कांग्रेस आमसभाका ‘सेलिब्रेटी’ वक्ता, चौधरीले बढाउलान् भोट ?



काठमाडौं ८ मंसिर

 नुवाकोटको देवीघाटमा मंसिर ७ गते बिहीवार आयोजित कांग्रेसको चुनावी सभामा आकर्षक थिए, उद्यमी विनोद चौधरी । कांग्रेसका युवा नेता गगन थापासंगै कांग्रेस उम्मेदवार अर्जुन नंसिह केसीको चुनाव प्रचार गर्न नुवाकोट गएका चौधरीसँग ‘सेल्फी’ खिच्न युवाहरुको घुइचो लाग्यो ।

प्रख्यात नायक÷कलाकार जस्तै चौधरीलाई युवाहरुले सेल्फी खिच्न घेरे । कार्यक्रममा कलाकारको उपस्थिती रहेपनि युवाको ध्यान चौधरीले नै आकर्षण गरे । नेताका सनातनी भाषणलाई माथ गर्ने भाषण चौधरीले गरे ।

सभामा संक्षिप्त भाषण गरेर चौधरी अर्को सभाका लागि हिडिहाले । भाषणका क्रममा चौधरीले आशन्न निर्वाचनमा नेपाली कांग्रेसले चुनाव जितेमा पाँच बर्षमा नेपालको आर्थिक बृद्धि चीनको सरह हुने दावी गरे ।

चुनावी सभाहरुमा गएर चौधरीले आशन्न निर्वाचनमा पनि कांग्रेस बहुमतसहित पहिलो पार्टी हुने दावी गरिरहेका छन् । यसबीचमा चौधरीले नवरपरासी, गोरखा, ओखलढुङगा, सोलुखुम्बु लगायतका जिल्लाका चुनावी सभालाई सम्वोध गरिसकेका छन् ।

नेकपा एमाले र माओवादीबीचको वामपन्थी गठबन्धनपछि झस्किएको कांग्रेसका लागि विनोद चौधरी ‘सञ्जिवनी बुटी’ बनेका छन् । ‘विनोद चौधरीलाई सभामा ल्याएर बोल्न लगायँदा युवाहरुको विश्वास जित्न सकिन्छ भनेर बालाइएको हो’ कांग्रेसका एक जिल्ला नेताले लोकान्तरसँग भने ।

कांग्रेसका शीर्ष नेताहरु आफ्नो चुनावी क्षेत्रमा सीमित रहेको समयमा चौधरीलाई देशका विभिन्न भागमा आयोजित सभाहरुमा भाषण गर्न भ्याइ नभ्याइ छ । प्राय कांग्रेस महामन्त्री डा शशांक कोइरालासंग हेलिकप्टरमा हिड्ने चौधरी सभाहरुमा पुग्छन् र छोटो मन्तव्य सकेर हिडिहाल्छन् ।

मंसिर २ गते गोरखाको पालुङटारमा गएर चौधरीले नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईलाई भोट मागे । उनले त्यहाँ आर्थिक समृद्धिको कुरा गरे । सभाको अन्त्यमा बोलेका डा बाबुराम भट्टराइले चौधरीको नाम लिएर पालुङटारमा उद्योग, कल कार्खाना खोल्न सकिने कुरा गरे ।

नेपाली कांग्रेसले समानुपातिक तर्फ मधेसीको सूचीमा एक नम्बरमा राखेर सांसद बनाउने आश्वासन दिएको छ । पहिलो संविधानसभा चुनावमा नेकपा एमालेबाट सांसद बनेका चौधरी प्रदेश र प्रतिनिधि सभा चुनावको पूर्वसन्ध्यामा कांग्रेस प्रवेश गरेका थिए ।

विश्वका धनाड्यको सूचीमा नेपालबाट परेका अर्बपति चौधरी व्यापारलाई साथमा लिएर राजनीतिमा होमिने संकेत गरेका छन् । नाफाको केही हिस्सा सामाजिक कार्यमा खर्चदै आएको बताउने चौधरी पूर्णकालिन रुपमा राजनीतिमा लाग्ने सोचका साथ कांग्रेस प्रवेश गरेको उनका निकटस्थहरु बताउछन् ।

‘नेपाली कांग्रेस हरेक युवाको अनुहारमा विनोद चौधरी देख्छ । यहाँ बनेका बाटो र पुल नुवाकोटका जनतालाई काठमाडौं बसाइ सर्न सुलभ होस भनेर बनाइएको होइन, हरेक व्यक्तिलाई विनोद चौधरी जस्तै सफल उद्यमी बनाउनको लागि हो’ कांग्रेस नेता थापाले बिहीवारको सभामा भने ।

लामो समय सत्तामा रहँदा समेत देशको आर्थिक समृद्धि र विकासका लागि केही काम नगरेको भन्ने वामपन्थी गठबन्धनको आरोप चिर्न कांग्रेसले प्रतिष्ठित व्यबसायी चौधरीलाई अगाडी सारेको छ । चौधरीलाई साथमा लिदा देशभरका उद्योगी व्यासायीलाई कांग्रेसप्रति आकर्षित गर्न सकिने कांग्रेस नेताहरु बताउँछन् ।
लोकान्तर 

, , ,