मेरो हत्याको षड्यन्त्र भयो : कांग्रेस नेता महत



 १ मंसिर २०७४


काठमाडौं :  नेपाली कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले आफ्नो हत्याको नियोजित षड्यन्त्रका साथ आक्रमण भएको बताएका छन्। शुक्रबार बिहान उनी चढेको गाडी लक्षित गरी नुवाकोटको ककनीमा बम विष्फोट भएको थियो।

महत चढेको गाडी केही मिटर अघि बढेपछि भएको विष्फोटमा चुनाव प्रचारका लागि साथमै रहको अर्को गाडी परेको थियो। विष्फोटबाट तीन जना कांग्रेस कार्यकर्ता गम्भिर घाइते भएका छन्।

‘मेरो हत्याकै षड्यन्त्र अनुसार आक्रमण गरिएको छ, पहिलोपोस्टसँगको कुराकानीमा उनले भने,‘अन्यथा सिधै गाडी लक्षित गरी विष्फोट गराइने थिएन।’ आफ्नो बढ्दो जनसमर्थनबाट तिल्मिलाएका विरोधीहरुले आक्रमण गरेको हुन सक्ने उनले बताए।

‘हामीले यस पटक पनि जितेनौँ भने पहिला जस्‍तै हिंसात्मक गतिविधि गर्छौँ भनेर गाउँ गाउँमा धम्याएका रहेछन्, उनले भने,‘त्यतिले पनि मेरो समर्थनमा जनलहर कम नभएपछि मलाई लक्षित गरि विभिन्न गतिविधि भइरहेका छन्।’

आक्रमण कसले गरेको हो भन्ने बारे प्रहरी अनुसन्धानबाट छिट्टै सत्य तथ्य बाहिर आउनेमा आफू आशावादी रहेको महतले बताए। २०५१ सालयता निरन्तर नुवाकोटबाट चुनाव जित्दै आएका कांग्रेस नेता महत यसपाली जिल्लाको क्षेत्र नम्बर एकबाट उम्मेद्वार बनेका छन्।

,