प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । यो समाचारको आधिकारिक पुष्टि भने भएको छैन ।

गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।

चुनावी कार्यक्रमका लागी पुर्वको झापा पुगेका पुष्पकमल दाहाल हेलीकप्टरबाट काठमाडौं आईपुग्दै छन् । उनी आएको केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए ।

चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।

अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्‍याएका दाहाललाई डाक्टरले  बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए ।

२०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् ।

नर्भिक अस्पताल बाहिर अहिले माओवादी केन्द्रका शुभचिन्तक तथा बिभिन्न राजनीतिक व्यक्तित्व, संचारकर्मी र अन्य सर्वसाधरणको समेत भिड लागेको छ।

बाहिर धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ ।

, , ,