यपि, प्रस्ट देखिन्छ– नयाँ शक्तिका कार्यकर्ताहरू द्विविधा र संकल्पका बीचमा छन् । यस्तो बेला फेरि दुई वर्षअगाडिकै प्रश्न दोरोरिन्छ कि स्वयं भट्टराई के गर्लान् ? उनलाई यो बहसबाट भाग्ने कुनै छुट छैन । अन्यथा इतिहासले पात्रहरू फरक गर्ला तर गति रोकिँदैन ।

प्रकाशित: आश्विन ३१, २०७४
साभार : नेपाल साप्ताहिक

, , ,