‘कोहलपुर एक्सप्रेस’ हुइँकाउँदै केकी


कहिले हरन, कहिले ब्रेक

कहिले स्लो कहिले रेस,
चल्दैछ चल्दैछ कोहलपुर एक्सप्रेस !!
नायिका केकी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरबाट हालै व्यक्त गरेका यी शब्दबाट उनको कार्य व्यस्ततालाई पुष्टी गर्दछ । विगत ११ दिनदेखि उनी ‘कोहलपुर एक्सप्रेस’ गुडाउन व्यस्त छिन् । सामाजिक कथा वस्तुमा आधारित नेपाली चलचित्र कोहलपुर एक्सप्रेसको छायांकन टोलीसँगै आएकी केकीले अचेल दोहोरो भूमिका निभाएकी छन् । उनी निमात्री एवम् नायिकाको रुपमा भुमिकामा छिन् ।
चलचित्र छायांकनको कामले आफू अति नै व्यस्त रहनु परेको कुरा उनले सुनाइन् । चलचित्रमा केकीसँगै ऋचा शर्मा र प्रियंका कार्की पनि मुख्य भूमिकामा छन् । केकी सुरुदेखि नै अभियनमा संलग्न छिन् । ऋचा केहीदिन अघि आफ्नो भुमिकामा अभिनय गरेर राजधानी फर्किसकेकी छन् । उनी पुनः अभियन गर्न आउनेछिन् ।
केकीका लागि बाँकेको परिवेश नयाँ भने होइन । यसअघि चलचित्र ‘राज्जारानी’ को अभिनय गर्ने क्रममा करिव ४० दिनको समय नेपालगन्जमा बिताएकी थिइन् । त्यतिबेला फागुन महिनाको अन्त्यतिर उनको सुटिङ चलेको थियो । त्यसकारण उनलाई मौसमले पनि साथ दियो । संयोग नै भन्नुपर्छ, उनलाई यसपटक पनि मौसमले साथ दिएको छ । ‘मैले राज्जारानीको सुटिङ गर्दाखेरी नेपालगन्जको मौसम न गर्मी, न जाडो खालको थियो, अहिले पनि मौसम उस्तै खालको छ,’ उनले भनिन् । मुलुकै सबैभन्दा गर्मी हुने ठाउँका रुपमा परिचित बाँकेमा कोहलपुर एक्सप्रेस हाँक्दा रमाइलो अनुभूति भइरहेको केकी बताउँछिन् ।उनी भन्छिन्,‘पहिला म कलाकारको रुपमा मात्रै प्रस्तुत हुन्थेँ, अहिले सुटिङको सम्पूर्ण व्यवस्थापकीय कुरा हेर्नुपर्दा जिम्मेवारी धेरै बढेको महसुस भएको छ ।’ केकीसहितको टोली चलचित्र छायांकनका लागि अझै १० दिन बाँकेमा रहनेछ । छायांकनका क्रममा बाँकेका दर्शकले देखाएको उत्सुकता र मायाप्रति आफु कृतज्ञ रहेको केकीले बताइन् । चलचित्र कोहलपुर एक्सप्रेस घोषणा गरेको छोटो समयमै केकी छायांकनका लागी बाँके आएकी थिईन् ।
‘कोहलपुर एक्सप्रेस’ को बागेश्वरी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको थियो । विशाल भण्डारीको निर्देशन तथा कथा लेखन रहेको चलचित्रमा विनोद न्यौपानेले नायकको भूमिका निभाएका छन् । अर्जुन तिवारीको छायांकन रहने उक्त चलचित्रमा कलाकार बुद्धि तामाङ, रविन्द्र झाँ, सुजन कार्की लगायतको पनि अभिनय छ । चलचित्रमा केकी सहित भद्रबहादुर शाही, देबीलाल न्यौपाने(पण्डित) र शिवप्रसाद चौलागाईको लगानी रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र निर्देशक भण्डारीले कथाले कोहलपुर र नेपालगन्जको दृश्य मागेकाले छायांकन गरिएको बताएका छन् । जुनकिरी आट्र्सको ब्यानरमा लोकेश बज्राचार्यको सम्पादन तथा गम्भिर विष्टको नृत्य निर्देशन छ । नागरिक पश्चिमेलीबाट


,