रवीन्द्र मिश्रलाई ओलीको व्यङ्ग्य : रेडियोमा समाचार पढे जस्तो हैन राजनीति


१२ मंसिर २०७४


काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रलाई एमाले अध्यक्ष केपी ओलीले रेडियोमा समाचार पढे जस्तो राजनीति नहुने भन्दै व्यङ्ग्य गरेका छन्।

क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार बिजुली मन्त्रीका भाइ भनेर चुनाव प्रचारका क्रममा चिनाइएका अनिल शर्मालाई भोट माग्दै उनले भने, ‘समाचार त लेखेको हुन्छ, खरर पढ्ने हो। राजनीतिमा त नदेखेका कुरा लेख्नुपर्छ, नदेखेका कुरा देख्नुपर्छ, नगरेका काम गर्नुपर्छ। अगाडिका कुरा देख्नुपर्छ।'

उनले सीधै रवीन्द्र मिश्रको नाम भने लिएनन्। 'केही भाइबहिनीहरु फेरि अहिले यसो आएका छन्', भन्दै व्यङ्ग्यवाण हान्न सुरु गरेका ओलीले मिश्रलाई संकेत गर्दै भने, कोही जागिरै छाडेर आउनुभएको छ। कोही सिक्दै हुनुहुन्छ। राम्रो। उहाँहरुले सिकेकोमा मलाई धेरै केही भन्नु छैन। तर सिक्नु र खेल्नु बेग्लै कुरा हो।'

उनले अहिले मेस्सीले गोल गर्ने बेला भएकोले म पनि गोल हानिहाल्छु भनेर सिक्ने खेलाडीले काम नचल्ने बताए।

 शर्मालाई कलिलो उम्मेदवार भनी गरिएका व्यङ्ग्यको जवाफमा ओलीले भने, ‘छिप्पिएको म छु, विकासको जिम्मा म लिन्छु।' शर्माले सक्छन् भनेर नै यो क्षेत्र एमालेले माओवादीलाई छाडेको जिकिर पनि उनले गरे।

यही क्षेत्रमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पनि युएनमा जाँदा नाकाबन्दी नभएको भनेर भनेको भन्दै ओलीले आलोचना गरे।

छोटो समयमा पार्टी एकीकरण सम्भव नभएकोले अहिले वाम गठबन्धन गरी  चुनावमा गएको र चुनावपछि पार्टी एकीकरण गर्ने उनले बताए।

, ,